युगसम्बाद साप्ताहिक

दक्षिण एसियामै सबभन्दा गरीब बन्दै नेपाल
Tuesday, 07.21.2015, 02:50pm (GMT5.5)

काठमाडौं । वर्तमान सरकारका अर्थमन्त्री डा. रामशरण महतले आर्थिक वर्ष २०७१।०७२ को बजेट भाषणमार्फत सन् २०२२ मा मुलुकलाई अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा रुपान्तरण गरिने घोषणा गर्नुभो । तर, तथ्यांकले चाँहि अबको पाँच वर्षमा नेपालको हालत दक्षिण एसियामा सबभन्दा गरीबको हुनेछ । 

अन्तर्राष्ट्रिय मुद्राकोषले हालै सार्वजनिक गरेको प्रतिवेदनले सन् २०२० सम्म नेपाल दक्षिण एशियाकै सबैभन्दा कम आर्थिक वृद्धिदर भएको मुलुकमा खस्कने प्रक्षेपण गरेको छ । कोषका अनुसार सन् २०२० मा नेपालको आर्थिक वृद्धिद्धर ४.५ रहने छ, जुन सन् २०१२ मा प्राप्त लक्ष्य भन्दा पनि कम हो । कोषले गरेको प्रक्षेपणमा २०२० मा सार्क देशमा सबैभन्दा कम आर्थिक वृद्धिद्धर नेपालकै हुनेछ । दाबी गरिएअनुसार अबको पाँच वर्षमा नेपालको अवस्था अफगानिस्तानको भन्दा पनि पछाडि हुनेछ । अफगानिस्तानको आर्थिक वृद्धि दर सन् २०१४ मा दक्षिण एशियाकै सबैभन्दा कम १.५ प्रतिशत थियो । तर, २०२० मा उसको आर्थिक बृद्धिद्धर ५.७ पुग्ने प्रक्षेपण गरिएको छ, जुन नेपालको भन्दा बढी हो ।

अहिलेसम्म आर्थिक वृद्धिदरको हिसाबले अफगानिस्तान, मालदिभ्स र पाकिस्तानभन्दा नेपाल राम्रो स्थानमा छ । तर, हाल नेपालभन्दा पनि पछाडि रहेका पाकिस्तान र मालदिभ्सले पनि छाडेर सन् २०२० मा अगाडि जाने मुद्रा कोषको प्रक्षेपणले देखाएको छ । मुद्रा कोषका अनुसार २०२० मा सबैभन्दा बढी आर्थिक वृद्धिद्धर भारतको ७.८ प्रतिशत हुनेछ । दोस्रोमा भुटान ६.७ प्रतिशत हुनेछ भने बंगलादेशको आर्थिक वृद्धिदर ६.७ पुग्नेछ । त्यस्तै श्रीलंकाको ६.५ प्रतिशत र चीनको आर्थिक वृद्धि दर ६.३ प्रतिशत हुनेछ ।

त्यस्तै सन् २०२० मा पाकिस्तान र माल्दिभ्सको ५–५ प्रतिशत आर्थिक वृद्धिदर प्रक्षेपण गरिएको छ । त्यो अवधिमा नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत मात्र रहने मुद्रा कोषको प्रक्षेपण छ ।

नेपालमा हरेक वर्ष राख्ने गरिएको आर्थिक वृद्धिदरको लक्ष्य कहिल्यै पूरा हुने गरेको छैन । यस्तो स्थितिमा सरकार आफैंले २०२२ को विकास लक्ष्यलाई अर्थतन्त्रको प्रमुख चुनौतीमा राखिसकेको छ । तर, नेपालको एक दशकको आर्थिक वृद्धदर हेर्दा सबै गहिरो निद्रामा सुतेको देखिन्छ । अहिलेको आर्थिक वृद्धिदर विगत आठ वर्षयताकै सबैभन्दा न्यून हो । अर्थमन्त्री डा. रामशरण महतले सार्वजनिक गरेको पछिल्लो आर्थिक सर्वेक्षण अनुसार एक दशकमा नेपालको औषत आर्थिक वृद्धिदर ४.१ मात्रै छ । जबकि अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्र बन्न बार्षिक ७–८ को आर्थिक वृद्धिर हासिल हुनुपर्छ । 

नेपालले २०२२ भित्र विकासशील राष्ट्र बन्ने लक्ष्य पूरा गर्नका लागि आधारहरू निर्माण हुनुको साटो आर्थिक स्थिति झनै खस्कँदो अवस्थामा छ । यो वर्ष सरकारले आर्थिक वृद्धिद्धर ५ प्रतिशत हासिल हुने प्रक्षेपण गरेको थियो । तर, ३ प्रतिशतमा मा खुम्चिएको छ । वैशाख १२ पछिको विनाशकारी भूकम्पका कारण लक्ष्य अनुसार आर्थिक वृद्धिद्धर हासिल हुन नसकेको अर्थमन्त्री रामशरण महतले दाबी गरेका छन् । 

आखिर नेपाल किन यसरी पछाडि पर्दैछ त ? प्रश्नको उत्तर सहज छ र यसबाट माथि उठ्ने उपायहरू पनि सहज नै छन तर विकासको नाममा हुने राजनीति र व्यक्तिगत लाभका लागि राष्ट्रिय मुद्दाहरूलाई त्याग्ने प्रवृत्ति नै सबभन्दा खराब हो । खाद्यान्नमा मात्र आत्मनिर्भर हुन सके पनि नेपालको स्थिति सुधारिने छ । ६ खर्बभन्दा बढीको व्यापार घाटा छ । यसमा कृषि उपज पनि सामेल छ । कृषिलाई आर्थिक उत्पादकत्वको प्रमुख आधार मान्ने तर यसको विकासका लागि ठोस कदम नचाल्ने र बाहिरी शक्तिको निर्देशन अनुसार अनुदान कटौती गर्दा नेपालमा कृषि कर्ममा लाग्नुको साटो मलेसिया र खाडीमा पसिना बगाउनु नै उत्तम ठानिएको छ । अर्कोतिर बजार व्यवस्थापा र वितरण प्रणालीको वैज्ञानिक आधार तयार हुन सकेको छैन । जुम्लाको स्याउ बोटमै कुहिन्छ तर नेपालगञ्जमा भारत र चीनको स्याउले बजार लिइराखेको छ । यो एउटा सानो उदाहरण मात्र हो । यस्ता अनगिन्ती उदाहरण छन् । समस्याहरू यसै गरी थुप्रिदै गएका छन् ।

अहिले मुलुक पुनःनिर्माणको चरणमा छ तर कामदार नै छैनन् । सरकारले पुनःनिर्माणका लागि चाहिने जनशक्ति उत्पादन गर्ने र स्वदेशमै रोजगारी दिलाउने विश्वास दिलाउन सकेको छैन । अहिलेसम्म वैदेशिक रोजगारी छ र आयात धानिरहेको छ । यसैमा गरीबी घटेको तथ्यांक देखाएर दंग पर्नेहरूले आफ्नो रणनीतिक कुशलता देखाउन सकेनन् भने नेपाल विश्वमै सबभन्दा गरीब मुलुकमा दरिने दिन धेरै टाढा छैन ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com