| युगसम्बाद साप्ताहिक | ||||
|
चीनले भूकम्पाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माण तत्काल गरिदिने Tuesday, 07.28.2015, 12:20pm (GMT5.5) काठमाडौं । नेपालमा गत वैशाख १२, १३ र २९ गते गएको विनाशकारीे भूकम्प लगत्तै उद्धार, राहत तथा खोजीमा ठूलो सहयोग गरेको नेपालको उत्तरी छिमकीमुलुक चीनबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण आयोजना तत्काल कार्यान्वयन गर्ने तथा त्यस निम्ति रु एक अर्ब नगदसमेत उपलब्ध गराउने घोषण गरेको छ । भूकम्पपछिको पुनःनिर्माण तथा आर्थिक विकास लगायत आपसी हित र चासोका विविध विषयमा बिहिबार सम्पन्न सचिवस्तरीय द्विपक्षीय संयुक्त वार्तामा चीनले उक्त घोषणा गरेको हो । भूकम्पसँगै पहिरो खस्दा क्षति भएको अरनिको राजमार्ग, त्यसैबाट प्रभावित सिन्धुपाल्चोकको लार्चामा निर्माणधीन सुक्खा बन्दरगाह, रसुवागढीस्थित भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउन चीनले शीघ्र काम थाल्ने भएको छ । त्यस्तै काठमाडौँ तथा सिन्धुपाल्चोकमा व्यवस्थित बस्ती विकास, पुनःनिर्माण, भूकम्पपीडितलाई अन्य भौतिक सहयोग, आठ ‘लेन’को निर्माणाधीन चक्रपथ विस्तार परियोजनाको काम द्रुत गतिमा अघि बढाउन चीन सहमत भएको छ । नेपालको पुनःनिर्माणका विषयमा छलफल गर्न १४ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व काठमाडौं आउनुभएका चिनीया वाणिज्य सचिव चाङ स्योङ्छेनको टोलीसंग भएको वार्तामा सो प्रतिबद्धता जनाइएको हो । चीनका तर्फबाट त्यहाँको वाणिज्य मन्त्रालयअन्तर्गतको वैदेशिक सहयोग विभागका उपमहानिर्देशक, नागरिक मामिला मन्त्रालयका उपमहानिर्देशक, स्वशासित क्षेत्र तिब्बतको वाणिज्य विभागका उपमहानिर्देशक, राज्य परिषद् सांस्कृतिक सम्पदा कार्यालयका उपमहानिर्देशक, नेपालका लागि चिनियाँ राजदूतलगायत सहभागी हुनुहुन्थ्यो । त्यस्तै वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व अर्थसचिव सुमनप्रसाद शर्माले गर्नुभएको थियो भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ, परराष्ट्र, स्वास्थ्य तथा जनसङ्ख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला, वाणिज्य तथा आपूर्ति, शिक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका उच्च अधिकारीको सहभागिता थियो । “नेपालको प्राथमिकतानुसार तत्काल अनुदान सहायता परियोजना कार्यान्वयन गर्न र केही परियोजनाको सम्भाव्यता अध्ययनपछि बाँकी काम चाँडोभन्दा चाँडो थाल्न पनि चीन राजी भएको छ” – वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका अर्थसचिव शर्माले भन्नुभयो । काठमाडौँ र सिन्धुपाल्चोकमा परीक्षणका रुपमा बस्ती विकास र सुरक्षित आवास निर्माण आयोजना पनि अनुदान सहायताअन्तर्गत कार्यान्वयन गरिने अर्थसचिवले बताउनुभयो । भूकम्प प्रभावित क्षेत्रमा विद्यालय तथा स्वास्थ्य केन्द्र पनि निर्माण गरिने छ । गत असार १० गते यहाँ सम्पन्न ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा चीनले रु ७७ अर्ब ७० करोड अनुदान उपलब्ध गराउने घोषणा गरेअनुरुप अनुदान सहायता परियोजना आगामी तीन वर्षसम्म सञ्चालन हुनेछन् । एक अर्ब नगद अनुदान उपलब्ध गराउने चिनियाँ घोषणा पनि सोही सहायता रकमअन्तर्गतको हो । वार्तापछि विपद्पछिको पुनःनिर्माण सहयोग परियोजनाको कार्ययोजना, रु एक अर्ब नगद सहयोग सम्झौता तथा भरतपुरस्थित बिपी मेमोरियल क्यान्सर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनुका साथै दुवै पक्षबीच आदानप्रदान भएको थियो । भूकम्पपछिको पुनःनिर्माण तथा नवनिर्माणका साथै नेपालको आर्थिक विकासमा नेपाललाई सक्दो सहयोग गर्ने चिनियाँ प्रतिबद्धताअनुरुप भएको वार्ताबाट आफू उत्साहित भएको सचिव चाङले बताउनुभयो । उहाँले अत्यन्त निकटको छिमेकी नेपालले प्राकृतिक विपत्तिबाट भोग्नुपरेको कठिनाइबाट पार लगाउन चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वाणिज्य सचिव चाङ स्योङ्छेन नेपालको पाँचदिने औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश प्रस्थान गर्नुभएको हो । गत मङ्गलबार नेपाल आउनुभएका चाङले वार्ताका क्रममा भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण आयोजना तत्काल कार्यान्वयन गर्ने तथा त्यसनिम्ति रु एक अर्ब नगदसमेत उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । वार्तामा भूकम्पसँगै पहिरो खस्दा क्षति भएको अरनिको राजमार्ग, त्यसैबाट प्रभावित सिन्धुपाल्चोकको लार्चामा निर्माणाधीन सुक्खा बन्दरगाह, रसुवागढीस्थित भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउन चीनले शीघ्र कामथाल्ने तथा काठमाडौँ तथा सिन्धुपाल्चोकमा व्यवस्थित बस्ती विकास, पुनःनिर्माण, भूकम्पपीडितलाई अन्य भौतिक सहयोग उपलब्ध गराउने, आठ ‘लेन’को निर्माणाधीन चक्रपथ विस्तार परियोजनाको काम द्रुतगतिमा अघि बढाउनेलगायत पाँचक्षेत्रमा नेपालको प्राथमिकतानुसार अनुदान सहायता परियोजना कार्यान्वयन गर्ने सहमति भएको थियो । सचिव चाङ नेतृत्वको प्रतिनिधिमण्डलले भूकम्पबाट प्रभावित अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे खण्डका साथै निर्माणाधीन चक्रपथ विस्तार परियोजनाको स्थलगत निरीक्षण गर्नुका साथै प्रधानमन्त्री सुशील कोइराला र अर्थमन्त्री डा रामशरण महतसँग बेग्लाबेग्लै भेटवार्ता गरेको थियो । चिनियाँ प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनी, नेपालका लागि चीनका राजदूत उ चुन्ताइका साथै अर्थमन्त्रालय र यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारीले बिदाइ गर्नुभएको थियो । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||