| युगसम्बाद साप्ताहिक | ||||
|
आम्दानीको ९७ प्रतिशत उपभोगमा खर्च हुन्छ Tuesday, 09.22.2015, 12:57pm (GMT5.5) काठमाडौं । नेपालीको आम्दानीको प्रमुख स्रोत वैदेशिक रोजगारी हो । नेपाल सरकारको आयात धान्नदेखि लिएर जनताको चुलो बाल्ने काम समेत यसैले गरेको छ । ७ खर्बभन्दा बढी रुपैयाँ वार्षिक रुपमा भित्रिए पनि त्यसको उत्पादनमूलक खर्च हुन सकेको छैन । यस्तोमा मुलुकमा बचत गर्ने बानी बसाल्न सकिएको छैन, उत्पादमूलक कार्यमा लगउने योजना पनि छैन । त्यसैले त जनताले आफ्नो आम्दानीको ९७ प्रतिशत रकम खाएरै सक्नेगरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘पाँचौँ पारिवारिक बजेट सर्वेक्षण’ले त्यस्तो देखाएको हो । नेपालको प्रतिपरिवारले कुल कमाइको ९७ प्रतिशत उपभोग्य वस्तुमा खरीद गर्ने र बाँकी रहेको ३ प्रतिशत रकम बचत हुने देखाएको छ । प्रत्येक दश वर्षमा गरिने सो सर्वेक्षणको पछिल्लो प्रतिवेदनले घरपरिवारको औसत खर्च मासिक रु २५ हजार ९२८ रहेको छ भने आम्दानी रु ३० हजार १२१ रहेको छ । जसमध्ये उपभोग खर्च रु २३ हजार ८८३ र गैरउपभोग खर्च रु दुई हजार ४५ रहेको छ । राष्ट्र बैंकको अनुसन्धान विभागले दुई वर्ष लगाएर तयार गरेको प्रतिवेदनका अनुसार आम्दानीको सबैभन्दा बढी खर्च घरभाडा, पानी, विजुली, ग्यास र अन्य इन्धनमा हुने गरेको छ । आर्थिक वर्ष २०६२।६३ को सर्वेक्षणअनुसार आम्दानीको १०.८७ प्रतिशत खर्च हुने गरेको थियो भने आर्थिक वर्ष २०७१।७२ को सर्वेक्षणअनुसार आम्दानीको २०.३० प्रतिशत खर्च हुने गरेको छ । राष्ट्र बैंकले सर्वेक्षणका लागि मुलुकका ५५ जिल्लाका कुल ८४ बजार केन्द्रबाट आठ हजार २८ घरपरिवारलाई समावेश २०७० फागुन १ गतेदेखि २०७१ माघ मसान्तसम्म गरेको खर्चलाई समावेश गरेको जनाएको छ । राष्ट्र बैंकका अनुसन्धान विभागका प्रमुख नरबहादुर थापाले पछिल्लो अध्ययन राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्कलाई आवधिक गर्न घरपरिवारले उपभोग गर्ने वस्तु र सेवाको विवरण सङ्कन गरिएको बताउनु भयो । उहाँले परिमार्जित भार सहितको वस्तु तथा सेवाको कुल एक हजार १६५ वटा वस्तुको सेवा मध्ये ४९६ वटा वस्तु तथा सेवाको डालो तयार गरिएको जानकारी दिनु भयो । अघिल्लो सर्वेक्षणको तुलनामा यस्तो डालोमा ८६ वटा सेवा तथा वस्तु बढी समावेश गरिएको छ । सर्वेक्षणअनुसार खाद्य तथा पेय पदार्थमा गरिने खर्च प्रतिशतमा कमी आएको छ भने गैरखाद्य तथा सेवामा गरिने खर्च बढेको देखाएको छ । अघिल्लो सर्वेक्षणमा ४६.९२ प्रतिशतको उपभोक्ता मूल्य सूचकाङ्क थियो भने नयाँ उपभोक्ता मूल्य सूचकाङ्क ४३.९१ मात्र छ । त्यसैगरी अघिल्लो सर्वेक्षणका अनुसार गैरखाद्य तथा सेवामा ५३.१८ प्रतिशतको उपभोक्ता मूल्य सूचकाङ्क थियो भने नयाँ सर्वेक्षणअनुसार ५६.०९ प्रतिशत रहेको छ । प्रमुख थापाका अनुसार ४९६ वस्तु तथा सेवाले घरपरिवारको कूल उपभोग खर्चको ९७ प्रतिशत खर्च समेटिएको छ । सर्वेक्षणका लागि छानिएका सम्पूर्ण घरपरिवारमध्ये कम्तीमा ५० प्रतिशत घरपरिवारले सर्वेक्षण अवधिमा उपभोग गरेको वस्तु तथा सेवा समेटिएको छ । सो अवसरमा राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवि नेपालले मानिसको जीवनशैलीमा चाँडो परिवर्तन भइरहेकाले तथ्याङ्कलाई यथार्थपरक बनाउनका लागि १० वर्षको बीचमा गरिने सर्वेक्षणको समयावधी कम गर्नुपर्ने बताउनुभयो । वरिष्ठ डेप्युटी गभर्नर तथा सर्वेक्षणका संयोजक गोपालप्रसाद काफ्लेले विगतको सर्वेक्षणभन्दा बढी यथार्थपरक, वैज्ञानिक एवम् व्यावहारिक भएको उल्लेख गर्नुभयो । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||