युगसम्बाद साप्ताहिक

कामको खोजीमा नेपाली भारत जाने, भारतीय यहाँ आउने
Wednesday, 11.23.2016, 01:32pm (GMT5.5)

नेपालमा काम छैन भन्दै दैनिक दुई हजारभन्दा बढी नेपाली युवा विदेशिन्छन् । झण्डै सोही संख्यामा युवाहरू भारतमा कामको खोजीमा जान्छन् । तर आश्चर्यलाग्दो विषय के छ भने भारतीयहरू चाहिं कामको खोजीमा नेपाल आउँछन् ।

केही वर्षयता युवाहरू आफ्नो खेतबारीको काम गर्न छोडेर मलेसिया र दुबई जान थालेपछि काठमाडौं उपत्यकाका काँठमा खेतीपानी गर्ने काममा भारतीय सक्रिय छन् । खेतीपानीको याममा काम गर्नेहरूको ठूलो अभाव छ र यसैको फाइदा भारतीयहरूले उठाइरहेका छन् । यो प्रवृत्ति पहाडदेखि तराईसम्मै बढ्दो छ । 

एउटा उदाहरण– सीमावर्ती भारतको रक्सौल बस्ने व्यास मुखिया एकाबिहानै साइकलमा एक टोकरी स्याउ लिएर वीरगन्जको मीना बजारमा आउने गर्दछन् र दिनभरि व्यापार गरी साँझपख घर फर्किने गर्दछन् । कामको खोजीमा कालापहाड जाने नेपालीको संख्या धेरै भए पनि सीमापारिका भारतीय नागरिकले भने वीरगन्ज बजारमा सजिलैसँग व्यापार गरी आर्थिक लाभ लिने गरेका छन् ।

भारतको उत्तर प्रदेश, हरियाणा, पञ्जाब, दिल्ली लगायतका ठाउँमा पुग्ने नेपाली कामदार त्यहाँ खेतीपाती, सडकको काम तथा नोकरी गर्ने गरेका छन् भने भारतीय नागरिकका लागि नेपाली बजार सुलभ व्यवसाय गरिने थलोका रुपमा विकसित हुने गरेको छ । सीमावर्ती भारतीय बजार तथा गाउँबाट दैनिक एक हजारभन्दा बढी भारतीय वीरगन्जबजारमा आई किराना पसल, चिया पसल, खाजा पसल, तरकारी व्यापार लगायतका व्यवसाय गरी साँझपख मोटो रकम लिई आफ्नो घर भारत फर्किने गरेको उनीहरूको दिनचर्या रहेको छ ।

भारतीय व्यापारीले दैनिक रु १० लाखभन्दा बढीको व्यापार गरेका छन् भने नेपाली कडा परिश्रम गर्न कालापहाड जाने गरेका छन् । कामको खोजीमा कालापहाड जाने भनी पर्सा, बारा, रौतहट, मकवापुर, चितवन लगायतका ग्रामीण क्षेत्रका युवा भारत जाने गरेका छन् भने भारतका विभिन्न ठाउँमा करिब ६ महिना काम गरी स्वदेश फर्किने गर्दछन् ।

तर सीमापारि भारतबाट आउने फुट्कर व्यापारीले विभिन्न मौसम अनुसारको व्यापार गरी आर्थिक लाभ लिँदै आएका छन् । उनीहरू फुट्कर व्यापारबाहेक सिकर्मी, डकर्मी, सिरक, डसना बनाउनाका साथै ढुङ्गा, माटोका काम, घर बनाउने, रङ लगाउने जस्ता काम गर्दछन् । सीमापारि भारतबाट कामको खोजीमा वीरगन्ज आउने कामदार व्यापार गर्नुका साथै यहाँका कलकारखानामा समेत काम गर्ने गरेका छन् । यहाँ आधाजसो काम गर्ने त भारतीय नै छन् ।

मीना बजारका अर्का व्यापारी वीरेन्द्रप्रसाद साह भन्नुहुन्छ, “भारतीय सजिलो तरिकाले वीरगन्जमा आएर व्यापार गर्छन् तर नेपाली कामका लागि कालापहाड जानु दुःखद हो । ती व्यापारी वीरगन्जका कुनाकाप्चा, टोलगल्लीमा गई सिरक, डसना बनाउने र आर्थिक लाभ लिने गर्छन् तर नेपाली भने अन्यत्र जान्छन् । आफ्नो गाउँसहरमा मिहेनत गरी सुन फलाउन सकिन्छ ।”


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com