| युगसम्बाद साप्ताहिक | ||||
|
बहुमूल्य यार्सा लोप हुने खतरा Wednesday, 08.26.2015, 03:45pm (GMT5.5) काठमाडौं । नेपालको आर्थिक विकासका लागि ‘हिरा’भन्दा बहुमूल्य मानिएको यार्सागुम्बा लोपहुने खतरा बढेको छ । विश्वमा जलवायु परिवर्तनको अत्यधिक प्रभाव पर्ने मुलुकमध्ये एक नेपालमा यसको प्रत्यक्ष असर हिमाली क्षेत्रमा बढी मात्रामा देखिन थालेको छ । जलवायु परिवर्तनले सबभन्दा बढी हिमाललाई असर पुर्याउने भविष्यवाणी भैसकेको छ । हिमतालहरू बढ्दै जानु, तापक्रम बढ्ने, बेमौसममा हिमपात हुनु जलवायु परिवर्तनको असर हो । यससंगै अब बहुमूल्य जडिबुटी यार्सागुम्बालाई समेत असर पारेको थाहा भएको छ । जलवायु परिवर्तनकै कारण सुदूरपश्चिमको बझाङ र दार्चुलाका हिमाली भेगमा पाइने यार्सागुम्बा उत्पादनमा ह्रास आएको छ । जलवायु परिवर्तनको असर र यार्सा सङ्कलन गर्ने समय अनुकूल नहँुदा यस वर्ष यार्सा उत्पादन तथा सङ्कलनमा कमी आएको सरोकारवाला निकायले जनाएका छन् । आर्यआर्जनको राम्रो स्रोत बन्न थालेपछि हिमाली क्षेत्रका सर्वसाधारण महिनाँै दिन घर छाडेर यार्सा सङ्कलनमा जुट्ने गर्दछन् । विद्यार्थी पनि यार्सा सङ्कलनमा जान थालेपछि यार्सा सङ्कलनको समयमा विद्यालय बिदासमेत दिनुपर्ने अवस्था आउने गरेको छ । बझाङ र दार्चुलामा यो वर्ष पनि यार्सा सङ्कलकको सङ्ख्या करिब ८० हजार नाघेको बताइएको छ । “जलवायु परिर्वतन र यार्साको मौसममा परेको पटक–पटकको वर्षाले यार्सा सङ्कलनमा कमी आएको हो”, जिल्ला वन कार्यालय बझाङका नायब सुब्बा गजाधर जोशीले भन्नुभयो । यार्सा सङ्कलनको उपयुक्त समय वैशाख महिनादेखि असारको पहिलो हप्तासम्म मानिए पनि सङ्कलकले असार मसान्तसम्म यार्सा सङ्कलन गर्दा बीउ उत्पादनमा ह्रास आउने गरेको नासु जोशीले बताउनुभयो । यार्सा सङ्कलनका समयमा हिउँ व्यापक पर्दासमेत सङ्कलन हुन नसकेको उहाँको भनाइ छ । त्यसैगरी, यो वर्ष बझाङमा यार्सा उत्पादन गत वर्षको भन्दा दोब्बरले घट्ने सङ्केत देखिएको छ । हालसम्म बझाङबाट यार्सा खरिद गरेर ३५ किलोग्राम यार्सागुम्बाको मात्रै छुटपुर्जी लिइएको छ । “हाम्रो अनुमान एक क्विन्टलसम्म छुटपुर्जी जान्छ होला,” जोशीले भन्नुभयो– “गत वर्ष तीन क्विन्टल ५४ किलोग्रामको छुटपुर्जी लिइएको थियो ।” व्यापारीले स्थानीय यार्सा सङ्कलकबाट खरिद गर्न जिल्ला वन कार्यालयबाट सङ्कलन पुर्जी र जिल्ला बाहिर व्यापारिक प्रयोजनका लागि लैजान छुटपुर्जी लिनुपर्ने हुन्छ । “उस्तै पनि मौसमका कारण सङ्कलन पनि कमै भएको व्यापारीले बताइरहेका छन्,” जोशीले भन्नुभयो – “सङ्कलकले यार्साको भाउ नपाउँदा घरमै जम्मा गरेर राखेको पनि खबर आएको छ ।” बाहिरबाट आउने व्यापारीले राम्रो सामान भए १४÷१५ लाखप्रति किलो खरिद गरिरहेको बताइन्छ । उहाँले भन्नुभयो, “मूल्य नहुँदा सङ्कलकले बेच्न नमानेको व्यापारीको भनाइ छ ।” जिल्ला वन कार्यालय बझाङका वन अधिकृत रमेशबहादुर चन्दले यार्सा सङ्कलनसँगै बझाङका हिमाली भेगमा वन्यजन्तुको सिकार र तस्करी व्यापक भइरहेको बताउनुभयो । “भौगोलिक विकटताका कारण पनि सो क्षेत्रमा राज्यको उपस्थिति हुन सकेको छैन,” उहाँले भन्नुभयो – “यार्सासँगै तस्करीले प्रश्रय पाउँदैछ ।” उहाँले जिल्लास्तरबाट यसको नियन्त्रण सम्भव नभएको बताउनुभयो । बझाङको हिमाली भेग काँडा, धमेना, सुनिकोट, दबाचौउर, दहबगर र सुर्मा गाविस क्षेत्रमा यार्सा सङ्कलन हुन्छ । त्यसैगरी दार्चुलामा पनि यार्सा सङ्कलनमा यस वर्ष कमी आएको अपिनाम्पा संरक्षण क्षेत्रले जनाएको छ । “अहिलेसम्म झन्डै ७७ किलोको छुटपुर्जी गइसकेको छ,” अपिनाम्पा संरक्षण क्षेत्रका सहायक संरक्षण अधिकतृ राजु घिमिरेले भन्नुभयो, “६५ जना व्यापारीले सङ्कलन पुर्जी लगेका छन् ।” उहाँले पनि यार्साको उचित मूल्य नपाइरहेको भन्दै स्थानीय सङ्कलकले यार्सा घरमै राखेको व्यापारीले बताउने गरेको जानकारी दिनुभयो । “राम्रो यार्सामात्रै व्यापारीले खरिद गरेका छन्,” उहाँले भन्नुभयो, “धेरैले यार्सा बिक्री गर्न मानेका छैनन् ।” अपिनाम्पा संरक्षण क्षेत्रको व्यवस्थापन योजनाअनुसार एक हजार १५५ किलोग्राम उत्पादनमध्ये ७५ प्रतिशतमात्रै छुटपुर्जी दिने रणनीति रहेको उहाँको भनाइ छ । गत वर्ष दार्चुलामा आठ क्विन्टलभन्दा बढी यार्सागुम्बा सङ्कलन भएको थियो । यस वर्ष गत वर्षकै हाराहारीमा यार्सा सङ्कलन भएको हुन सक्ने अपिनाम्पा संरक्षण क्षेत्रले अनुमान गरेको छ । यार्सा सङ्कलनका लागि सुदूरपश्चिम तथा मध्यपश्चिमका साथै पूर्वी नेपालबाट पनि सर्वसाधारण दार्चुला र बझाङ पुग्छन् । दार्चुलाको घुसा, खण्डेश्वरी, तितला, गुल्जर, व्यास, राप्लालगायतका उच्च हिमाली भेगमा यार्सा सङ्कलन गर्ने गरिन्छ । गत वैशाखको अन्तिमतिरबाट दार्चुलाको उच्च हिमाली भेगमा यार्सा सङ्कलनका लागि जिल्ला र जिल्ला बाहिरबाट हजारौँको सङ्ख्यामा सङ्कलक यार्सा आउन छाडेपछि फर्किएका थिए । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||