| युगसम्बाद साप्ताहिक | ||||
|
विद्युत आपर्ति हुँदा वार्षिक २० अर्ब बचत Thursday, 01.12.2017, 01:31pm (GMT5.5) काठमाडौं । मुलुकमा लोडसेडिङ हुँदा उज्यालोकै लागि प्रयोग गरिने जेनेरेटर लगायतका उपकरण संचालन गर्न चाहिने इन्धनका लागि मात्र २० अर्ब रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ । यदि सो बन्द हुने हो भने वार्षिक २० अर्ब बचत हुनेछ । पछिल्लो समय मुलुकमा लोडसेडिङ अन्त्यको अभियान चालिरहेका बेला त्यसो हुने हो भने रु २० अर्ब बराबरको पेट्रोल, डिजलमा खर्च हुने रकम स्वदेशमा नै रहने तथ्याङ्क पेस गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा महासङ्घका ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानले लोडसेडिङको अन्त्यले रु १६ अर्बको पेट्रोलियम पदार्थ र रु चार अर्बको अन्य खर्च स्वदेशमा नै रहने वातावरण पैदा भएको बताउनुभयो । मुलुकलाई अगाडि बढाउने प्रमुख र महत्वपूर्ण आधार भएकाले ऊर्जा क्षेत्रमा लगानी बढाउन आफूहरू तयार रहेको उद्योगी तथा व्यावसायीले बताए । अन्तरक्रियामा ऊर्जामन्त्री जनार्दन शर्माले आगामी डेढ वर्षभित्र उद्योगी तथा व्यवसायीले माग गरेअनुसारको विद्युत उपलब्ध गराउन सरकार तयार रहेको भन्दै नयाँ नयाँ उद्योग व्यवसाय खोल्ने कार्य थालनी गर्न आग्रह गर्नुभयो । ऊर्जा क्षेत्रको विकासमा सरकारले जे जति गर्नुपर्ने हो, सबै प्रकारका सहयोग गर्न तयार रहेको छ भन्नुहुँदै मन्त्री शर्माले अब गफ गर्ने समय सकिएको र काम गर्ने बेला आएको बताउनुभयो । ऊर्जा मन्त्रालय, प्राधिकरण चौबिसै घन्टा खटेका कारण मुलुकलाई आधारभूत रुपमा लोडसेडिङ अन्त्य गर्न सकिएको बताउँदै उहाँले उद्योगी तथा व्यवसायीले पनि सरकारको कामलाई पूर्ण क्षमताका साथ सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “उद्योग–व्यवसाय सुरु गर्नूस्, ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि समेत नयाँ नयाँ योजना ल्याउनूस्, ऊर्जा मन्त्रालय मातहतका कुनै पनि निकायले काममा अवरोध गर्ने छैनन्, सबै काम सहज रुपमा अगाडि बढ्छन् ।” सरकारले १० हजार मेगावाट विद्युत उत्पादन गर्ने जानकारी दिँदै मन्त्री शर्माले कम्तीमा पनि आठ हजार मेगावाट विद्युत निजी क्षेत्रले उत्पादन गर्नुपर्ने, वैदेशिक लगानीमा थप केही हजार मेगावाट विद्युत उत्पादन गर्ने गरी कार्यअगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट आयात गरिएको विद्युतले मात्रै लोडसेडिङको अन्त्य भएको नभई कालीगण्डकी, मध्यमस्र्याङ्दी, मस्र्याङ्दीजस्ता ठूला आयोजनालाई पूर्ण क्षमतामा विद्युत बढी माग हुने समयमा चलाइएको बताउनुभयो । विगतमा कुनै पनि आयोजना पूर्ण क्षमता नचल्ने गरेका कारण पनि जनता अँध्यारोमा बस्नु परेको यथार्थ पेस गर्दै घिसिङले लोडसेडिङ आधारभूत रुपमा अन्त्य भएको जानकारी दिनुभयो । महासङ्घका अध्यक्ष पशुपति मुरारकाले उद्योग–व्यावसायमा सुनौलो युगको सुरुवात भएको भन्दै यसलाई निरन्तर अगाडि बढाउन सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो । उद्योग–व्यवसायले हाल दैनिक २० घन्टा विद्युत पाइरहेका छन् । गत साल यही समयमा दैनिक १० घन्टा लोडसेडिङ हुन्थ्यो भने औद्योगिक क्षेत्रमा समेत नियमित १३ घन्टा विद्युत कटौती गरिन्थ्यो । कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले ऊर्जा सङ्कटकाल कार्ययोजनामा समावेश गरिएका विषय तत्काल कार्यान्वयनमा आउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा मुलुकको ऊर्जा क्षेत्रमा भइरहेको प्रयास र आवश्यकताका बारेमा महासङ्घअन्तर्गतका ऊर्जा समितिका सभापति प्रधानले कार्यपत्रसमेत पेस गर्नुभएको थियो । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||