| युगसम्बाद साप्ताहिक | ||||
|
चितवनको पर्यटन क्षेत्रमा पाँच अर्ब लगानी Tuesday, 09.29.2015, 11:48am (GMT5.5) वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि नेपालको पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको छ । भूकम्पले असुरक्षित नभए पनि गलत सन्देश प्रवाहका कारण पर्यटक आगमनमा ठूलो समस्या उत्पन्न भरहेको छ । यस्तोमा नेपालको पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश विश्वव्यापी गर्नुपर्नेमा व्यवसायीले जोड दिइरहेका छन् । यसै क्रममा विश्व पर्यटन दिवसका अवसरमा आइतबार मुलुकको दोस्रो प्रमुख पर्यटकीय गन्तव्य चितवनको भरतपुरमा भएको एक कार्यक्रममा व्यवसायीहरूले चितवनको पर्यटन क्षेत्रमा मात्रै करिब रु पाँच अर्ब लगानी भएको छ । जनआन्दोलन २०६२।६३ पछि जिल्लामा पर्यटन व्यवसाय फस्टाउँदै गएको पर्यटन विकास समितिका अध्यक्ष दिलीप मैनालीले जानकारी दिनुभयो । शान्ति प्रक्रियापछि नेपालमा पर्यटन व्यवसाय बढेको हो । सो समयपछि रु १० करोड बढीका होटल जिल्लामा दर्जन बढी खुलेका छन् । नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा चिनिएको सौराहा तथा मेघौली, पटिहानी, जगतपुर, राइचुली, लामो झरना, परेवाकोट देवघाटलगायत क्षेत्र पर्यटकीय दृष्टिले महत्वपूर्ण छ । सुरक्षित गन्तव्य नेपाल भनेर विश्वमा पहिचान गराउनसके फेरि पुरानै अवस्थामा पर्यटन व्यवसाय फर्किने क्षेत्रीय होटल सङ्घका प्रथम उपाध्यक्ष सुमन घिमिरेले बताउनुभयो । जिल्लामा अहिले स्टार तहका करिब ३० वटा होटल छन् । सौराहामा मात्रै करिब १०० होटल छन् । तर अहिले भूकम्पपछि भने बैंकको ऋणसमेत तिर्न नसक्ने अवस्था भएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने व्यवसायी बताउँछन् । चितवन निकुञ्जको तथ्याङ्कमा वार्षिक करिब दुई लाख पर्यटन आउने देखाएको भए पनि जिल्लामा समग्रमा चार लाख पर्यटक वार्षिक आउने गरेको समितिले जनाएको छ । नेपाल सुरक्षित छ भन्ने सन्देश फैलाउनुपर्छ सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पर्यटन नेपालको अर्थतन्त्रको आधार रहेकाले पर्यटकलाई नेपाल सुरक्षित छ भन्ने सन्देश फैलाउन सबै पक्ष लाग्नुपर्ने बताउनुभएको छ । विश्व पर्यटन दिवसका अवसरमा छिरिङमा टे«क्स एण्ड एक्स्पिडिसनले आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री पण्डितले सरकारको प्राथमिकतामा पर्यटन क्षेत्र रहेकाले यसलाई विशेष महत्वका साथ अघि बढाउने बताउँदै पुनःनिर्माणका क्रममा पर्यटन क्षेत्रलाई अझै व्यवस्थित बनाउनेमा जोड दिनुभयो । मन्त्री पण्डितले विश्वमा कहीँ पनि सर्वसम्मत संविधान जारी नभएको उल्लेख गर्दै नेपाली जनताको आवश्यकताअनुसार संशोधन हुने किसिमको नेपालको संविधान जारी भएको दाबी गर्नुभयो । संविधानको विषयमा ठीक ढङ्गले नबुझेकाले संविधानको विरोधमा आन्दोलन भइरहेको भन्दै उहाँले भन्नुभयो– “आन्दोलनका नाजायज मागलाई कुनै पनि हालतमा मान्न सकिँदैन ।” नेपाल पर्यटन बोर्डका सदस्य घनेन्द्र श्रेष्ठले पर्यटन क्षेत्रको मेरुदण्ड पर्वतारोहण भएकाले यसको पुनःउत्थानका लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङ छिरिङ शेर्पाले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने र रोजगारी सिर्जना गर्ने यो क्षेत्रलाई अगाडि बढाउन आफूहरू लागिपरेको बताउनुभयो । कार्यक्रममा पर्वतारोही याङ दन शेर्पा, आङ फुर्वा, नोर्बु शेर्पालगायतलाई सम्मान गरिएको थियो । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||