| युगसम्बाद साप्ताहिक | ||||
|
आन्दोलनले पेट भरिंदैन Tuesday, 09.01.2015, 11:51am (GMT5.5) काठमाडौं । नेपालको अन्न भण्डार र औद्योगिक–व्यावसायिक केन्द्र हो तराई । तर, त्यही तराईमा यतिबेला अधिकार प्राप्तिको आन्दोलनका नाममा त्यहाँका निरपेक्ष जनताले पाउनुसम्म सास्ती पाएका छन् । मुलकले खर्बौं खर्बको आर्थिक नोक्सानी व्यहोरिसकेको छ । विभिन्न मागमा विभिन्न समूहले गरेको आन्दोलनले आर्थिक अवस्था चौपट हुने अवस्थामा पुगेको छ । मुलुकको प्रमुख आर्थिक–औद्योगिक क्षेत्रका रुपमा हेरिएको पूर्वाञ्चलमा मात्रै यो अवधिमा ५० अर्बभन्दा बढीका घाटा भएको बताइन्छ । कृषि उपजहरूले बजार पाउन सकेका छैनन् भने राजधानी लगायत अन्य जिल्लाका लागि आयात भएका मालवस्तु पठाउन निषेधाज्ञा लगाउँद सुरक्षा निगरानी बढाउनु परेको छ । एकपछि अर्को राजनीतिक दल र गैरराजनीतिक समूहले बन्द आह्वान गर्दा उद्योगी, व्यापारी, मजदुर र सर्वसाधारण समस्यामा परेका छन् । उद्योग सङ्गठन मोरङका अनुसार बन्दका कारण अधिकांश उद्योगको उत्पादन ठप्प भएको छ । संयुक्त मधेसी मोर्चाको बन्दका कारण सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रसहित पूर्वाञ्चलका विभिन्न जिल्लामा अहिलेसम्म करिब रु ५० अर्ब घाटा भएको छ । उद्योगमा राखिएको कच्चा पदार्थ पनि नष्ट भएर जान थालेको छ । उद्योग सङ्गठनका अध्यक्ष शिवशङ्कर अग्रवालका अनुसार राज्य पक्षबाट शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति नहुँदा उद्योग बन्दकर्ताको निसाना बन्दै जान थालेको छ । निरन्तरको बन्दले व्यापार व्यवसाय चौपट भएको अध्यक्ष अग्रवालको भनाइ छ । स्थानीय प्रशासनले सुरक्षाको प्रत्याभूति दिए उद्योग व्यवसाय खोल्न आफूहरू तयार रहेको उहाँले बताउनुभयो । करिडोर क्षेत्रका उद्योगले दैनिक रु १५ करोड नोक्सान बेहोर्न परेपनि राज्यले बन्द खोल्न चासो नदिएको अग्रवालले आरोप लगाउनुभयो । मजदुर र कर्मचारीको तलब, बिजुली, पर्यटन, व्यापार, उद्योग, होटल सबै क्षेत्रको हिसाब गर्ने हो भने पूर्वाञ्चलमा मात्रै दैनिक रु दुई अर्बभन्दा बढीको नोक्सानी भइरहेको पूर्वाञ्चल उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क दुलालको भनाइ छ । यो क्षेत्रका होटल समेत सुनसान छन् । दश दिनयता यातायात, शैक्षिक संस्था, उद्योग व्यवसायसहित सबै क्षेत्र ठप्प छ । यातायात बन्द हुँदा विराटनगरका सरकारी र निजी अस्पतालमा समेत बिरामीको चाप छैन । विराट व्यापार सङ्घका अध्यक्ष रामजीवन अग्रवाल विद्युत् कटौतीले आक्रान्त बनेका व्यवसायी बन्दको मारमा पर्दा थला परेको बताउनुहुन्छ । त्यसो त सीमा क्षेत्रमा उत्पादन भएको कृषि तथा तरकारी प्नि काठमाडौं लगायतका शहरमा पठाउन नसकिएपछि किसानहरूले भारततर्फ निर्यात गर्न थालेका छन् । आमहडतालका कारण जिल्लाको बजार लामो समयदेखि नखुलेपछि किसानले तरकारी भारतीय बजारतर्फ निर्यात गर्न थालेका हुन् । सिरहाको फूलकाहाकट्टी, पडरिया, धनगढी, गोलबजार, असनपुर, चोहर्वालगायतका स्थानमा करेला, भन्टा, बोडी, हरियो खुर्सानी, घिरौला, काँक्रोलगायतका तरकारीको व्यावसायिकरुपमा खेती हुँदै आएको छ । बन्दका कारण तरकारी जिल्लाका मुख्य बजारमा आपूर्ति हुन नसक्दा छिमेकी मुलुक भारतीय बजारमा निर्यात गर्न बाध्य भएको किसानले बताएका छन् । यहाँका किसानले उत्पादन भएका हरियो तरकारी धेरै समयसम्म घरमै राख्दा बिग्रिने गरेकाले सस्तो मूल्यमा भए पनि भारतीय बजार लौकहा, लदनीयाँ, खुटौना, जयनगरलगायतमा निर्यात गर्दै आएका छन् । फूलकाहाकट्टीका किसान रामस्वरुप महतोले साइकल, मोटरसाइकललगायतका साधनमा बोकेर तरकारी भारतीय बजारसम्म पुर्याउने गरेको बताउनुभयो । जिल्लाका विभिन्न बजारसँगै छिमेकी जिल्ला सप्तरी, उदयपुर, धनुषासहित राजधानीसम्म पुग्ने यहाँका सागसब्जी निरन्तर बन्दका कारण भारतीय बजारतर्फ निर्यात गर्न थालिएको हो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको धनगढी, लहान, पडरिया, छपाराडी, गोलबजार, चोहर्वा, मिरचैया, घुर्मी, बन्दीपुर बस्तीपुरमा लाग्ने साप्ताहिक हाटबजारमा प्रतिमहिना करिब रु दुई करोड मूल्य बराबरको तरकारी बिक्री हुने गथ्र्यो । जिल्लामा तीन हजार ४६६ हेक्टर क्षेत्रफलमा तरकारीखेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत योगेन्द्र यादवले जानकारी दिनुभयो । आन्दोलन पूर्वदेखि–पश्चिमसम्मकै तराईका क्षेत्रमा चलिरहेको छ । त्यहाँको जनजीवन अस्तव्यस्त हुँदैछ । राजनीतिक लाभ लिन आन्दोलनको आव्हान गर्ने र त्यसको नेतृत्व गर्नेहरूलाई समस्याले घेरेको छैन । मर्कामा पर्ने त दैनिक ज्याला मजदुरी गरेर पेट भर्नुपर्नेहरू नै हुन् । त्यस्तै आफ्नो खेतबारीमा उत्पादन भएको उपज बजारमा पठाउन नपाएका किसानहरूको हालत पनि त्यस्तै छ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||