युगसम्बाद साप्ताहिक

प्रतिबद्धता आयो : अब शर्त आउनेछन्
Tuesday, 06.30.2015, 12:48pm (GMT5.5)

काठमाडौं । विनाशकारी भूकम्पपछिको पुनःनिर्माणका लागि आर्थिक स्रोत जुटाउन आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा अपेक्षा गरिएभन्दा बढी आर्थिक सहायता तथा ऋण र अनुदानको घोषणा भयो । तर, अब यसैमा दंगदास हुनुपर्ने कुनै कारण नभएको र उनीहरूबाट घोषित रकम आउन ढिला मात्र हैन अनेक शर्त समेत लादिने हुँदा शतर्क रहनुपर्ने अवस्था छ । उनीहरूको शर्त पूरा नभए आउनुपर्ने रकम बेलैमा नआउने हुँदा त्यसैमा मात्र पूरै निर्भर हुन नहुने र त्यस्तो स्थिति उत्पन्न भए ठूलो समस्या खडा हुने सम्भावना पनि उत्तिकै छ । अर्काेतिर नियमित विकास बजेट समेत समयमा खर्च गर्नसक्ने क्षमता नभएकाहरूबाट त्यत्रो रकम समयमै आए पनि सदुपयोग होला भनेर पत्याउने आधार अझै तयार छैन । 

हुन त पुनःनिर्माण प्राधिकरणले नै दाताहरूबाट आएको रकम खर्च गर्न बताइएको छ । तर, त्यसको नेतृत्वमा पनि राजनीतिक भागवण्डा गरेर राम्रालाई नभएर हाम्रालाई ल्याउने परिपाटीकै निरन्तरता भयो भने त्यो अर्काे दुर्भाग्य हुनेछ । त्यस्तै दाताहरूले साढे चार खर्ब रुपैयाँसम्म ऋण तथा अनुदान सहयोग गर्ने वाचा गरे पनि ती सहयोग सहजै र तत्कालै उपलब्ध नहुने भन्दै विज्ञहरूले सरकारलाई सजग गराएका छन् । किनभने दाताहरूले कम्तिमा ५ वर्षका लागि सो अनुदान दिने घोषणा गरिएको छ र सरकारको खर्चगर्ने क्षमतामै सो रकम उपलब्ध हुनेछ । किनभने अहिले सरकारको क्षमता प्राप्त सहयोगको करीब एक चौथाई मात्र खर्च गर्नसक्ने देखिन्छ । सरकारले वर्तमान क्षमता नसुधारिकन वाचाहरूका आधारमा मात्र उत्साहित हुन नसकिने र सहयोगको वाचालाई यथार्थमा परिणत गर्न सरकारलाई तत्काल आफ्ना क्षमता र प्रकृया सुधार्नुपर्ने छ ।

त्यसैले दाताहरूले ठूलो परिमाणमा सहयोगको वाचा गरेकोबाट धेरै उत्साहित हुन नहुने कतिपयको भनाइ छ । अर्थविदहरूका अनुसार प्रतिबद्धता भएको रकमको सम्झौता नभइ हुँदैन, पूर्व सम्भाव्यता र सम्भाव्यता अध्ययन गरेपछि संसद वा मन्त्रालयबाट स्वीकृती भएपछि बल्ल रकम आउँछ । यो प्रकृया खुरुखुरु भयो भने पनि डेढ वर्षजति लाग्छ । यस्तो अवस्थामा चुपचाप लागेर बस्ने कि आफ्नो स्रोत साधनको परिचालन गरेर पुनःनिर्माणको थालनी गर्ने भन्ने प्रश्न सरकार सामु चुनौतिको रुपमा छ । अर्कोतिर हरेक वर्ष बजेटमा दिइने वैदेशिक सहयोगका प्रतिबद्धतामध्ये एक चौथाई मात्रै खर्च गर्नसक्ने साविकको क्षमता पुनर्निर्माणका क्रममा ठूलो अवरोध हुनसक्ने आशंका पनि गरिएको छ ।

त्यो भन्दा ठूलो चुनौति त दाताहरूकै तर्फबाट पनि वाचालाई वास्तविकतामा परिणत गराउन लाग्ने लामो समय पनि छ । ४४० अर्बको सहयोग प्रतिबद्धतामा सम्झौता नभइ हुँदैन किनभने उनीहरूको कर्मचारीतन्त्र नेपालको जस्तो राजनीतिले जे भन्छ त्यही मान्दैन । अर्को समस्या के भने विदेशीले शर्त पूरा नगरे घोषणा गरेको सहयोग नदिन पनि सक्छ । विदेशी प्राविधिक, विदेशी कर्मचारी, विदेशी सामग्रीदेखि परामर्शदाता, योजनाविद् समेत उनीहरूकै हुनुपर्ने शर्त दाताहरूको हुने गरेको छ । यस्ता शर्त ससाना आयोजनामा समेत हुने गरेको छ । नेपाललाई सहायता दिएको देखाउने तर यहाँ आएको रकमको ७५ प्रतिशत उतै जाने गरेको दृष्टान्त जत्ति पनि छन् । त्यसैले अब सरकारले अनुदान र सहायतामा मात्र भर नपरी आफ्नो स्रोत साधनको उपयोग गर्ने र जनतालाई स्वाभिमानी बनाउने राजनीतिक प्रतिबद्धता र आत्मबल आवश्यक छ ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्माको चिन्ता, दाताले थोपर्नसक्ने विभिन्न शर्त रहेको छ । ती शर्तबारे कुराकानी गर्दागर्दै धेरै समय लाग्नसक्ने उहाँ बताउनुहुन्छ । अनुदान होस् वा ऋण कताकता केही न केही शर्त भइराख्या हुन्छन् । त्यस कारण त्यस्ता शर्तहरू कस्ता किसिमका हुन सक्लान् भनेर हामीले आजैदेखि छलफल गर्न शुरु गर्नुपर्छ । नत्रभने काम गर्नलाई धेरै ढिलो हुनेछ । त्यसैले दातालाई सकेसम्म विश्वस्त बनाउन खर्च गर्नसक्ने क्षमता र पारदर्शी प्रकृया अवलम्बन गर्दै आन्तरिक स्रोतको परिचालन तत्काल गरिहाल्नुपर्छ । यसरी अघि बढे एकातिर उनीहरूले वाचा गरेको सहयोग पूर्ण उपलब्ध हुन सक्छ भने अर्कातिर परिआएको र नपुग स्रोतका लागि आन्तरिक ऋणको बाटो खुला नै रहनेछ ।

यसका लागि सरकारले ५२ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण धमाधम उठाइरहेको छ त्यो पनि ४ प्रतिशतभन्दा कम ब्याजमा । यसमा वैदेशिक विनिमय दरको जोखिम पनि छैन । सरकार र राष्ट्र बैंक मिलेर गर्ने हो भने यसरी उठाउन पन्ध्र दिन पनि लाग्दैन । यस्तो स्थितिमा बजेटबाटै पुनःनिर्माणका लागि रकम विनयोजन गर्ने र दाताहरूको सहयोगलाई सोही अनुसार परिचालन गर्ने गरी निर्माणको कामलाई द्रुतता दिन सकिएन भने प्रतिबद्धता भएको रकम समेत नआउनसक्छ वा आउन ढिला हुनसक्छ । त्यसैले अहिले पूर्णरुपमा दाताकै मात्र भर नपरी न्य्रनतम आवश्यकताका क्षेत्रहरूमा सरकारले लगानी गर्न कञ्जुस्याई गर्न नहुने र यसले दातामा विश्वास बढ्ने सुझाव अर्थविदहरूको छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com