| युगसम्बाद साप्ताहिक | ||||
|
कहिले हो ग्यासको अभाव हट्ने ? Tuesday, 02.24.2015, 02:06pm (GMT5.5) काठमाडौं । सरकारको नालायकी कत्तिको छ भन्ने कुरा खाना पकाउने ग्यासको हाहाकारले प्रमाणित गर्छ । आपूर्ति मागभन्दा बढी भएको सरकारले दावी गरिरहे पनि बजारमा ग्यासको अभाय उत्तिकै छ । खाली सिलिण्डरका लाइन कायम छन् । विगत दुई महिनायता देखिएको खाना पकाउने ग्यासको चरम अभाव अझै उत्तिकै हुँदा सर्वसाधारण मर्कामा परेका छन् । फाट्टफुट्ट बजारमा ग्यास पाउने गरे पनि प्रचलित मूल्यभन्दा बढी तिर्नु यतिखेर सर्वसाधारणको बाध्यता बनेको छ । बजारमा ग्यासको चरम अभाव देखिएपछि नेसलन ट्रेडिङ लिमिटेडले दुई दिन आफ्नै कार्यालयबाट सर्वसाधारणलाई ग्यास वितरण गरेको थियो । दिनभर ग्यास लिनका लागि सर्वसाधारण लिमिटेडको परिसरमा लामबद्ध बनेका थिए । सधैँजस्तो अभाव हुन थालेपछि पछिल्लो समयमा नपाउनुभन्दा मूल्य बढी नै तिरेर भए पनि समस्या टार्नु सर्वसाधारणको बाध्यता बनेको छ । धादिङ घर भई काठमाडौँमा फलफूल तथा तरकारीको व्यापार गर्ने नरहरि सुवेदी एक महिनाभन्दा बढी समय कुरेर आफूले ग्यासको जोरजाम गरेको बताउनुहुन्छ । सामान्य व्यवसाय गरी राजधानीमा बस्नेका लागि त ग्यासको अभाव यतिखेर ठूलै समस्याका रूपमा देखिएको छ । मकवानपुरको फाखेल घर भई पढाइका क्रममा कलङ्की बस्दै आएका दिनेश भण्डारीको पनि उस्तै समस्या छ । लगभग डेढ महिनादेखि ग्यास नपाएर भौँतारिनु परेको समस्या सुनाउँदै उहाँले यसबीचमा कहिले साथीभाइ त कहिले आफन्तकहाँ खाना खान जानुपरेको दुःखेसो व्यक्त गर्नुभयो । डेरा खोजी भाडामा बस्ने विद्यार्थीलाई मट्टितेलबाट चल्ने स्टोभ चलाउन अधिकांश घरधनीले नदिने गरेको पाइएको छ । लामो विद्युत् भार कटौतीको समस्याका कारण खाना पकाउने ग्यासको अन्य विकल्प नभएको भण्डारीको भनाइ छ । आफूजस्ता धेरै विद्यार्थी यतिखेर खाना पकाउने ग्यासको अभावले समस्यामा परेको उहाँले बताउनुभयो । बजारमा देखिएको ग्यासको अभावलाई कम गराउन निगम सक्रिय भएको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताउनुभयो । “गत जनवरीअघि लगभग चार महिनासम्म आवश्यकताभन्दा निकै कम ग्यास आएका कारण त्यसको असर हालसम्म कायमै छ ।” उहाँले भन्नुभयो । “विगत वर्षको अनुभवका आधारमा जाडोको समयमा लगभग २३ हजार मेट्रिक टन ग्यास आवश्यक भए पनि चार पाँच महिनाको समयावधिमा १८ हजार मेट्रिक टनभन्दा कम ग्यास आएका कारण समस्या देखिएको हो”, उहाँले भन्नुभयो । गत जनवरीमा २६ हजार मेट्रिक टन ग्यास आएको प्रवक्ता घिमिरेले जानकारी गराउनुभयो । अभावको क्रमलाई अन्त्य गर्न फेब्रुअरीका लागि २९ हजार मेट्रिक टन ग्यास ल्याउन भारतीय आयल निगमसंग प्रस्ताव गरिएको उहाँले बताउनुभयो । हालसम्म १७ हजारभन्दा बढी मेट्रिक टन ग्यास आइसकेको र अरू आउने क्रममा रहेको घिमिरेले बताउनुभयो । कालोबजारी गर्नेलाई कारवाही यसबीचमा पटकपटक आस्वासन दिंदैआएको नेपाल आयल निगमले खाना पकाउने ग्यासमा देखिएको समस्या केही दिनभित्रै समाधान हुने पुनः दावी शुक्रबार व्यवस्थापिका–संसद्को उपभोक्ता हित तथा वाणिज्य समितिअन्तर्गतको उपसमितिमा गरेको छ । समितिको बैठकमा निगमका महाप्रबन्धक डा गोपालबहादुर खड्काले अभावको कारण देखाएर अनावश्यक सञ्चिती गरेका कारण समस्या भएको बताउँदै ग्यासको अभाव भएपनि निगमले समस्या समाधान गर्न नसकिरहेको भन्ने आरोप लागेको सन्दर्भमा केही दिनभित्र पूर्ण समाधान हुने बताउनुभएको हो । खड्काले केही ठूला होटल तथा व्यापारीको मनोमानीका कारण समस्या बढेको भन्दै उहाँले कम पेट्रोलियम पदार्थ उठाउने, तोकिएको कोटा भन्दा कम कारोबार गर्ने र ग्यासको कोटाअनुसारको कारोबार नगर्ने तथा तोकिएको मूल्य भन्दाबढी रकम लिने जोकोहीलाई पनि कारवाही गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले निगमले माग गरे भन्दाबढी कोटा उपलब्ध गराएको भएपनि बजारमा अस्वाभाविक प्रतिस्पर्धा हुँदा समस्या ज्यूँका त्यू रहेको र समस्या समाधानका लागि हरसम्भव उपाय अवलम्बन गरिएको महाप्रबन्धक खड्काको भनाइ छ । बैठकमा सांसदहरूले खाना पकाउने ग्यासको सिलिण्डर सङ्ख्या एकिन नभएको भन्दै निगमको ध्यानाकर्षण गराउनुभएको थियो । ग्यास उद्योगले मनलाग्दी सङ्ख्यामा सिलिण्डरको सङ्ख्या थप गरेको र पछिल्लो समयमा मात्रै चार लाख थान सिलिण्डर थप गरी हाहाकार पारेको भन्दै स्पष्ट जवाफको माग गर्नुभएको थियो । सांसदहरूको ध्यानाकर्षणको जवाफमा निगमका महाप्रबन्धक डा खड्काले बजारमा के कति मात्रामा सिलिण्डर रहेको छ भन्ने बारेमा तथ्यगत लगत सङ्कलनको काम भइरहेको र केही समयभित्रै यर्थाथ सङ्ख्या आउने जानकारी गराउनुभएको थियो । उपसमितिका संयोजक नारायणबहादुर कार्कीले तत्काल अन्तर्राष्ट्रिय बजारमा समायोजन भएको मूल्यअनुसार पेट्रोलियमको मूल्य समायोजन गर्न, ग्यासमा अनुदान दिन निगमलाई निर्देशन दिइएको जानकारी गराउनुभयो । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||