| युगसम्बाद साप्ताहिक | ||||
|
लुम्बिनीको पर्यटनमा अझै सुधार आएन Tuesday, 06.09.2015, 12:00pm (GMT5.5) भूकम्पका कारण पछिल्लो एक महिनादेखि ओरालो लागेको बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटनमा अझै सुधार आउन सकेको छैन । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने हरूपन्देहीको बेलहिया नाकाबाट भूकम्पका कारण पर्यटक आगमन प्रभावित भएपछि यहाँको पर्यटनमा सुधार आउन नसकेको हो । भूकम्पपछि यस क्षेत्रमा हवाईमार्गबाटमात्र होइन स्थलमार्गबाट आउने तेस्रो मुलुकको पर्यटकको सङ्ख्यासमेत अत्यधिक घट्न गएको अध्यागमन कार्यालय बेलहियाका अधिकृत आनन्द पौडेलले बताउनुभयो । गत वर्ष सन् २०१४ को मे महिनामा यस नाका हँुदै एक हजार ६४२ पर्यटक नेपाल प्रवेश गरेका थिए । यस वर्षको सोही अवधिमा ७५६ पर्यटकमात्र नेपाल प्रवेश गरेका थिए । यो तथ्याङ्कले गत वर्षको मे महिनाको तुलनामा यस वर्षको सोही अवधिमा करिब ५५ प्रतिशत पर्यटक आगमन कम भएको देखिन्छ । यो नाका हँुदै नेपाल प्रवेश गर्ने ९५ प्रतिशतभन्दा बढी पर्यटकको पहिलो गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी हुने गर्दछ । यस नाकाबाट नेपाल आउने अधिकांश पर्यटक बौद्ध धर्म मान्ने मुलुकबाट आउने भए पनि पश्चिमा मुलुकका साथै दक्षिण–पूर्वी एसियाका समेत आउने गरेका थिए । तर यस अवधिमा ती सबै पर्यटकको आगमन अवस्था निरासाजनक नै देखिन्छ । यस नाकाबाट पछिल्ला दिनमा पर्यटक नेपाल आउनेभन्दा बाहिरिनेको सङ्ख्या बढिरहेको छ । यस वर्षको मे महिनामा यस नाकाबाट ७५६ जना पर्यटक नेपाल भित्रिँदा एक हजार १५६ जना बाहिरिएका छन् । गत वर्षको मे महिनामा लुम्बिनी भ्रमणमा आउने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या दुई हजार ५६३ रहेको थियो । यस वर्षको सोही अवधिमा उक्त सङ्ख्या ७१.१३ प्रतिशतले घटेको छ । यस वर्षको मे महिनामा तेस्रो मुलुकबाट ७४० पर्यटक आएका लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राई बताउनुहुन्छ । लुम्बिनी भ्रमणका लागि अत्यधिक आउने भारतीय रहेका छन् । तर उनीहरूको सङ्ख्या विगतका तुलनामा घटेको छ । यो समयमा गर्मी छल्न भारतीय पर्यटक नेपाल आउने गरेका थिए । पर्यटक नआएको राईले जानकारी दिनुभयो । गत वर्षको मे महिनामा भन्दा यस वर्षको सोही अवधिमा भारतीय पर्यटकको आगमनको सङ्ख्या १४.३ प्रतिशतले घटेको छ । गत वर्ष १० हजार ९२ भारतीय पर्यटक लुम्बिनी भ्रमणमा आएका थिए भने सोही अवधिमा यस वर्ष पर्यटक आगमन घटेर आठ हजार ५९५ पुगेको कोषले जनाएको छ । बाह्य पर्यटकको सङ्ख्या घटे पनि लुम्बिनी आउने आन्तरिक पर्यटकको सङ्ख्या भने गत वर्षभन्दा यस अवधिमा बढेको देखिन्छ । देशमा आएको भूकम्पपछिको विपद्को सामना गर्न र भूकम्पमा परी मृत्यु भएकाको शान्तिको कामना गर्ने प्रमुख उद्देश्यका साथ लुम्बिनीमा दीप प्रज्वलनका लागि देशका विभिन्न क्षेत्रबाट मानिस आउने गरेको सूचना अधिकृत राई बताउनुहुन्छ । यस्तै भूकम्पको त्रासमा रहेका मानिस र विद्यालय बन्द रहेका अवस्थामा लुम्बिनी आउनेको सङ्ख्या बढेको उहाँको तर्क छ । यसरी गत वर्षको मे महिनामा २४ हजार ७५३ अन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरेकामा यस वर्षको सोही अवधिमा उक्त सङ्ख्या ११.