| युगसम्बाद साप्ताहिक | ||||
|
पर्यटन व्यवसायमा गम्भीर धक्का Tuesday, 06.02.2015, 10:49am (GMT5.5) काठमाडौं । पर्यटन व्यवसाय विदेशी मुद्रा आर्जन गर्ने मुलुकको प्रमुख व्यवसाय हो । तर, विनाशकारी भूकम्पबाट पर्यटन क्षेत्रमा भएको भौतिक क्षतिपछि पर्यटकको चहलपहल घटेर राजधानीका अधिकांश ठूला तारे होटल रित्तिन थालेका छन् । देशभर साना ठूला गरी चार हजारभन्दा बढी होटल छन् । ती होटलमा एक खर्ब रुपैयाँ भन्दा बढी लगानी छ भने तीन लाख नागरिकले प्रत्यक्ष रोजगारी पाएका छन् । यी होटलहरूमा करिब २५ हजार शय्या क्षमता छ । पर्यटकका भरमा चल्दै आएका कतिपय तारे होटललाई भूकम्पपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा आएको कमीले कर्मचारीलाई तलब खुवाउनसमेत कठिनाइ भएको छ । भूकम्प र त्यसपछिका पराकम्पले पर्यटक आगमनमा कमी आएको छ । तारे होटलमा हुने कार्यक्रम, गोष्ठी, तालिम ठप्प छन् । वैशाख र जेठमा हुने विवाह, व्रतबन्धका भोज पनि बन्द हुँदा यस्ता होटल थप मारमा परेका छन् । राजधानीको ग्रान्ड होटलका आवासीय प्रबन्धक अमीर प्रधानाङ्ग भूकम्पपछि होटलहरूमा पर्यटकको चहलपहल शून्यसरह भएको बताउनुहुन्छ । “भूकम्पलगत्तै उद्धार र राहतका लागि आएका केही अन्तर्राष्ट्रिय टोलीका कारण चहलपहल देखिए पनि क्रमशः उनीहरू फर्किंदै गएपछि होटल सुनसान बन्दै गएका छन्” – उहाँले भन्नुभयो । वैशाख १२ गते गएको भूकम्प र त्यसपछि गएका शक्तिशाली पराकम्पले नेपालको पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको छ । पर्वतारोहण, पदयात्रा, जलयात्रालगायतका साहसिक पर्यटनका कारण विश्वमै प्रसिद्ध नेपालका पुरातात्विक, सांस्कृतिक तथा प्राकृतिक सुन्दरता पर्यटकीय आकर्षणका थप विषय हुन् । सन् २०१४ मा हवाई तथा स्थलमार्गबाट करिब आठ लाख पर्यटक नेपाल भित्रिएका थिए । अहिलेको मौसममा भारत र चीनबाट बढी पर्यटक आउँछन् । तर भूकम्पको त्रासले पर्यटक ह्वात्तै घटेका छन् । अधिकांश होटलका बुकिङ रद्द गरिएका छन् । बुकिङ भइसकेका मध्ये पनि ६० देखि ७० प्रतिशत रद्ध भएका होटलले जनाएका छन् । राजधानीका पाँचतारे होटलको कारोबारमा ७० प्रतिशत कमी आएको पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद गौतमको भनाइ छ । तर काठमाडौँ र नगरकोटका होटलका तुलनामा धुलिखेलका रिसोर्टमा भने विभिन्न कार्यक्रम, गोष्ठी तथा तालिम गर्नेदेखि धुम्न आएका पर्यटकले भरिभराउ छन् । भूकम्प प्रभावित जिल्लामा राहत वितरण र अध्ययन गर्न आउने संस्थाका प्रतिनिधि तथा तय भइसकेका कार्यक्रम, तालिम र गोष्ठीले गर्दा धुलिखेलका ठूला रिसोर्ट भरिभराउ रहेको मिराबेल रिसोर्टका प्रबन्ध निर्देशक भोला