युगसम्बाद साप्ताहिक

नेपाल आलुमा आत्मनिर्भर बन्दै
Tuesday, 12.20.2016, 12:01pm (GMT5.5)

कृषि प्रधान मुलुक नेपाल खाद्यान्नमा परनिर्भर छ । यस्तोमा आलुमा भने आत्मनिर्भर हुने बाटोतिर उन्मुख देखिएको छ । व्यावसायिक रूपमा खेती बढ्दै गएपछि नेपाल केही वर्षमा नै आलुमा आत्मनिर्भर बन्ने देखिएको छ । 

अहिले वार्षिक करिब १० प्रतिशत मात्रै आलु आयात भइरहेको नेपाल कृषि अनुसन्धान परिषद(नार्क)अन्तर्गतको आलु विकास कार्यक्रमले जनाएको छ । वार्षिक दुई लाख ५० हजार टनदेखि तीन लाख टनसम्म आलु आयात भइरहेको वरिष्ठ आलु विकास अधिकृत श्यामप्रसाद ढकालले जानकारी दिनुभयो ।

“एक दशमलव ५ टन प्रतिहेक्टर उत्पादकत्व बढाउँदा मुलुक केही वर्षमा नै आत्मनिर्भर हुनसक्छ,” उहाँले भन्नुभयो । अघिल्लो वर्ष बीउ र ताजा गरेर २४ करोड २४ लाख ५३ हजार ६१ किलो आलु आयात भएको थियो भने २४ लाख २७ हजार २७४ किलो निर्यात भएको थियो ।

देशभरको तथ्याङ्कलाई हेर्दा आलुको उत्पादन क्षेत्र घटेको छ । मुलुकको मध्यपहाडी क्षेत्रमा आलु उत्पादनमा कमी आएको छ । ठूलो परिमाणमा उत्पादन गर्ने किसान बढेकाले कूल उत्पादन र उत्पादकत्व बर्सेनि बढिरहेको ढकाल बताउनुहुन्छ । “ठूलो परिमाणमा र व्यावसायिक रूपमा आलुखेती गर्ने किसानको सङ्ख्या बढिरहेको छ,” उहाँले भन्नुभयो । 

मुलुकभरि आलुखेती हुँदै आएको छ । समुद्री सतहबाट ८७ मिटरदेखि चार हजार मिटरसम्म आलुखेती गरिँदै आएको छ । खेत र बारीमा किसानले आलुखेती गर्दै आएका छन् । हिउँ परिरहने, पानी जमिरहने बाहेक अरू ठाउँमा आलु उत्पादन हुन्छ ।  

मुलुकका सबै क्षेत्रमा वर्षभर आलुको खपत हुने हुँदा बजारको कुनै समस्या नरहेको ढकाल बताउनुहुन्छ । उत्पादन क्षेत्रभन्दा पनि उत्पादकत्व बढाउनतर्फ कार्यालय लागिपरेको छ । 

थोरै क्षेत्रफलमा धेरै उत्पादन हुँदा किसानले आलुबाट नाफा लिनसक्छन् । मध्यपहाडी क्षेत्रमा स्थानीयवासी सदरमुकाम, सहरी क्षेत्र तथा विदेश जाने गरेका कारण आलुको उत्पादनमा कमी आएको ढकालको भनाइ छ । 

आलुमा मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्यले पाँचवर्षे रणनीतिक कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रमको अहिले चौथो वर्ष हो । आगामी वर्षभित्रै देशलाई आलुमा आत्मनिर्भर बनाउन कार्यक्रम सञ्चालन भइरहेको कार्यालयले जनाएको छ । 

गत वर्ष कालीमाटी तरकारी बजारमा सबैभन्दा बढी २० दशमलव ३८ प्रतिशत आलुको कारोबार भएको थियो । कालीमाटीबाट ४२ हजार ८०० मेट्रिक टन आलु किनबेच भएको थियो । आलु उत्पादनको हिसाबले मुलुकको चौथो तथा उत्पादकत्वका हिसाबले पहिलो खाद्यबाली हो । कूल ग्रार्हस्थ उत्पादनमा आलुको ७ दशमलव ३६ प्रतिशत योगदान रहेको कृषि मन्त्रालयले सन् २०१५ मा गरेको एक अध्ययनले देखाएको छ । कुल उत्पादनमध्ये उच्च पहाडी क्षेत्रमा १८ प्रतिशत, मध्य पहाडी क्षेत्रमा ४२ तथा तराईमा ४० प्रतिशत उत्पादन रहेको छ ।

उता काभ्रेमा आलुको उत्पादन घटेपछि नाला गाविसका किसान चिन्तित हुन थालेका छन् । यस वर्ष आलुको उत्पादन र मूल्यमा हस आएको छ । लगानी खर्चसमेत उठाउन नसकिने अवस्था रहेको नालाका स्थानीय किसान काजीमान तामाङले बताउनुभयो ।

अहिले यहाँ रातो आलुको मूल्य प्रतिकिलो रु २८ तथा सेतो आलुको मूल्य रु १३ रहेको छ । गत वर्षको तुलनामा आलुको उत्पादन र मूल्य घटेपछि किसानलाई घाटा लागेको छ । “बजार स्थिति राम्रो नभएकाले आलु नल्याउन व्यापारीले नै आग्रह गरिरहेका छन्,” तामाङले भन्नुभयो । 

नालाका स्थानीयवासी प्रायः कृषि पेसामा आवद्ध छन् । यस वर्ष सुरुवातमा रोप्ने समयमा अत्याधिक वर्षा तथा बढ्ने समयमा वर्षाको स्थिति शून्य रहेका कारण आलुको उत्पादनमा हस आएको नालाको टुकुचाका किसान बद्रीप्रसाद घिमिरे बताउनुहुन्छ । उहाँले करिब १७ रोपनी जग्गामा आलुखेती गर्दैआउनुभएको छ । 

“गत वर्षको तुलनामा एक चौथाई उत्पादन घटेको छ,” उहाँले भन्नुभयो । यस वर्ष खेतमा काम गर्ने कामदारको समेत अभाव रहेको र लगानी समेत उठ्न नसक्ने अवस्था रहेको घिमिरेले बताउनुभयो । “उत्पादनमा कमी आउँदा ११ जनाको परिवारको खर्च धान्न कठिन भएको छ,” उहाँले भन्ज्नुभयो । 

करिब सोह्र वर्षदेखि आलुखेती गर्दै आउनुभएका नालाकै किसान कल्पना श्रेष्ठ आलुको उत्पादनमा आएको ह्रासका कारण अर्काे वर्ष आलु रोप्ने कि नरोप्ने भन्ने चिन्ता पर्न थालेको बताउनुहुन्छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com