| युगसम्बाद साप्ताहिक | ||||
|
छ महिनाको व्यापार घाटा ७१ प्रतिशत Wednesday, 02.15.2017, 12:57pm (GMT5.5) काठमाडौं । मुलुकमा निर्यातमूलक औद्योगिक उत्पादनको अहिले कल्पना पनि गर्न सकिंदैन । भएका उद्योगहरू उतिबेलैदेखि ध्वस्त पारिए भने अहिले भएका उद्योगहरू माग धान्न पनि पर्याप्त छैनन् । मुलुक पूर्णरुपमा आयातमा निर्भर छ । कृषिप्रधान मुलुक र कुल जनसंख्याको दुईतिहाई कृषिमा आश्रित भए पनि खाद्यान्न समेत आयात गर्नु परिरहेको छ । यसले गर्दा मुलुकले कुल बजेटभन्दा बढीको व्यापारघाटा व्यहोरिरहेको छ । यदि वैदेशिक रोजगारी नहुँदो हो त मुलुक आयात धान्न असमर्थ हुन्थ्यो । अरु मुलुकहरू वैदेशिक रोजगारबाट भित्रिएको रकम मुलुकको अर्थतन्त्र उकास्नमा प्रयोग गर्छन्, तर नेपालमा भने सबै रकम उपभोग्य वस्तु खरीदमै निख्रिने गरेको छ । त्यसैले त आयात निर्यात सन्तुलनको कल्पना नै गर्न नसकिने अवस्था छ । हुन त अघिल्ला वर्षहरूको तुलनामा निर्यातमा केही सुधार आए पनि अवस्था चिन्ताजनक नै छ । चालू आव २०७३÷७४ को पहिलो छ महिनाका अवधिमा निकासीमा सामान्य सुधार भए तापनि पैठारीमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापार घाटामा ७१.३ प्रतिशतले वृद्धि भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले बिहिबार सार्वजनिक गरेको तथ्याङ्कानुसार चालु आवको समीक्षा अवधिमा व्यापार घाटा रु चार खर्ब २९ अर्ब ७३ करोड पुगेको छ । गत आव २०७२÷७३ को प्रथम छ महिनाका अवधिमा व्यापारघाटा २६ प्रतिशतले कमी आएको थियो । केन्द्रको प्रारम्भिक तथ्याङ्कानुसार चालु आवको सो अवधिमा मुलुकको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८.८ प्रतिशतले वृद्धि भई रु पाँच खर्ब दुई अर्ब ३७ करोड पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७.२ प्रतिशत र ९२.८ प्रतिशत छ । समीक्षा अवधिमा नेपालको कुल निकासी १०.८ प्रतिशतले वृद्धि भई रु ३६ अर्ब ३२ करोड तथा कुल पैठारीमा ६४.३ प्रतिशतले वृद्धि भई रु चार खर्ब ६६ अर्ब पाँच करोड पुगेको छ । उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुमा ऊनी गलैँचा, तयारी पोसाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, कपडा, फलाम तथा स्टिल र तिनका उत्पादन, हस्तकलाका सामान, चाउचाउ, मन्जन, अलैँची, चिया, अदुवा, नेपाली हाते कागज, छाला, पस्मिना पछ्यौरा, जडिबुटी आदि प्रमुख छन् । आयातको प्रमुख स्रोतमध्ये अग्रस्थानमा रहेको भारतबाट पेट्रोलियम पदार्थ, फलाम तथा तिनका उत्पादन, यातायातका साधन, यान्त्रिक तथा पुर्जा र अन्न प्रशस्त मात्रामा आयात भएको देखिन्छ । आयात व्यापारमा दोस्रो स्थानमा रहेको चीनतर्फबाट हुने आयातमा दूरसञ्चारका सामग्री, विद्युतीय उपकरण, यान्त्रिक तथा पुर्जा, स्याउ तथा रासायनिक मलले प्रमुख स्थान हासिल गरेका छन् । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||