युगसम्बाद साप्ताहिक

यस वर्ष ६.९४ प्रतिशतको आर्थिक वृद्धि हुने
Tuesday, 05.02.2017, 01:57pm (GMT5.5)

काठमाडौं । चालु आर्थिक वर्ष २०७३।७४ मा कुल गार्हस्थ्य उत्पादन वृद्धि ६.९४ प्रतिशत हुने भएको छ । गत आवको यही समयमा ०.०१ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको थियो । यस आवको छ देखि नौ महिनाको यथार्थ तथ्याङ्कको आधारमा र बाँकी महिनाको सामान्य अवस्था रहेको अवस्थालाई अनुमानमा कुल गार्हस्थ्य उत्पादन उत्साहजनक देखिएको हो । केन्द्रीय तथ्याङ्क विभागका अनुसार अनुकुल मौसमले गर्दा कृषि क्षेत्रको उत्पादनमा भएको बढोत्तरी, निर्माण कार्यले लिएको गति र ऊर्जा सङ्कट समाप्तिसँगै अर्थतन्त्रमा सुधार आएको हो । 

विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोग सचिवालयका सचिव चन्द्रकुमार घिमिरेले आर्थिक विकासको हिसाबले चालु आव अत्यन्त फलदायी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशमा ऊर्जा सङ्कट अन्त्य भएको र बन्द हड्ताल कम भएकाले अर्थतन्त्रमा सकारात्मक असर परेको हो ।” 

कृषि क्षेत्रमा ५.२९ प्रतिशतको वृद्धि हासिल भएको छ भने गैरकृषि क्षेत्रमा ७.७४ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ । त्यसैगरी चालु मूल्यअनुसार कुल ग्रार्हस्थ्य मूल्यमा रु २२ खर्ब ९३ अर्ब ९८ करोड ९० लाख रहेको छ भने चालु मूल्यअनुसार कुल ग्रार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु २५ खर्ब ९९ अर्ब २३ करोड ४० लाख छ । 

चालु मूल्यमा कुल स्थिर पुँजी निर्माण राष्ट्रिय लेखा अनुमान रु आठ खर्ब ७८ अर्ब ६० करोड ५० लाख अर्थात कुल गार्हस्थ्य उत्पादनको ३३.८ प्रतिशत रहने अनुमान गरिएको छ । यो पटक कुल स्थिर पुँजी निर्माणमा वृद्धि भएको हो । जुन गत आवमा २८.८ प्रतिशत थियो । 

चालु मूल्यमा अन्तिम उपभोग खर्च रु २३  खर्ब ३२ अर्ब ७४ करोड १० लाख अर्थात् कुल गार्हस्थ्य उत्पादनको ८९.७५ प्रतिशत रहने अनुमान छ । त्यस्तै चालु मुल्यमा वस्तु र सेवाको कुल निर्यात सालाखाला रु आठ खर्ब ३८ अर्ब ४६ कारोड ९० लाख मात्र रहनेछ । 

उपभोक्ता मूल्य सूचकाङ्क आधार वर्षमा सन् २०००।२००१ लाई आधार वर्ष मान्ने हो भने ३२४.२२ रहेको छ । विप्रेषण आयतर्फ कुल रु सात खर्ब २६ करोड ३० लाख रहेको छ जुन कुल गार्हस्थ्य उत्पादन २६.९४ प्रतिशत हुन आउँछ । प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा रु ९० हजार ५२१ अर्थात ८५३ अमेरिकी डलर हासिल भएको छ । 

कृषि क्षेत्रमा आएको सुधारका कारणले, सरकारले मल बिउ, प्राविधिक सहायता र सिँचाइ पु¥याएकाले पनि यो परिणाम आएको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक सुमन अर्यालको दाबी थियो । उहाँले ऊर्जा क्षेत्र व्यवस्थामा सुधार आएकाले उत्पादन क्षेत्रमा ठूलो योगदान पुगेको बताउनुभयो ।

चालु आवको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले २९.३९ प्रतिशत तथा गैरकृषि क्षेत्रले ७०.६३ प्रतिशतको योगदान भएको अनुमान गरिएको छ । त्यसैगरी यस आवमा २८.८९ प्रतिशत योगदान रहेको कृषि तथा वन क्षेत्रमा ५.२५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । 
विसं २०२१÷२२ देखि निरन्तर कुल गार्हस्थ्य उत्पादनको अनुमान गर्दै आइएको छ ।

घट्दैछ मुद्रास्फीति दर
चालु आर्थिक वर्षको फागुन महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ९ प्रतिशत कायम भएको छ । बिहिबार नेपाल राष्ट्र बैंकको ६२ औँ वार्षिकोत्सवका अवसरमा गभर्नर डा चिरञ्जीवी नेपालले गत आर्थिक वर्षको सोहि अवधिमा मुद्रास्फीति १० दशमलव २ प्रतिशत रहेको जानकारी दिनुभयो । 

