युगसम्बाद साप्ताहिक

बढाउँदैछ नेपाल टेलिकम ग्राहक
Tuesday, 02.10.2015, 02:10pm (GMT5.5)

काठमाडौं । नेपालमा सबभन्दा बढी राजश्व बुझाउने संस्थान नेपाल टेलिकमले पछिल्लो समय आफ्नो सेवा विस्तारसंगै ग्राहकको संख्या पनि बढाउँदै गएको छ । वार्षिक रू २० अर्ब भन्दा बढी राजस्व बुझाउँदै आएको टेलिकमले ग्राहक सङ्ख्या २६ गुणाले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७०÷०७१ मा रु ११ अर्ब ५५ करोड खुद नाफा कमाएको सो संस्थाको आवाज सेवा (टेलिफोन) ७५ वटै जिल्लामा पुगेको छ भने डेटा सेवाअन्तर्गत एडिएसएल, जिपिआरएस, पिडिएसएन (सिडिएमए फोन) देशभर पुगेको छ । 

वि.स २०६१ मा टेलिकम कम्पनीमा परिणत हँुदा चार लाख ग्राहक रहेकामा ११ वर्षको अवधिमा अहिले एक करोड १७ लाख १५ हजार ग्राहक पुगेका छन् । जसमध्ये जिएसएममा ९६ लाख ५७ हजार, सिडिएमएमा १२ लाख ९५ र साधारण टेलिफोन पिएसटिएनमा छ लाख ५९ हजार ग्राहक छन् ।

एक वर्षको अवधिमा ३९ अर्ब ६९ करोड बराबरको कारोबार गरेको टेलिकमले सरकारलाई विभिन्न शीर्षकमा वार्षिक रु २० अर्बभन्दा बढी राजस्व बुझाएको छ । हाल ९५ प्रतिशतभन्दा बढी जनतासंग टेलिफोनको पहुँच पुगेको छ, जसमा टेलिकमले ४५ प्रतिशतभन्दा बढी नेपाली बजारको हिस्सा ओगटेको छ । टेलिकमको बजारमा इन्टरनेट डेटा सेवामा ५८ लाख ३६ भन्दा बढी ग्राहक छ्न, यसमा अधिकांश मोबाइल सेवाका छन् । मोबाइलमा जिपिआरएस र थ्रिजी सेवा छन् ।

टेलिकमका सह–प्रवक्ता डिल्लीराम अधिकारीले टेलिकमले नेपालको इन्टरनेट तथा डेटा सेवाका ग्राहकमध्ये करिब ५५ प्रतिशत टेलिकमको हिस्सा रहेको बताउनुभयो । उहाँका अनुसार मोबाइलको थ्रिजी डेटा सेवा ६८ जिल्लामा पुगेकोे छ । टेलिकमले नेक्सट जेनेरेसन नेटवर्क (एनजिएन) प्रविधिमा आधारित टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका क्रममा रहेको सह–प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

“एनजिएन थप विस्तार गर्ने तयारीमा छाँै, सहरी तथा सहर उन्मुख ग्रामीण क्षेत्र र खास क्षेत्रमा विस्तार गर्ने योजना छ”–उहाँले थप्नुभयो–“वाइम्याक्स नेटवर्क विस्तार आइपी (इन्टरनेट प्रोटोगल) सिडिएमए प्रविधिको नयाँ सेवा पनि विस्तार गर्ने तयारीमा छौँ ।”

टेलिकमले यसै आर्थिक वर्षभित्र आइपी प्रविधिमा आधारित ट्रान्समिसन नेटवर्कको विस्तार एक करोड लाइन क्षमताको जिएसएम मोबाइल आयोजना सम्पन्न गर्ने जनाएको छ । एकीकृत विलिङ प्रणालीको सञ्चालन गरिने, जसमा ग्राहकले एउटै बिलमा सबै सेवाको महसुल तिर्न सक्नेछन् ।

टेलिकमले ग्राहकको गुनासो सुन्नको निम्ति चाँडै ग्राहक सेवा केन्द्रको स्थापना गर्ने, ग्राहकलाई सहज रूपमा सिम तथा रिम उपलब्ध गराउन निजी क्षेत्रमार्फत गत जेठदेखि विक्री वितरण सुरु गरेको छ । 

टेलिकमले आफ्नो सेवाबारे ग्राहकलाई सहजरूपमा जानकारी गराउन नयाँ सेवा ‘मोबाइल एप’ सुरु गरेको जनाएको छ । ग्राहकको गुनासो व्यवस्थापन, महसुलबारे जानकारी गराउनेलगायतका सेवा तथा नयाँ नयाँ अफरबारे सहज रूपमा विस्तृत जानकारी लिन सकिने सह–प्रवक्ता अधिकारीले बताउनुभयो ।

‘नेपाल टेलिकम राष्ट्रको सञ्चार’ भन्ने नाराका साथ संस्थाले आफ्ना सेवा र जनतासम्मको पहँुचलाई तीव्र गतिमा विस्तार गर्दै लगेको छ । टेलिकमले ११ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार विभिन्न सेवामा विशेष छुट दिइने कम्पनीले जनाएको छ । 

दूरसञ्चार कम्पनीका रूपमा वि.स. २०६० माघ २२ मा दूरसञ्चार कम्पनीका रूपमा दर्ता भई २०६१ साल वैशाख १ देखि नेपाल टेलिकमको नाममा व्यावसायिक कार्य सुरु भएको थियो । टेलिकमवाहेक हाल पाँचवटा निजी क्षेत्रका सेवा प्रदायक कम्पनी, एनसेल, युटिएल, सिजी टेल, स्मार्ट टेलिकम र नेपाल सेटलाइट टेलिकम सञ्चालित छन् । 
यसैबीच, टेलिकमले आफ्नो एघाराँै वार्षिकोत्सवका अवसरमा कम्पनीको सेवाको प्रचारप्रसार तथा बजार प्रवद्र्धन गर्ने उद्देश्यले प्रभातफेरीको आयोजना गरेको थियो । कम्पनीका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले टेलिकम ग्राहक सेवामा समर्पित भएकाले सोको अनुभूति हुने गरी सेवा उपलब्ध गर्न हरेक कर्मचारी प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com