थापा बताउनुहुन्छ । धुलिखेलमा साना ठूला गरी ६६ रिसोर्ट छन् । काठमाडौँपछिको प्रसिद्ध पर्यटकीय स्थल पोखरा, लुम्बिनी, चितवनजस्ता क्षेत्रमा भने भूकम्पले कुनै असर गरेको छैन । पोखराका पर्यटन व्यवसायीले पर्यटक कम भएपछि पर्यटक तान्न खान, बस्न र घुमघाममा छुटको योजना अघि सारेका छन् । लाङटाङ र सगरमाथा क्षेत्रमा भूकम्पले क्षति पुर्याएको छ । तर त्यसबाहेकका प्रमुख पर्यटकीय क्षेत्रमा भने खासै क्षति पुगेको छैन । भूकम्पबाट होटल तथा रेस्टुराँमा भएको क्षतिबारे पर्यटन विभाग र सहरी विकास भवन निर्माण विभागले प्राविधिक निरीक्षण गरिरहेको छ । प्राविधिक टोलीले अधिकांश होटल बस्न योग्य भए पनि कतिपयमा भने क्षति पुगेको जनाएको छ । टोलीका संयोजक इञ्जिनियर कोषनाथ अधिकारीका अनुसार नयाँ बानेश्वरको एभरेष्ट होटलको भवनमा संरचनागत क्षति भएकाले हाललाई बस्न असुरक्षित भनी रातो स्टिकर टाँसिएको छ । रातो स्टिकर टाँसिएपछि होटल एभरेष्टले आफ्ना सबै कर्मचारीलाई बिदा दिई होटल बन्द गरेको छ । प्राविधिक टोलीले राजधानीका हायात रिजेन्सी, सोल्टी, र्याडिसन, अन्नपूर्ण, मल्ल र साङ्ग्रिला होटलमा हरियो स्टिकर (बस्न मिल्ने) टाँसेको छ । सोल्टी होटलको भवनसम्म पुग्ने बाटोका पर्खाल मर्मत गर्नुपर्ने र त्यहाँको क्यासिनो भवनमा सामान्य क्षति भएको छ । हायात रिजेन्सीको क्यासिनो भवनमा सामान्य मर्मत गर्नुपर्ने भएकाले पहेँलो स्टिकर (कम खतरा) टाँसिएको छ । होटल अन्नपूर्णको क्यासिनो भवनमा रातो स्टिकर (खतरा) टाँसिएको छ । सो भवन भत्काउन थालिएको छ । ठमेलको काठमाडौँ गेष्ट हाउसका पाँच भवनमध्ये हेरिटेज ब्लक प्रयोग नगर्न भनिएको छ । ताहाचलको ग्रान्ड होटल र सँगैको प्लाटिनम होटल सुरक्षित छन् । लाजिम्पाटको बजेट होटल पूर्ण रूपमा क्षति भएको छ । प्राविधिक टोलीका संयोजक अधिकारीले पूर्ण क्षति भएकालाई कुनै स्टिकर नटाँसिने स्पष्ट गर्नुभयो । “रातो स्टिकर पनि मर्मत गर्न सकिने र गर्न नसकिने दुवैखालका हुने गरी टाँसिएको छ” – उहाँले भन्नुभयो । एयरपोर्ट होटलका दोस्रो र तेस्रो तलाका पर्खाल चर्केकाले पहेँलो स्टिकर लगाइएको छ । प्राविधिक परीक्षणमा ठमेलको होटल मनाङ सुरक्षित देखिएको छ । त्यहाँ हरियो स्टिकर लगाइएको छ । नेपालमा १० पाँचतारे, दुई चारतारे, ३१ तीनतारे, ४८ दुईतारे, ३५ एकतारे र ४३० वटा पर्यटकस्तरीय होटल छन् । होटल एसोसिएसन नेपाल (हान) का महासचिव विनायक शाह प्राकृतिक विपद्बाट सिर्जित चुनौतीको सामना गर्दै विदेशी पर्यटकलाई नेपाल आउने वातावरण बनाइराख्न सबै सरोकारवाला निकायको ध्यान जानुपर्ने बताउनुुहुन्छ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||