उहाँले कृषि उत्पादनको वृद्धि, आपूर्तिमा सहजता र भारतीय मुद्रास्फीति आएको कमीका कारण पछिल्लो महिनामा मुद्रास्फीति निरन्तर घट्दै गएको छ, भन्नुभयो । 

गभर्नर नेपालका अनुसार यस अवधिमा वार्षिक बिन्दुगत आधारमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर शुन्य दशमलव चार प्रतिशत ऋणात्मक रहेको र गैरखाद्य तथा सेवा समूहमा ५ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा यी समूहको मूल्य वृद्धिदर क्रमशः १० दशमलव ३ प्रतिशत र १० दशमलव २ प्रतिशत रहेको थियो । 

उहाँले यस आवको चैत मसान्तसम्म नगद प्रवाहमा आधारित सरकारी बजेट रु ६३ अर्ब ५९ करोड बचत रहेको बताउनुभयो । गभर्नरका अनुसार गत आवको सोही अवधिमा रु ४७ अर्ब ६९ करोड बचत रहेको थियो । 

यस अवधिमा कुल सरकरी खर्च ४६ दशमलव ६ प्रतिशतले वृद्धि भई रु चार खर्ब १९ अर्ब ९३ करोड पुगेको उहाँले उल्लेख गर्नुभयो । त्यसैगरी गभर्नर डा नेपालले चालु आवको आठ महिनामा कुल वस्तु निर्यात १२ दशमलव ८ प्रतिशतले वृद्धि भई रु ४८ अर्ब २२ करोड पुगेको बताउनुभयो । यस अवधिमा आयात भने ४४ दशमलव २ प्रतिशतले बढेर रु छ खर्ब २८ अर्ब ५६ करोड पुगेको छ ।

चालु आवको आठ महिनामा कुल वस्तु व्यापार घाटा ४७ दशमलव ६ प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ८० अर्ब ३४ करोड पुगेको छ । त्यसैगरी यस अवधिमा चालु खाता रु छ अर्ब ३१ करोड घाटा छ । कुल विदेशी विनिमय सञ्चिति २०७३ को असार मसान्तको रु १० खर्ब ३९ अर्ब २१ करोडबाट ३ दशमलव ४ प्रतिशतले वृद्धि भई फागुन मसान्तसम्ममा रु १० खर्ब ७४ अर्ब २७ करोड पुगेको छ । 

त्यसैगरी यस अवधिमा आन्तरिक कर्जा १२ दशमलव २ प्रतिशतले बढेको र बंैक तथा वित्तिय संस्थाको निक्षेप ८ दशमलव ३ प्रतिशत तथा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १५ दशमलव ३ प्रतिशतले बढेको छ । यस अवधिमा केन्द्रीय बैंकले रु ४७ अर्ब १८ करोड तरलता प्रवाह गरेको छ । 

त्यसै गरी राष्ट्र बैंकले यस अवधिमा नेप्से सूचकाङ्कमा सुधार आएको, वित्तीय पहुँचमा विस्तर, बैंक तथा वित्तीय नियमनमा सुधार आएको जनाएको छ । 

सो अवसरमा राष्ट्र बैंकका डेप्युटी गभर्नर चिन्तामणि शिवाकोटीले सम्पत्ति सुद्धीकरणमा चुनौती थपिएको र दुई वर्षअघिको भूकम्पले क्षति पु¥याएका भौतिक संरचनाको पुनःनिर्माण गर्न नसकिएको बताउनुभयो । उहाँले मुलुकको आर्थिक अवस्थालाई सुधार गर्दै लैजानका लागि राष्ट्र बैंकको भूमिकालाई अझ सशक्त बनाउनुपर्ने जोड दिनुभयो । 

कार्यक्रममा राष्ट्र बैंकले पूर्व गभर्नर डा भेषबहादुर थापा र संस्कृतिविद् तथा नेपालको नोट तथा सिक्का ‘डिजाइन’कर्ता सत्यमोहन जोशीलाई विशेष सम्मान गरिएको थियो । सो अवसरमा उहाँहरूले मुलुकको शाख र सानलाई माथि उठाउन मुद्राको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । 

नेपाल बैंकर्स सङ्घका अध्यक्ष अनिल शाहले मुलुकको वित्तीय क्षेत्रलाई व्यवस्थित गराउन राष्ट्र बैंकको महत्वपूर्ण भूमिका रहेको भन्दै आर्थिक समृद्धिका लागि अझै निष्पक्ष र सबल भूमिका आवश्यक हुनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा राष्ट्र बैंकमा अभिछिन्नरुपमा २० वर्ष सेवा गरेका कर्मचारी तथा वार्षिकोत्सवका अवसरमा आयोजना गरेका अतिरिक्त क्रियाकलापमा विजयीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com