| युगसम्बाद साप्ताहिक | ||||
|
विदेशीको सहयोग मुलुकको आवश्यकता अनुसार मात्र Tuesday, 06.23.2015, 12:06pm (GMT5.5) विनाशकारी भूकम्पबाट पुगेको क्षतिको पुनःनिर्माणका लागि जुटाइने विदेशी सहयोग मुलुकको आवश्यकता अनुसार मात्र हुने अर्थमन्त्री डा रामशरण महतले बताउनुभएको छ । आइतबार व्यवस्थापिका–संसद्को राष्ट्रिय विपद् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिको बैठकमा उहाँले विपद्पछिको आवश्यकता मूल्याङ्कन (पिडिएनए) तयार भइसकेको जानकारी दिँदै उहाँले त्यसैमा आधारित भएर सहयोग जुटाइने स्पष्ट गर्नुभयो । दातृ निकायका उच्च अधिकारीहरूलाई यही असार १० गते राजधानीमा एकत्रित गरी मुलुकको पुनःनिर्माणका लागि आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हालसम्म सम्मेलनमा ४० मुलुकले सहभागिता जनाउने जानकारी दिएका छन् ।” भूकम्पबाट प्रभावित क्षेत्रको पुनः निर्माण तथा नवनिर्माणमा बाह्य सहायता प्राप्त गर्न आयोजना गरिएको सो सम्मेलनमा ६५ मुलुक तथा सङ्घ संस्थालाई आमन्त्रण गरिएको उहाँले बताउनुभयो । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क), विश्व बैंक, एसियाली विकास बैंक, युरोपेली बैंक, ब्राजिल, न्युजील्याण्ड, लम्जेम्बर्गलगायत मुलुकले पनि सम्मेलनमा सहभागिता हुने प्रतिबद्धता व्यक्त गरेका अर्थमन्त्रीले जानकारी दिनुभयो । सरकारले अन्तर्राष्ट्रिय समुदायको विश्वास जित्न र पुनःनिर्माणको वातावरण तयार पार्न हरदम प्रयत्न गरेको जानकारी दिदै उहाँले पुनःनिर्माणका लागि रु ६ खर्ब ६६ अर्बको आवश्यक परेको बताउनुभयो । सम्मेलनबाट मुलुकको पुनः निर्माण तथा नवनिर्माणको खाका कोर्न मद्दत मिल्ने तथा मित्रराष्ट्रले विपद व्यवस्थापनका क्षेत्रमा हासिल गरेका अनुभवको मुलुकका निम्ति लाभदायक हुने विश्वास व्यक्त गर्नुभयो । “सम्मेलनमा दातृ निकायका प्रतिनिधिमात्र नभई सहयोगी अन्य सङ्घ संस्थालाई पनि आमन्त्रण गरिएकाले त्यसबाट नेपाल एउटा सहज र सुगम गन्तव्य हो भन्ने सन्देश प्रवाह हुनेछ” उहाँल भन्नुभयो । नेपाललाई पुनःनिर्माणका लागि सरल व्याजमा ऋण उपलब्ध गराउन अनुरोध गरिने बताउँदै उहाँले त्यस सम्बन्धमा दातृ निकायसँग निरन्तर छलफल भइरहेको र सम्मेलनबाट ठोस परिणाम प्राप्त हुने अपेक्षा आफूले गरेको बताउनुभयो । त्यसै गरी परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले सम्मेलनले मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा मद्दत पुर्याउने बताउँदै भन्नुभयो,‘‘नेपाल आफ्नै हैसियतमा पनि पुनःनिर्माणमा लाग्न सक्छ, नेपालीको एकता र भ्रातृत्वले त्यसमा सहयोग पुर्याउँछ तर विदेशीको अनुभवबाट सिक्ने अवसरलाई सदुपयोग गर्नैपर्छ ।’’ अधिकभन्दा अधिक सहायता जुटाउन तथा सम्मेलनलाई फलदायी तुल्याउन सोमबार यहाँस्थित कूटनीतिक नियोगका प्रमुखसँग परराष्ट्र मन्त्रालयले छलफल आयोजना गरेको उहाँले जानकारी दिनुभयो । सम्मेलनको आयोजना सहायता रकम प्राप्तिमात्र नभई विपद् व्यवस्थापनको अनुभव आदानप्रदानका निम्ति गरिएको पनि उहाँले बताउनुभयो । यसै गरी व्यवस्थापिका–संसदको राष्ट्रिय विपद् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिले विपद्पछिको आवश्यकता मूल्याङ्कन (पिडिएनए) प्रतिवेदन तत्काल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबारको बैठकले सो प्रतिवेदनलाई पूर्ण बनाउन र जनप्रतिनिधिको धारणालाई पनि समावेश गर्न सहयोगी हुने भएकाले समितिलाई उपलब्ध गराउन निर्देशन दिइएको सभापति सुवास नेम्वाङले जानकारी दिनुभयो । समितिले यसअगावै पिडिएनए उपलब्ध गराउन निर्देशन दिएको भए पनि सरकारले ध्यान नदिएको भन्दै आजको बैठकमा सांसदहरूले आवाज उठाउनु भएपछि पुनः सो निर्देशन दिएको हो । भूकम्पपछिको विपद् व्यवस्थापनको अनुगमन तथा निर्देशनका लागि संसदले समिति गठन गरेको र सो समितिले स्थलगत अनुगमन समेत गरेको सन्दर्भमा सो प्रतिवेदनलाई समृद्ध पार्ने दायित्व आफूहरूको समेत भएको भन्दै उपलब्ध गराउन निर्देश गरिएको सभापति नेम्वाङको भनाइ छ । यस्तै बैठकले अन्तर्राष्ट्रिय समुदायलाई विश्वासमा लिन पनि आन्तरिक तयारी पूर्णरूपमा गर्नुपर्ने आवश्यकतालाई आँैल्याउँदै संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई बोलाएर छलफल गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीको नेतृत्वमा सबै दललाई सहभागी गराएर बैठक बोलाउन सकिने प्रावधान भए पनि त्यसखालको बैठक हुन नसकेकामा समितिले तत्कालै सबै दलको बैठक बोलाएर सुझाव लिन समेत आग्रह गरेको छ । बैठकमा सांसद रामचन्द्र पौडेलले मुलुकको आवश्यकता र चाहनाका आधारमा मात्रै दातृ निकायसँग सहयोग माग्न आग्रह गर्नुभयो । सबै मुलुक तथा दातृ निकायलाई विश्वासमा लिएर पुनःनिर्माणको काम अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो । अर्का सांसद माधवकुमार नेपालले पुनःनिर्माण सुरु गर्नुभन्दा अगावै भूकम्पपीडित परिचयपत्र, भूउपयोग नीति तयार पार्न सरकारको ध्यानाकर्षण गराउनुृभयो । उहाँले नागरिकलाई विश्वासमा लिएर पुनःनिर्माणलाई अगाडि बढाउन तथा राष्ट्रिय आवश्यकताको ख्याल गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद गिरिराजमणि पोखरेलले सबै दललाई विश्वासमा लिएर दातृ निकायसँग सम्वाद गर्नुपर्ने र सम्मेलनलाई विश्वासिलो र भरपर्दो बनाउन जे जति मेहनत गर्नुपर्ने हो सो हुन नसकेकामा आपत्ति प्रकट गर्नभयो । बैठकमा सांसदहरू दीपक बोहोरा, युवराज ज्ञवाली, डा चन्द्रमोहन यादवलगायतले मुलुकलाई दातृ निकायको सहयोगबाट मात्रै चल्न सक्छ भन्ने नकारात्मक मानसिकताबाट बाहिर निकाल्न पनि नेपाली आफैले केही गर्न सक्छन् भन्ने सन्देश दिनुपर्ने धारणा राख्नुभएको थियो । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||