| युगसम्बाद साप्ताहिक | ||||
|
४५ लाख श्रमशक्ति विदेशमा Wednesday, 08.26.2015, 03:34pm (GMT5.5) काठमाडौं । नेपालको अर्थतन्त्र वैदेशिक रोजगाीबाट भित्रिएको रकमले धानेको छ । मुलुकको आयात धान्न पुग्ने गरी कति युवाहरू श्रमका लागि विदेशिए होलान् भन्दा विभिन्न किसिमका तथ्यांक बाहिर आइरहेको छ । ५० को दशकबाट वैदेशिक रोजगारीका लागि जान सुरु गरिएको नेपालबाट अहिलेसम्म ४५ लाख युवाहरू बाहिरिसकेको तथ्यांक छ । यो संख्इा कुल जनसंख्याको १७ प्रतिशत हुन आउँछ । त्यो श्रम गर्नेहरू १५ देखि ४९ वर्षका रहेका छन् । यो उमेर समूहलाई श्रम गर्नसक्ने मानिन्छ । मुलुकमा राजनीतिक अस्थिरताले कस्तो परिस्थिति निम्त्याउँछ भन्ने दृष्टान्त नेपालको वर्तमान अवस्थाले इंगित गर्दछ । २०४६ सालको राजनीतिक परिवर्तनसंगै जागेको आशामा तुषारापात हुँदै जाँदा मुलुकको आर्थिक विकास न्यून छ । कहिल्यै लक्ष्य पूरा हुँदैन । २०४८ सालको आमनिर्वाचनपछि गठन भएको सरकारसंगै आर्थिक विकासको ढाँचा बदलेर केही सुखद संकेत देखिए पनि २०५१ सालको मध्यावधि निर्वाचनपछि मुलुक तहसनहसको अवस्थामा पुग्यो । २०५१ देखि ०५६ को अवधि नेपालको राजनीतिक इतिहासमा कालो समय भन्दा फरक पर्दैन । सोही कालमा माओवादीको जन्म भयो र मुलुक सशस्त्र द्वन्द्वमा होमियो । त्यसपछि सुरु भयो नेपालको अवन्नतिको दिन । मुलुकमा आर्थिक गतिविध ठप्प हुँदा बेरोजगार युवाहरूको एउटै मात्र विकल्प विदेश बन्यो । नेपालबाट वैदेशिक रोजगारी, अध्ययन तथा अन्य कामले विदेशिनेको संख्या बढ्न थालेको पनि ५० को दशकदेखि नै हो । २०५१ दखि २०७२ सम्मको तथ्यांकलाई हेर्ने हो भने मुलुकबाट ४५ लाख युवाहरू विदेशिएका छन् । यसमध्ये रोजगारीका लागि सबैभन्दा बढी छन् । नेपालबाट सबैभन्दा बढी कामदार जाने मुलुक मलेसिया हो । मलेसियामा १३,४९,१२९ नेपाली छन् भने त्यसपछि कतारमा १०,४७,१२३, साउदी अरबमा ७,७५,०१३, युएईमा ६,६२,०८८, कुवेतमा ३,६६,९१६, बहराइनमा १,०१,१७८, ओमानमा ३८,९१९, दक्षिण कोरियामामा २७,४३०, लेबनान १२,४२८, जापानमा ११,५५८, इजरायलमा ८,५२५, अफगानिस्तानमा ८,२२६ र अन्य मुलुकमा ४४,९१३ कामदार रहेका छन् । यो संख्या ४४,५३,४४६ हुन आउँछ र यो वैधानिक तरिकाले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या हो । यो संख्या नेपालको कूल जनसंख्याको करिब १७ प्रतिशत हो । २०६८ को गनगणनाले नेपालको कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ देखाएको छ । जनगणनाअनुसार १५ देखि ४९ वर्षसम्मको जनशक्ति नेपालमा १ करोड ३२ लाख ६८ हजार १ सय ९ छ । यसलाई काम गर्नसक्ने जनशक्तिको सूचीमा राख्ने हो भने करिब ३४ प्रतिशत यस्तो जनशक्ति २१ वर्षमा वैदेशिक रोजगारको खोजीमा बिदेसिएको देखिन्छ । यसरी विदेशिनेमा ९३.५७ प्रतिशत पुरुष छन् भने ३.४३ प्रतिशत महिला रहेका छन् । यो तथ्यांकमा अवैध तरिकाले विभिन्न राष्ट्रमा जानेको संख्या समावेश छैन । अवैध तरिकाले जानेको संख्या पनि निकै ठूलो छ । अवैध तरिकाले विदेशी भूमि पुग्ने नेपालीको संख्या ५ लाख हाराहारी रहेको अनुमान छ । अवैध तरिकाले जानेमा ठूलो संख्या महिलाको छ। धेरै देशमा घरेलु कामदारको रूपमा जान सरकारले महिलालाई प्रतिबन्ध लगाएपछि दलालमार्फत उनीहरू जाने गरेका छन् । यो अवस्था भनेको नवनेपाल निर्माणका लागि ठूलो चुनौति हो । मुलुकमा श्रमशक्तिको प्रचूर अभाव हुने अनि श्रमगर्ने शक्ति भने विदेशिने परिपाटीको अन्त्य नहुँदासम्म मुलुकभित्र आर्थिक गतिविधि बढाउन सकिंदैन । सरकार तथा राजनीतिक दलहरूले अब यसमा विचार पुर्याउनैपर्ने अवस्थाको सिर्जना भएको छ । भूकम्पपछिको पुनःनिर्माणको कामलाई रोजगारी सिर्जनाको अवसरका रुपमा उपयोग गर्ने गरी सरकारी नीति बन्नु अत्यावश्यक छ । देशभित्रै रोजगाीि पाइने भएपछि विदेशिनु पर्दैन । देशभित्र विकास ठप्प भएको र आन्तरिक रोजगारी सिर्जना हुन नसक्दा ठूलो संख्यामा युवा जनशक्ति रोजगार खोजीमा विदेशी भूमिमा पुगेको हो । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||