| युगसम्बाद साप्ताहिक | ||||
|
सुर्खेतमा सुनखानी : खोजतलास सुरु Tuesday, 04.07.2015, 01:19pm (GMT5.5) नेपालका नदीहरूमा सुन भेटिने कुरा पहिलेदेखि नै चर्चामा रहेको छ । नदी किनारमा बस्ने कतिपयको जीवन नै नदील्े बगाएर ल्याएको बालुवामा सुन खोज्नु रहेको छ । यस्तोमा मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुका सुर्खेत जिल्लाको बाबियाचौरको जामुमा सुनखानीको सम्भावना देखिएकाले खोजतलास सुरु गरिएको छ । विगतमा राजी समुदायले बालुवा चालेर सुन निकाल्ने गरेको जामुमा अहिले खानी तथा भू–गर्भ विभागले चिनियाँ प्राविधिकसहितको टोलीसहित खोजतलासमा जुटेको हो । सुन खानीको खोजतलासको काम गर्न खानी विभागबाट लाइसेन्स प्राप्त गरेको जलजला जेम्स प्रालिले विगत १५ दिनदेखि खोजतलासको काम सुरु गरेको छ । बाबियाचौर–१ जामुलाई केन्द्र बनाइ प्रालीले १० वर्ग किलोमिटरमा खोजतलास गर्ने भएको हो । भेरी नदी किनारमा सुन खानीको खोजतलास गर्न अहिले स्काभेटर, टिपर र सुन चाल्ने मेसिनसमेत प्रयोग गरिएको छ । बालुवामा छरिएर रहेको सुन छान्नका लागि फाउन्डेसन तयार गर्ने काम भइरहेको प्रालिले जनाएको छ । खोजतलासमा सात जना चिनियाँ प्राविधिक टोलीसमेत संलग्न भएका छन् । जलजला जेम्स प्रालिका संयोजक झकबहादुर मल्लले बाबियाचौरकोे जामुमा बालुवामा पाइने प्लेसर सुन खानीको अनुसन्धान गर्न गत जनवरीमा खानी विभागमा दर्ता भएको बताउनुभयो । उहाँले करिब रु एक करोडको लगानीमा सुनखानीको सम्भावनाको खोजी गर्न सुरु गरेको जनाउनुभयो । उहाँका अनुसार बालुवालाई पानीमा बगाएर सुन चालिने र प्राप्त भएको सुनलाई ल्याबबाट परीक्षण गरी विभागमा प्रमाणित गरिनेछ । नदी किनाराको पहिलो तहमा सुनको मात्रा फेला नपरेको र दोस्रो तहमा खन्ने काम भइरहेको प्रालिका संयोजक मल्लले बताउनुभयो । सुनको सम्भावना फेला परे आगामी वर्षबाट उत्खननको काम गरिनेछ । उहाँका अनुसार स्वदेशी लगानी सम्भव नभएकाले विदेशी लगानीमा सञ्चालन गरिने प्लेसर गोल्ड खानीको उत्खननमा स्थानीयलाई समेत सहभागी गराइनेछ । जलजला जेम्स प्रालिले बालुवामा पाइने प्लेसर सुनको खोजतलासका लागि लाइसेन्स लिएको १० वर्ग किलोमिटर स्थान घाटगाउँ, विद्यापुर र बाबियाचौर तीन गाविसको क्षेत्रमा पर्ने भेरी नदी किनार रहेको छ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||