युगसम्बाद साप्ताहिक

पाँच महिनामा १०० मेगावाट विद्युत उत्पादन
Wednesday, 01.04.2017, 11:49am (GMT5.5)

मुलुकमा विद्युत उत्पादनको क्रम सुरू भएको छ । सरकारी तथा निजी क्षेत्रबाट सुरू भएका आयोजनाहरू सम्पन्न हुँदै गएपछि चालु आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रका आयोजनाबाट कुल ९७ मेगावाट विद्युत् उत्पादन भएको छ । 

ऊर्जा मन्त्रालयकाअनुसार सरकारी आयोजना निर्माणमा ढिलाइ भइरहेको बेला निजी क्षेत्रका आयोजनाले भने एकपछि अर्को गर्दै राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जोड्न थालेका छन् । 

ऊर्जा मन्त्रालयमा निजी प्रवद्र्धकहरूले पछिल्लो पटक गराएको जानकारी अनुसार ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरू गरेको छ । 

नेपाली र चिनियाँ संयुक्त लगानीमा अगाडि बढाइएको सो आयोजनाले विगत केही दिन पहिलेबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरू गरेको छ । 

यस्तै २५ मेगावाट क्षमताको माथिल्लो मादी आयोजना पनि निर्माण भएको छ । त्यसैगरी १५ मेगावाटको हेवाखोला, ६ मेगावाटको दरौदी र १ मेगावाटको नियाखोला जलविद्युत् आयोजना सम्पन्न भएका छन् । 

नदी प्रवाहमा आधारित ती जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गरेको जनाए पनि अवस्था भने त्यस्तो नरहेको बताइन्छ । ऊर्जा मन्त्रालयले ९७ मेगावाट विद्युत् उत्पादन सुरू भएको जनाए पनि हाल ५० मेगावाट क्षमता मात्रै जोडिएको बताइन्छ । 

चिनियाँ लगानीकर्ता सिनो हाइड्रो कर्पोरेसन र नेपालको सगरमाथा पावर कम्पनीको संयुक्त लगानीमा निर्माण भएको माथिल्लो मस्र्याङदीको विद्युत् जोडिएपछि कास्की, तनहुँ र पोखरामा थप सहजता भएको छ । 

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले परीक्षण उत्पादनबाट जोडिएको विद्युत्ले पनि राष्ट्रिय प्रसारण प्रणालीमा सहज भएको जानकारी दिनुभयो । 

यस्तै चीनको चाइना वाटर एन्ड इलेक्ट्रक कर्पोरेसन र नेपालको गोरखा कन्ट्रक्सन कम्पनीको साझेदारमा निर्माण भएको मादीको परीक्षण उत्पादन सुरू भएको छ । आयोजनाको आज ऊर्जा मन्त्री जनार्दन शर्माले उद्घाटन गर्नुभएको छ । 

यस्तै नेपालको पाँचथर पावर कम्पनीले निर्माण गरेको हेवाखोला आयोजना निर्माण सम्पन्न भएको छ । पाँचथरको फिदिममा सव स्टेसन निर्माण सकिएकाले केही दिनभित्रै आयोजनाले व्यापारिक उत्पादन सुरू गर्ने जानकारी आफूहरूलाई दिएको प्रवक्ता अधिकारीले बताउनुभयो । 

कालीका कन्ट्रक्सन प्रालिले निर्माण गरेको कालीका दरौदी जलविद्युत् कम्पनीले निर्माण गरेको ६ मेगावाट क्षमताको दरौदी ‘ए’ जलविद्युत् आयोजनाले पनि व्यापारिक उत्पादन सुरू गरिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिन पहिले सो आयोजनाको उद्घाटन गर्नुभएको थियो । 

सरकारले चालु आवको अन्त्यसम्म दुई सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकामा हालसम्म करिब एक सय मेगावाट विद्युत् उत्पादन भइसकेको छ । 

प्राधिकरणको भार प्रेषण केन्द्रकाअनुसार हाल मुलुकभर विद्युत्को माग एक हजार २४५ मेगावाटमा झरेको छ । यसअघि एक हजार २८६ मेगावाट रहेको थियो । भारतबाट आयात गरिएको समेत गरेर ८५५ मेगावाट विद्युत् उपलब्ध भइरहेको छ । 

यस आधारमा प्रणालीमा ३९० मेगावाट विद्युत् अपुग हुन पुगेको छ । थप विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ यही पुस १७ गतेदेखि भारतबाट थप ४० मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com