| युगसम्बाद साप्ताहिक | ||||
|
११ महिनामा ६ खर्ब १७ अर्बको घाटा Tuesday, 07.07.2015, 02:02pm (GMT5.5) काठमाडौं । मुलुकमा आर्थिक उत्पादनका लागि चाहिने पूर्वाधार नै स्थापित हुन सकेको छैन । औद्योगिक उत्पादनको न्यूनता अनि कृषि उत्पादनमा समेत हुँदैआएको गिरावटले मुलुक परनिर्भरताको दिशातिर उन्मुख छ । नयाँ वर्षको सुरुवातमै विनाशकारी भूकम्पका कारण आगामी आर्थिक वर्ष अझ कष्टकर हुने विज्ञहरूले बताइरहेका छन् । व्यापार घाटा कमगर्ने भनेर आर्थिक वर्षको सुरुवातमा बजेट भाषण गर्दा अनेक लक्ष्य लिइन्छ, तर परिणाम ठीक उल्टो आउँछ । यस्तै भएको छ चालू आर्थिक वर्षको ११ महिनामा । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१।७२ को अघिल्लो ११ महिनामा व्यापार घाटा ६ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ । विभागका अनुसार यस अवधिमा ६ खर्ब ९४ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको छ भने ७७ अर्ब रुपैयाँको मात्रै निर्यात छ । न्यून उत्पादन र बढ्दो मागका कारण व्यापार घाटा बढ्ने क्रम तीव्र देखिएको छ । व्यापार घाटा कम भए पनि मुलुकको आयात धान्न आवश्यक रकम भने पर्याप्त रहेको छ । यसको कारण भनेको वैदेशिक रोजगारीबाट भित्रिएको रकम नै हो । अर्काेतिर वैदेशिक रोजगारीले उपभोग्य क्षमता बढाएका कारण पनि आयात बढ्न पुगेको छ । एकातिर मुलुकमा न्यून उत्पादनसंगै रेमिट्यान्सले बढेर आयात धान्न पुगेको भए पनि आयात प्रतिस्थापन गर्न सकिने वस्तुमा समेत ध्यान दिइएको छैन । विभागको तथ्यांकअनुसार पेट्रोलियम प्रदार्थ, फलाम तथा स्टिल उत्पादन, अटो मोबाइल, प्लास्टिकलगायतको आयात उच्च छ । यस अवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयातमा खर्च भएको छ । पेट्रोलियम पदार्थको आयात रकम कुल निर्यातभन्दा बढी छ । ११ महिनाको अवधिमा १ खर्ब १४ अर्ब रुपैयाँको इन्धन आयात भएको छ । औद्योगिक क्षेत्रमा विद्युतभन्दा पेट्रोलियम पदार्थ प्रयोग गर्दा वस्तुको लागत पनि उच्च भएकाले पनि आयात निर्यात अनुपात निकै फराकिलो हुँदै गएको छ । दोस्रोमा फलाम तथा स्टिलका उत्पादनको आयात भएको छ । तथ्यांकअनुसार ८५ अर्ब रुपैयाँको फलाम तथा स्टिल आयात भएको छ । यस्तै, ४३ अर्ब रुपैयाँको अटो मोबाइल र तिनमा प्रयोग हुने पार्टपुर्जा आयात भएको छ । कृषिप्रधान मुलुक भए पनि साढै ३१ अर्ब रुपैयाँको मकै तथा गहुँ आयात भएको छ । २५ अर्ब रुपैयाँको प्लास्टिक आयात भएको तथ्यांकमा उल्लेख छ । यस अवधिमा १७ अर्बभन्दा बढीको औषधिजन्य उपकरण आयात भएको छ । कृषि लगायतका कतिपय आयात छोटो समयमै घटाउन सकिने भए पनि त्यसतर्फ सबन्धित निकायको ध्यानै गएको छैन । आर्थिक विकास भनेको कलकारखाना खोल्नु मात्रै हो भन्ने ठान्ने गलत मानसिकताले पनि यहाँ काम गरिरहेको छ । कृषि, वनजन्य वस्तु तथा पानी पनि नेपालको निर्यातमूलक बस्तु हो भन्ने बुझ्ने प्रयास नै भएको छैन । मुलुकको व्यपार घाटा कम गर्न उत्पादन क्षेत्रमा विशेष जोड को विकल्प छैन । तर, के उत्पादन बढाउने । तत्कालका लागि कृषि नै हो । किनभने वाणिज्य तथा आपूर्ति मन्त्रालयले ऊर्जा अभाव, कृषि व्यवसाय परम्परागत रूपमा सञ्चालन हुनु र उच्च विप्रेषणले व्यापार घाटा बढेको जनाएको छ । चालु वर्षको बजेटमा घाटा कम गर्ने उपायको सुझाव दिन मन्त्रालयले तयार पारेको एक प्रतिवेदनले सम्बन्धित मन्त्रालय अन्तर्गत रहेका वस्तुको उत्पादन प्रवद्र्धन गर्न नसक्दा पनि घाटा बढेको दाबी गरिएको थियो । यस्तै, स्वदेशी वस्तुका लागि चाहिने कच्चा पदार्थ अभाव हुनु, बढी मूल्य अभिवृद्धि हुने वस्तु नखोजिएको, वस्तु गुणस्तर तथा प्रमाणीकरणको अभाव पनि घाटाको प्रमुख कारणको रूपमा लिइएको छ । तथ्यांकअनुसार १२ अर्ब रुपैयाँको फलाम तथा स्टिल निर्यात भएको छ । निर्यात भएका मध्ये दोस्रोमा गलैंचा छ । ११ महिनामा ६ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको गलैंचा निर्यात भएको छ । ६ अर्बको चिया र कफी निर्यात छ । चौथो नम्बरमा लत्ताकपडाको निर्यात छ । यस अवधिमा ५ अर्ब २५ करोड रुपैयाँको निर्यात भएको छ । ४ अर्ब २९ करोडको तरकारी तथा फलफूल निर्यात भएको छ । कृषिजन्य उत्पादनमा भारतीय सरकारले अनुदान दिएकाले नेपालभन्दा सस्तो पर्ने भारतीय उत्पादनले सजिलो बजार पाइरहेको छ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||