| युगसम्बाद साप्ताहिक | ||||
|
भारतको एकलौटी बजार विस्तारको प्रस्ताव Tuesday, 12.06.2011, 11:50am (GMT5.5) भारतले नेपालमा भारतीय उत्पादनको एकलौटी बजार विस्तारका लागि तेस्रो मुलुकबाट आयात हुने वस्तुहरूमा २० प्रतिशत राजस्व बढाउन प्रस्ताव गरेको छ । नेपालको आयात व्यापारमा भारतसंगको निर्भरता हरेक वर्ष बढ्दै गएको छ र त्यो ७० प्रतिशतको हाराहारीमा पुगेको छ तापनि भारतले थप बजार विस्तारका लागि नेपालमाथि दवाव सुरु गरेको छ । नेपालमा भारतीय उत्पादनको निर्वाध र प्रतिस्पर्धाहीन प्रवेश भए पनि भारतले त्यत्तिमा चित्त बुझाएको छैन । नेपालको बजारलाई पूरै आफ्नो नियन्त्रणमा राख्न भारतले तेस्रो मुलुकबाट आयात हुने वस्तुमा करभार थपेर भारतीय उत्पादनका सामु प्रतिस्पर्धा गर्न नसक्ने स्थिति सिर्जना गर्न चाहेको छ । केही समय अघि नयाँ दिल्लीमा भएको विवादास्पद बिप्पा सम्झौता र हालै नेपालमा भएको दोहोरो कर हटाउने सम्झौता पछि नेपालको बजारलाई पूरै कब्जा गर्न भारत अरु हौसिएको छ । हिजो नयाँ दिल्लीमा सुरुभएको नेपाल भारत वाणिज्य सचिवस्तरीय वार्तामा भारतले अगाडि सारेका प्रस्तावहरू नेपाललाई पूरै आर्थिक उपनिवेश बनाउने दिशामा अग्रसर छन् । दिल्ली निर्देशनको राजनीतिले पूरै जरा गाड्दै गेरहेको पृष्टभूमिमा भारतीय लगानी विस्तारविना नेपालको आर्थिक विकास नहुने सिद्धान्त वर्तमान सरकारले प्रतिपादन गरेको बेला भारतीय बजारको थप विस्तारको आकांक्षा मुखरित भएको छ । नेपालको सीमित उत्पादनलाई भारतीय बजार प्रवेशमा जति सक्यो अंकुश लगाउने र नेपालको बजार पूरै कब्जा गर्ने आकांक्षाले प्रेरित भारतीय नीतिले स्वाधीन अर्थतन्त्रको विकासका ठूलो तगारो हालेको छ । भावी दिनहरू अरु चुनौतिपूर्ण हुने सन्देश तेस्रो मुलुकबाट हुने आयातलाई निरुत्साहित गर्न भारतले राखेको राजस्व वृद्धिको प्रस्ताव नै काफी छ । नेपालको कृषि उत्पादनले भारतीय कृषि उत्पादनसित प्रतिस्पर्धा गर्न नसकिरहेको बेला भारतले उल्टै कृषि शुल्क हटाउन नेपाललाई दवाव दिइरहेको छ । खुला सिमानाका कारण भारतीय कृषि पैदावारको अनधिकृत प्रवेशको बढ्दो गतिले नेपालले निर्धारण गरेको कृषि सुधार शुल्क देखाउने दाँत मात्रै भएको छ र भारतीय उत्पादनसंग प्रतिस्पर्धा गर्न नसकेर नेपाली किसानहरूले आफ्नो उत्पादनको सही मूल्य पाउन सकेका छैनन् भने देखाउनकै लागि मात्र जस्तो रहेको कृषि सुधार शुल्क पनि हटाउने हो भने नेपालको कृषि उत्पादनले नेपालको सीमित बजारमा पनि प्रतिस्पर्धा गर्न नसक्ने र नेपाली किसानहरू ठूलो मारमा पर्ने निश्चित छ । नेपालको आर्थिक विकास अहिले अधोगतिमा छ । दशवर्षे जनयुद्धकालका कुरा विस्मृतिमा राखेर पाँच वर्षयताका गतिविधिलाई मात्र केलाउने हो भने पनि आर्थिक विकासका बाटाहरू अबरुद्ध नै छन् । वैदेशिक रोजगारीबाट भित्रिएको बिप्रेषणको ठूलो अंश भारतीय उत्पादनको खरिदमा नै खर्च भैरहेको छ । विप्रेषणबाट आएको रकम बरावरको व्यापार घाटा भारतसंग छ । भारतले वाणिज्य सन्धिको प्रावधान विपरीत नेपालको उत्पादनलाई भारत प्रवेशमा अंकुश लगाउँदै अतिरिक्त करभार थपेको छ । नेपालको चिया, कफी, जुट जस्ता कृषि पैदावारले पनि भारतमा अतिरिक्त करभार व्यहोर्नु परेको छ । भारतले नेपालबाट निर्यातको सम्भावना रहेका १ सय ६२ वस्तुमाथि अन्यायपूर्ण ढंगले अतिरिक्त कर लगाएको छ । निर्यातकर्ताहरूले जति नै आवाज उठाए पनि सन्धि प्रावधान अनुरुपको व्यवहार अपनाउन भारत सहमत छैन । यहाँ नीतिको होइन नियतको कुरा छ । नीति एकातिर नियत अर्कोतिर । भारतले नेपालमा भारतीयहरूकै लगानीमा भएको उत्पादनलाई समेत सहज बजार दिएको छैन । नियत नफेरिएसम्म नीतिले कुनै काम नगर्ने अहिलेसम्मका घटनाले सिद्ध गरेका छन् । नेपाल र भारतबीच भएका सम्झौता र समझदारीहरू भारतको हकमा लागु हुने तर नेपालको पक्षमा लागु नहुने परम्पराले गर्दा नेपालले वाञ्छित लाभ पनि उठाउन सकेको छैन । नेपालका सत्ताधारीहरूमा राष्ट्रहितको रक्षा कसरी गर्ने भन्ने चेतना र जवाफदेहिताबोधको कमीले गर्दा सम्झौता र समझदारीको सही कार्यान्वयन हुने गरेको छैन । नेपालले तेस्रो देशसंग आयात निर्यात व्यापारका लागि बिशाखापटनम् बन्दरगाह उपयोग गर्न पाउनेबारे सहमति भएको लामो समय बितिसक्दा पनि त्यसको कार्यान्वयन नहुँदा नेपालको आयात निर्यात व्यापारले ठूलो आथिर्क भार व्यहोरिरहनु परेको छ । यस्तै पेट्रोलियम ढुवानी सरल बनाउन भारतले रक्सौल अमलेखगञ्जबीच ४१ किलोमिटर लामो पाइप बिछ्याउने सहमति गरेर पनि त्यसको कार्यान्वयनमा कुनै चासो देखाएको छैन । नेपालले यसमा पटकपटक आग्रह गरे पनि भारतले सुनेको नसुनेकै गरेको छ । नेपालको हितमा उपयोग हुनसक्ने पूर्व सहमति र सम्झौताहरूको पालनामा भारतीय अधिकारीहरू कहिल्यै पनि उत्साहित देखिने गरेका छैनन्, हेपाहा र अनुदारवादी चरित्रमा कुनै परिवर्तन छैन । भारतले नेपालका सत्ताधारीहरूको कमजोरी र कर्मचारीवर्गको निरीहताबाट सधै अनपेक्षित लाभ उठाउने गरेको कटु यथार्थ नै हो । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||