युगसम्बाद साप्ताहिक

अर्को दशैंमा मेलम्चीको पानी
Tuesday, 11.29.2016, 10:59am (GMT5.5)

देशको एक मात्र महानगर राजधानी काठमाडौं उपत्यकालाई पुग्ने पानी ल्याउन सुरु गरिएको मेलम्ची खानेपानी आयोजनाबाट आउने दशैंसम्म पानी वितरण हुने आशा पलाएको छ । केही दिन अघि व्यवस्थापिका संसदको विकास समितिका सभापति रवीन्द्र अधिकारी नेतृत्वको टोलीले उपत्यकामा गरेको स्थलगत निरीक्षणछि सो आशा पलाएको हो । 

राजधानीमा खानेपानी भित्र्याउने सपना बाँडिएको दुई दशक पुग्न लागिसक्दा कहिले कुन मितिमा त कहिले कुन मितिमा गर्दै आयोजना सम्पन्न गर्ने तारिख बदलिइरहेको अवस्थामा अब भने यो आयोजना २०७४ असोजसम्ममा सम्पन्न हुने आशा पलाएको छ । 

यतिबेला खानेपानीको पाइप बिच्छाउने काम लगभग सत्तरी प्रतिशत सम्पन्न भएको छ । २०७४ असोज सम्ममा मेलम्चीको पनि सुन्दरीजल स्थित केन्द्रमा आइपुग्ने र वितरण प्रणाली सुधार गर्दै उपभोक्तासमक्ष पु¥याउने तयारी जारी रहेको छ । काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका लागि ल्याउन लागिएको मेलम्चीको पानी प्रशोधन केन्द्र निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ ।

बिसं २०५५।५६ मा सुरु भएको आयोजना २०७४।७५ भने आयोजना समापन गर्ने लक्ष्य लिएको छ । मेलम्ची खानेपानी आयोजनाले सुरुङ्ग निर्माणको कार्य २०७४ असोजमा सम्पन्न गरी कम्तिमा १७ करोड लिटर पानी वितरण गर्ने योजना रहेको छ । 

काठमाडौं उपत्यकाका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका योजना प्रवन्धक नन्दबहादुर खनालले, काठमाडौंको चक्रपथ भित्र बालुवाटार, चण्डोल, रानीबारी, महाराजगन्ज लगायतका केही क्षेत्रबाहेक सबै ठाउँमा नयाँ पाइप लाइन बिच्छाउने कार्य सकिएको भन्दै नेपाल जापान डट कमलाई बताउनु भयो । घर घरमा पानी पु¥याउने नयाँ प्रणाली स्थापनाको लागि अहिले चक्रपथ भित्रका विभिन्न ठाउमा पाईप बिछ्याउने कार्य भैरहेको छ ।

मेलम्चीको पानी शंकलनका लागि आरुबारी, महाराजगन्ज, बालाजु, खुमलटारलगायतका नौं ठाउँमा ७५ लाखदेखि ९५ लाखसम्मका पानी पोखरी बनाउने काम भइरहेको छ । 

त्यस्तै पानी काठमाडौं ल्याउन सुरूङ खन्नुपर्ने काम लगभग ८० प्रतिशत सकिएको छ ।  २७ किलोमिटर सुरुङ खन्नुपर्ने भएको अहिले २१ किलोमिटर खनिसकेको र अब  ६ किलोमिटर मात्र काम बाँकी छ । आयोजनाले सिन्धु, ग्यालथुमको दुई ठाउँ, सुन्दरीजलको दुई ठाउँ र अम्बाथानको तीन ठाउँबाट सुरूङ खनिरहेको छ ।

अधिकारी नेतृत्वको टोलीलाई पानी प्रशोधन केन्द्र निर्माणको जानकारी दिँदै मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले आठ करोड ५० लाख लि पानी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिंदै आउँदो फागुनसम्ममा केन्द्रले  निर्माण सक्ने बताउनु भयो । उहाँले आठ करोड ५० लाख लिटर पानी संशोधन केन्द्र निर्माणको कार्य भनर आगामी पुसदेखि सुरु गर्ने र त्यसका लागि टेन्डर आह्वान भएको जानकारी दिनुभयो  । 

त्यस्तै पानीको पाइप बिच्छाउने क्रममा सरकारका दुई निकायबीच समन्वय नहुँदा बिभन्न समस्या झेल्नु परेको आयोजनाका अधिकारीले बताए । काठमाडौंको शान्तिनगरमा स्वीकृत लिएर पाइप बिच्छाइ सकेपछि सडक बिभागले फेरि सडक बिस्तारका क्रममा त्यसलाई भत्काएको र पाइप बिच्छाइएको झण्डै ७ प्रतिशत ठाउँमा सडक बिभागले सडक बिस्तारका क्रममा भत्काएको योजनाका प्रवन्धक नन्दबहादुर खनालले बताउनुभयो । मेलम्चीको पानी वितरणका लागि उपत्यकामा बिच्छाउनुपर्ने ६७० किमी पाइपलाइनमध्ये ४१९ किमीको काम सम्पन्न भएको छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com