| युगसम्बाद साप्ताहिक | ||||
|
अर्थव्यवस्था ऋणात्मक बन्दै Tuesday, 12.01.2015, 03:01pm (GMT5.5) काठमाडौं । अघिल्लो सरकारले पेश गरेको आर्थिक वर्ष २०७२।०७३ को वार्षिक बजेटमा नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । तर, संविान जारी भएपछि भारतले लगाएको नाकाबन्दी र मधेश आन्दोलनका कारण मुलुकको अर्थव्यवस्था ऋणात्मक बन्दैगएको छ । इन्धनको अभावले विकास निर्माणदेखि जनताको दैनिकीमा ठूलो संकट उत्पन्न गरेको छ । कालोबजारी मौलाएको छ । यससंगै राजश्व संकलनमा गम्भीर असर परेको छ । वैदेशिक रोजगारीले अहिले मेरुदण्डको काम गरिरहेको छ । मुलुकका प्रमुख भन्सार नाकहरू सुनसना जस्तै छन् । नाकाबन्दीका कारण दैनिक उठ्ने गरेको राजश्वमा व्यापक कटैती भएको छ । देशभरको भन्सारको स्थिति नाजुक छ । यसबीचमा देशकै भन्सार राजस्व सङ्कलनको दोस्रो स्थानमा रहेको भैरहवा भन्सार कार्यालयको राजस्व असुलीको तथ्याङ्क अनुसार अघिल्लो आवको तुलनामा कात्तिक महिनासम्ममा ५.१४ प्रतिशतले कम राजस्व असुली भएको छ । अघिल्लो आव २०७१।७२ को यसै अवधिमा १८.४४ प्रतिशत बढी राजस्व असुली भएको थियो । भन्सार विभागले यस कार्यालयलाई आव २०७२।७३ का लागि कुल लक्ष्य रु ३० अर्ब ११ करोड ५७ लाख राजस्व सङ्कलन लक्ष्य तोकेको छ । चालु आवको चार महिना अर्थात कात्तिक महिनासम्मको जम्मा लक्ष्य रु नौ अर्ब तीन करोड ४७ लाख रहेकामा भारतको अघोषित नाकाबन्दीका कारण लक्ष्यभन्दा कम अर्थात रु सात अर्ब ६८ करोड ५१ लाख राजस्व असुली भएको भन्सार कार्यालयले जनाएको छ । यो राजस्व सङ्कलन वार्षिक लक्ष्यमा कात्तिक महिनासम्मको असुली प्रगति २५.५२ प्रतिशत रहेको र कात्तिक महिनासम्मको लक्ष्यमा असुली प्रगति प्रतिशत ८५.०६ प्रतिशत रहेको कार्यालयले जनाएको छ । कार्यालयले यो आव २०७२।७३ को चार महिनाको अवधिमा भन्सार महसुलतर्फ रु तीन अर्ब ६४ करोड ७१ लाख असुलीको लक्ष्य राखेकोमा यस अवधिमा रु तीन अर्ब ३८ करोड ४३ लाख असुली गरी ९२.७९ प्रतिशत लक्ष्य हासिल गरेको पाइएको छ । यस्तै, यस अवधिमा मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ रु चार अर्ब छ करोड १४ लाख लक्ष्य रहेकामा रु दुई अर्ब ९८ करोड २० लाख असुली भएको छ । साथै, अन्तःशुल्कतर्फ रु एक अर्ब ३२ करोड ६२ लाखको लक्ष्य रहेकामा रु एक अर्ब ३१ करोड ८९ लाख सङ्कलन भएको छ । कार्यालयले चालु आवको पहिलो महिना साउनमा रु एक अर्ब ८० करोड ६९ लाख राजस्व सङ्कलनको लक्ष्य राखेकामा रु एक अर्ब ९६ करोड १३ लाख राजस्व सङ्कलन गर्न सफल भएको छ । यो १०८.५४ प्रतिशत लक्ष्य असुली हो । चालु वर्षको भदौ महिनामा रु दुई अर्ब ५५ करोड ९८ लाख राजस्व सङ्कलनको लक्ष्य राखेकोमा यो भन्सार कार्यालयले रु दुई अर्ब ३१ करोड ८१ लाख राजस्व उठाएर ९०.५६ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । यस्तै, पहिलो त्रैमासिक महिना असोजमा रु दुई अर्ब २५ करोड ८७ लाख लक्ष्य रहेकामा झन्डै ६६.४२ प्रतिशत लक्ष्य असुली प्राप्त गरी रु एक अर्ब ५० करोड एक लाख राजस्व सङ्कलन भएको तथ्याङ्कले देखाएको छ । आवको कात्तिक महिनामा राखिएको लक्ष्य रु दुई अर्ब ४० करोड ९३ लाख भएकोमा रु एक अर्ब ९० करोड ५७ लाख उठेको छ जुन ७९.१० प्रतिशत लक्ष्य असुली हो । चालु आवको मङ्सिर महिनामा १० गतेसम्ममा राखिएको लक्ष्य करिब रु आठ करोड ३० लाख रहेकामा रु एक अर्ब आठ करोड ६८ लाख अर्थात् १३०.८१ प्रतिशत लक्ष्य हासिल भएको देखिन्छ । यो भन्सार नाका हँुदै आयात हुने प्रमुख वस्तुमा एमएस बिलेट, पेट्रोलियम पदार्थ, क्लिङ्कर, सिमेन्ट, सिङ्गल पिकअप गाडी, जिपजस्ता चारपाङ्ग्रे सवारी साधन, मोटरसाइकल, मार्बल तथा टायल, खाद्यान्न, फलफूल तथा आलु प्याज हुन् । पछिल्लो समय इन्धन कमै मात्र भित्रिएको छ भने केही मात्रामा खाद्यान्न तथा तरकारी र फलफूल बोकेका सवारी भने भित्रिने गरेका छन् । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||