युगसम्बाद साप्ताहिक

चेक गणतन्त्रका लागि लगानीको ढोका खुल्यो
Monday, 02.02.2015, 06:25pm (GMT5.5)

काठमाडौं । नेपाल र युरोपेली मुलुक चेक गणतन्त्रबीच लगानी प्रवद्र्धन तथा आर्थिक सहयोग अभिवृद्धि गर्ने सम्बन्धी सम्झौता भएको छ । दुई मुलुकबीच पहिलोपटक भएको उक्त सम्झौता औद्योगिक विकास, लगानी विस्तार र निजी क्षेत्रसँगको साझेदारी एवम् सहयोगमा केन्द्रित छ । पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा बिहिबार आयोजित विशेष समारोहमा चेक गणतन्त्रका उद्योग वाणिज्यमन्त्री यान मलाडेक र अर्थमन्त्री डा रामशरण महतले हस्ताक्षर गर्नुभयो । 

आर्थिक विकाससम्बन्धी सूचना आदानप्रदान, दुवै देशका लगानीकर्ता कम्पनी एवम् औद्योगिक प्रतिष्ठानबीच सहयोग तथा साझेदारी विस्तार, साझा चासोका परियोजना निर्माणमा प्रोत्साहन, दुवै देशका उत्पादन प्रवद्र्धनका लागि व्यापार मेला आयोजना तथा अन्य प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गर्नु सम्झौताको मुख्य उद्देश्य रहेको मन्त्री महतले बताउनुभयो । 

उक्त सम्झौता कार्यान्वयन गर्न सचिवस्तरीय संयुक्त समिति गठन गरिने बताउँदै उहाँले उक्त समितिको सहअध्यक्षता दुवै देशका अर्थसचिवले गर्ने जानकारी पनि दिनुभयो । विविधतायुक्त देश नेपालमा लगानीको पूर्ण प्रतिफल प्राप्त हुने र त्यो सहजरूपमा लगानीकर्ताले फिर्ता लैजाने सरल कानुनी व्यवस्था गरिएको मन्त्री महतले बताउनुभयो । 

चेक गणतन्त्रसँग निर्यात व्यापार बढाउने नेपालको चाहना दोहोर्याउँदै उहाँले नेपालप्रति उक्त मुलुकले देखाएको अभिरुचि एवम् सहयोगी भावनाको सराहना गर्नुभयो । उहाँले भन्नुभयो – अपार सम्भावनायुक्त शान्त मुलुक नेपालमा ढुक्क भएर लगानी गर्नुहोस् । 

सम्झौता पारस्परिक सहयोग अभिवृद्धिको प्रारम्भिक चरण भएको र त्यसले विकास र साझेदारीका धेरै क्षेत्र पहिल्याउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । नेपाल र चेक गणतन्त्रबीच सहयोग अभिवृद्धिको प्रचुर संभावना रहेको बताउँदै मन्त्री महतले द्रुत विकास गरेको उक्त मुलुकलाई नेपालको तुलनात्मक लाभका क्षेत्रमा लागनी गर्न आह्वान गर्नुभयो । साथै, उहाँले नेपालको पर्यटन तथा कृषि क्षेत्र, कृषिजन्य वस्तु तथा खाद्य प्रशोधनका क्षेत्र पनि चेक लगानीका निम्ति आकर्षक छन् भन्नुभयो । 

मन्त्री मलाडेकले विकट स्थानमा पनि विमानस्थल निर्माण, जलविद्युत् गृह निर्माण, सौर्य, वायु कोइलाबाट ऊर्जा उत्पादन, खानेपानी तथा फोहरमैला व्यवस्थापन, खाद्य प्रशोधन, विमान उत्पादन, कृषि उपकरण उत्पादनमा आफ्नो मुलुकको अनुभवी रहेको जानकारी दिँदै ती क्षेत्रमा नेपालसँग मिलेर काम गर्न आफ्नो देश प्रतिबद्ध रहेको बताउनुभयो । 

अर्थमन्त्री महतले मन्त्री मलाडेक नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा बिहिबार नै दिवाभोजको आयोजना पनि गर्नुभएको थियो । बिहिबार नै चेक चेम्बर अफ कमर्सको उच्च प्रतिनिधिमण्डलको स्वागतमा नेपाल चेम्बर अफ कमर्सले गरेको कार्यक्रममा दुबै मुलुकका वाणिज्य मन्त्रीहरूले आर्थिक विकासका लागि दुवै मुलुक सहकार्य गरी अघि बढ्न तयार रहेको बताउनुभयो । 

