| युगसम्बाद साप्ताहिक | ||||
|
यसपालीको चाडबाड निकै कष्टकर हुने Tuesday, 09.15.2015, 11:44am (GMT5.5) काठमाडौं । वैशाख १२ गते गएको विनाशकारी भूकम्पले अस्तव्यस्त भएको नेपाली अर्थतन्त्र विस्तारै उब्रने संकेत गरिरहेका बेला मधेश आन्दोलन चर्किएको छ । संविधान लेखनको यो घडीमा मच्चिएको आन्दोलनले बजारमा दैनिक उपभोग्य वस्तुको चरम अभाव भएको छ । कालाबजारीयाहरू मोटाउने र आम उपभोक्ताको दैनिक कष्टकर बनिरहेको छ । दैनिक अर्बौंको घाटा भैरहेको छ । आयात र निर्यात लगभग ठप्प छन् भने उद्योग, कलकारखाना चल्न सकेका छैनन् । यसले बेरोजगारी समेत बढाएको छ । विस्तारै नेपालीहरूको प्रमुख चाडपर्व दशैं, तिहार र छठ आउने दिन नजिकिंदैछ । तर, बजारमा बस्तु अभावको संकेत देखिएको छ । तराईमा भैरहेको मधेशवादी आन्दोलनले अहिले नै दैनिक उपभोग्य वस्तुको अभाव र मूल्यवृद्धि भैरहेका बेला यही क्रम जारी रहे दशैं, तिहार र छठताका अरु समस्या पर्ने देखिएको छ । भूकम्पले उत्तरी नाका चीनसंगको व्यापारिक कारोबार पनि ठप्प जस्तै छ । चीनसंगको प्रमुख नाका तातोपानी अझै सहज रुपमा संचालन हुन सकेको छैन । यसले गर्दा चीनबाट आयात हुने लत्ताकपडा तथा विद्युतीय सामग्रीहरू अलपत्र परेका छन् । मधेशवादीको आन्दोलनका कारण दक्षिण नाकामा मालवाहक सवारी साधन अलपत्र परेका निषेधाज्ञा जारी गरेर रातिराति सामान पठउने गरिएको छ । यसले पूर्ण अभाव नभए पनि माग अनुसारको आपूर्ति हुन सकेको छैन । व्यापारीहरू अहिलेको नभै दशैं, तिहारमा के गर्र्ने भन्न चिन्तामा छन् । वर्षभरि भएको घाटा पूर्ति गर्ने गरी व्यापार हुने समय सुरु हुनै लाग्दा बजारमा बस्तुको अभाव हुँदा व्यापारीहरूले दोहोरो मार खेपिरहेका छन् । खास गरी चीनबाट ल्याइएका सामानहरू कोलकत्ता बन्दरगाहमा र भारत सहित अन्य देशबाट आएका सामग्रीहरू नेपालको नाकाका रोकिंदा दैनिक रुपमा विलम्ब शुल्क बढ्दै गएको र यसले गर्दा आगामी दिनमा बजार भाउ आकासिने सम्भावना बढेको व्यापारीहरू बताउँछन् । नेपाल चेम्बर्स अफ कमर्शले दिएको जानकारी अनुसार दैनिक विलम्ब शुल्क तिर्नुपर्ने हुँदा चाडपर्वका बेला सामानको हाहाकार र महंगी समेत बढ्न सक्ने छ । चेम्बर्स अफ कमर्शका भन्सार हेर्ने अधिकारी निरज राईका अनुसार समग्रमा सबै गरी तीन हजारभन्दा बढी कन्टेनरहरू नाकामा फसिरहेको र त्यसमा चीनबाट आइरहेको पाँच सय कन्टेनर अड्किएका छन् । नेपाल हिमालपारी व्यापार संघका सचिव समेत रहेका राईका अनुसार जति दिन कन्टेनर अड्किन्छ त्यहीँ अनुरुप हरेक दिन विलम्ब शुल्क बढिरहन्छ, यसले सामानको दर महंगिने छ भने उपभोक्ताहरूले पनि समयमा सामान नपाउने र मूल्य वृद्धि हुने सम्भावना बढेको छ । नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्ष राजेन्द्र मल्लका अनुसार यस्तै स्थितिले निरन्तरता पाए महिना दिनभित्र नेपाली बजारमा आवश्यक उपभोग्य सामग्रीको हाहाकार हुनसक्छ । अहिले केही समयका लागि महंगोमा सामान पाइएला तर यसरी नै निरन्तरता भए एक महिनाभित्र ठूलो समस्या देखिनेछ, सामानको अभाव हुने पक्का रहेको मल्लको दावी छ । अहिले तराई क्षेत्रमा चर्केको आन्दोलनका कारण वीरगञ्ज, भैरहवा र विराटनगरका व्यापारिक नाकाहरू पनि अवरुद्ध भएपछि आवश्यक सामग्रीहरू नेपाल भित्रिन सकेको छैन । त्यसो त समस्या सामाग्री भित्र्याउनमा मात्र होइन नेपालबाट बाहिर पठाइने सामान समेत रोकिन पुग्दा नेपाली ब्यापारीको अन्तर्राष्ट्रिय छवि समेत बिग्रिन पुगेको । त्यस्तै काठमाडौंबाट जिल्लाजिल्लामा पुर्याउनुपर्ने सामानहरू पनि रोकिएका छन् । आर्थिक विश्लेषकहरू अहिलेको आन्दोलन मुलुकलाई केही समय सकय भए पनि भविष्यको राम्रोका लागि पक्कै हैन । नियोजित रुपमा नेपाललाई आर्थिक रुपमा तहसनहस पार्ने षड्यन्त्र हो भन्दछन् । तीनतिरबाट भारतवेष्ठित नेपालको अर्थतन्त्र पनि भारत निर्भर छ । नेपालले निर्यात गर्ने कूल बस्तुको आम्दानीले भारतबाट पेट्रोलियम पदार्थ पनि किन्न पुग्दैन । गरीब नेपालीहरूले खाडीको मरुभूमिमा पसिना चुहाएर कमाएको पैसाले आयात धानिएको छ । भारतसंगको व्यापार घाटा तुलनै गर्न नसकिने गरी चुलिंदै गएको छ । यस्तोमा भारतकै कृपा रहेको भनिने तराईमा मच्चाइएको आन्दोलनले तराईबासीको कति हित गरेको छ ? विचारणीय विषय छ । भारतकै कारण सबैभन्दा बढी समस्यामा पर्ने सोझा तराईबासीलाई भड्काएर उनीहरूको जीवन कष्टकर बनाउने र त्यसको लाभ केही व्यक्तिले लिने प्रवृत्तिले गर्दा मुलुक आर्थिक रुपमा उठ्न नसक्ने गरी भास्सिन पुगेको छ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||