९० प्रतिशतले बढेको छ । यस वर्ष २७ हजार ७०१ जना आन्तरिक पर्यटकले गएको एक महिना लुम्बिनी भ्रमण गरेको कोषको तथ्याङ्क छ । पर्यटन क्षेत्रका लागि नेपाल अहिले बेमौसम भए पनि भूकम्पअघि पर्यटक आगमन विगतका वर्षमा भन्दा वृद्धि भइरहेको थियो । पर्यटक आगमनमा सुधारात्मक आइरहेका क्रममा अचानक आएको दैवी विपत्तिका कारण तेस्रो मुलुकका पर्यटक आगमन ह्वात्तै घटेको सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घका सदस्य तथा लुम्बिनीस्थित मायादेवी गेष्ट हाउसका सञ्चालक गोविन्द ज्ञवाली बताउनुहुन्छ । उहाँले यो मौसम आन्तरिक पर्यटकले लुम्बिनी भरिने समय भए पनि भूकम्पको प्रभावले लुम्बिनीको पर्यटन शुन्य अवस्थामा पुगेको बताउनुहुन्छ । लुम्बिनीको पर्यटनलाई सुधार गर्न अहिले यहाँ आउने पाहुनालाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको र अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सूचना पुर्याउन पर्यटन व्यवसायीको टोली थाइल्यान्डलगायतका देशमा पुगेको उहाँले जानकारी दिनुभयो । सौराहामा आउने पर्यटकलाई पचास प्रतिशत छुट विनाशकारी भूकम्पका कारण आन्तरिक तथा बाह्य पर्यटनलाई परेको असरले मुलुकका प्रमुख पर्यटकय क्षेत्रहरू यतिबेला सुनसान जस्तै छन् । विशेष गरी पोखरा, सौराा, लुम्बिनी जस्ता क्षेत्रमा भूकम्पले खासै प्रभाव नगरे पनि डरले गर्दा पर्यटक आउन सकिरहेका छैनन् । यस्तोमा क्षेत्रीय होटल सङ्घ चितवनले रत्ननगरस्थित पर्यटकिय क्षेत्र सौराहामा आउने पर्यटकलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । क्षेत्रीय होटल सङ्घको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । सङ्घका महासचिव राममणि खनालका अनुसार भूकम्पपछि सौराहामा सुनसान भएकाले पर्यटकमा सकारात्मक सन्देश एवम् पर्यटन व्यवसायको प्रवद्र्धनका लागि विशेष छुटको निर्णय गरिएको हो । भूकम्पपछि पर्यटकले बुकिङ रद्द गरेकाले उनीहरूलाई आकर्षित गर्न नयाँ प्याकेज ल्याउन लागेको सङ्घले जनाएको छ । “सौराहा सुरक्षित छ भन्ने सन्देश दिनका लागि प्याकेज घोषणा गरेर पर्यटकलाई निम्तो दिएका हौँ” उहाँले भन्नुभयो । सौराहामा अहिले पर्यटक शून्य प्रायः रहेको क्षेत्रीय होटल सङ्घका सचिव दामोदर रेग्मीले बताउनुभयो । केही लामो समयका लागि आएका र ट्रेकिङ रुटबाट फर्किएका सौराहामा सुरक्षित महसुस गरी बसेका भए पनि अन्य पर्यटक शून्य रहेको उहाँको भनाइ छ । नेपालको पर्यटन व्यवसाय सुरक्षित छ भन्ने सन्देश सरकारी तथा गैरसरकारी संस्थाबाट बाहिर पुर्याउनु जरुरी छ । यहाँ भूकम्प अघि होटल भरिएका थिए । विशेषगरी चिनियाँ पर्यटकको बाक्लो उपस्थिति थियो । यहाँ विगत केही वर्षदेखि होटल खुल्ने क्रम तीव्ररुपमा भएको थियो । स्टारतहका होटलसमेत खुल्न थालेका थिए । पछिल्ला वर्ष ‘अफ सिजन’मा समेत सौराहामा पर्यटक भरिँदै आएका थिए । तर भूकम्पले अहिले व्यवसायनै प्रभावित भएको स्थानीय सपना भिलेज लजका सञ्चालक ध्रुव गिरी बताउनुहुन्छ । दैनिक दुई हजार ५०० पर्यटक बस्न मिल्ने क्षमताका करिब १०० को हाराहारीमा सुविधायुक्त होटल छन् । यहाँ हात्ती सफारी, चितवन निकुञ्जमा जङ्गली जनावरको अवलोकन तथा मौलिक संस्कृतिको अध्ययन एवम् चरा अवलोकनका लागि बढी पर्यटक आउँछन् । भूकम्पका कारण होटलका कर्मचारीसमेत धमाधम घर बिदामा जान थालेका छन् । तीस प्रतिशत कर्मचारीका समेत घर भत्किएकाले उनीहरू घर गएका हुन् । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||