सो अवसरमा वाणिज्यमन्त्री थापाले दुई देशबीच रहेको व्यापारलाई सन्तुलित बनाउन आवश्यक रहेका बताउनुभयो । त्यसैगरी, चेक वाणिज्यमन्त्री मलाडेकले ऊर्जा एवम् प्रविधिको क्षेत्रमा नेपामा लगानी गर्न चाहेको बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले चेक उद्योगी व्यवसायीसँग सहकार्य गरेर पर्यटन तथा ऊर्जा क्षेत्रमा संयुक्त लगानी बढाउन आफूहरू इच्छुक रहेको बताउनुभयो भने चेक चेम्बर अफ कमर्सका उपाध्यक्ष भोरिभोज मिनरले आफ्नो मुलुक नेपालको उद्योग तथा व्यापार क्षेत्र मिलेर काम तत्पर रहेको बताउनुभयो ।

नेपाल चेम्बरका उपाध्यक्ष लोकमान्य गोल्छा र चेक चेम्बरका उपाध्यक्ष मिनरले व्यापारिक र आर्थिक सूचना आदानप्रदान र सहकार्यबारेको एक सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । 

त्यस्तै नेपालको दुईदिने औपचारिक भ्रमणमा रहनुभएका चेक गणतन्त्रका उद्योग वाणिज्यमन्त्री यान मलाडेकसँग नेपालको आर्थिक विकासका आधारशिला निर्माणमा सघाउन आग्रह गरेको थियो । वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको भेटवार्तामा वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले त्यस्तो आग्रह गर्नुभएको हो । 

नेपाल र चेक गणतन्त्रबीच सहयोग अभिवृद्धिको प्रचुर सम्भावना रहेको बताउँदै मन्त्री थापाले विशेष गरी उक्त मुलुकले प्रविधिको क्षेत्रमा हासिल गरेको अनुभव र सीप नेपाललाई पनि हस्तान्तरण गर्न अनुरोध गर्नुभयो । 

नेपालको आर्थिक विकासको आधार पर्यटन तथा कृषि क्षेत्र भएको उल्लेख गर्दै मन्त्री थापाले नेसनल ट्रेडिङ लिमिटेडको क्षमता अभिवृद्धि, कृषि उपकरण, कृषिजन्य वस्तुको प्रशोधन, खाद्य प्रशोधनको क्षेत्रमा सहयोग गर्न आग्रह गर्नुभयो । 

संयुक्त लगानीका व्यापारिक प्रतिष्ठान स्थापना, प्रविधि अध्ययन प्रतिष्ठान, व्यापार सहजीकरणका साथै दुवै मुलुकबीच विश्व व्यापार सङ्गठनमा सहकार्य हुनुपर्नेमा मन्त्री थापाले जोड दिनुभयो । “संयुक्त राष्ट्रसङ्घ तथा अन्य सङ्घ सङ्गठनहरूसँग हामीबीच सहकार्य हुँदै आएको छ, अब व्यापार विस्तारका क्षेत्रमा पनि मिलेर अघि बढ्नुपर्छ” – मन्त्री थापाले भन्नुभयो । 

मन्त्री मलाडेकले विकट स्थानमा पनि विमानस्थल निर्माण, जलविद्युत् गृह निर्माण, सौर्य, वायु कोइलाबाट ऊर्जा उत्पादन, खानेपानी तथा फोहरमैला व्यवस्थापन, खाद्य प्रशोधन, कृषि उपकरण उत्पादनमा आफ्नो मुलुक क्षमतावान् रहेको जानकारी दिँदै ती क्षेत्रमा नेपालसँग मिलेर काम गर्न प्राग तयार रहेको बताउनुभयो । 

“यो प्रारम्भमात्र हो पारस्परिक लाभका धेरै क्षेत्रमा सहकार्य गर्न सकिन्छ,” निजी क्षेत्रका तीन दर्जनभन्दा बढी उद्यमी–व्यवसायीको नेतृत्व गर्दै राजधानी आइपुग्नुभएका मन्त्री मलाडेकले भन्नुभयो । उहाँले प्राविधिक शिक्षा विकासमा पनि जोड दिनुभयो । साथै मन्त्री मलाडेकले मन्त्री थापालाई चेक गणतन्त्रको भ्रमणका निम्ति आमन्त्रण गर्दै द्विपक्षीय व्यापार विस्तारका विविध विषयमा विस्तृत रूपमा छलफल गर्ने बताउनुभयो ।

भेटवार्तामा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणगोपाल मलेगो, सोही मन्त्रालयको निर्यात प्रवद्र्धन, व्यापार तथा पारवहन महाशाखाका प्रमुख जीवराज कोइराला, नेपालका लागि चेक गणतन्त्रका राजदूत मिलोस्लाव स्तासेक र अवैतनिक वाणिज्यदूत विष्णुकुमार अग्रवाललगायतको सहभागिता थियो । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com