| युगसम्बाद साप्ताहिक | ||||
|
सात वर्षपछि खुल्यो नेपाल औषधि लिमिटेड Thursday, 05.11.2017, 11:31am (GMT5.5) औषधि माफिया र राजनीतिककरणको मारमा परेको राष्ट्रिय उद्योग नेपाल औषधि लिमिटेडले आठ वर्षपछि पुनःऔषधि उत्पादन गर्न सुरु गरेको छ । उद्योगले आइतबारबाट झाडापखाला लाग्दा उपयोगी मानिएको जीवनजलको उत्पादन सुरु गरेको छ । सरकारी स्वामित्व रहेको लिमिडेटलाई गत असोज २ गते बसेकोे मन्त्रिपरिषद्को बैठकले पुनःसञ्चालनमा ल्याउने निर्णय गरेको थियो । उद्योगमन्त्री नवीन्द्रराज जोशीले आयोजित कार्यक्रममा सो उद्योगको पुनःसञ्चालनको उद्घाटन गर्नुभयो । विसं २०६७ मा विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जिएपी) अनिवार्य गरेपछि सो उद्योग बन्द भएको थियो । सरकारले जिएमपीअनुसार पुनःसञ्चालन गर्न रु १४ करोड ६५ लाख ऋणस्वरुप लिमिटेडलाई उपलब्ध गराउने निर्णय गरेको थियो । सोहीअनुुरुप पहिलो चरणमा रु छ करोड ४८ लाख निकासा गरेको थियो । उद्योगमन्त्री जोशीले जीवनजल र ज्वरो आउँदा प्रयोग गर्ने सिटामोल नपाएर धेरैले ज्यान गुमाउनुपरेको अवस्थामा पहिलो चरणमा जीवनजल उत्पादन सुरु गरिएको बताउनुभयो । लिमिटेडले चाँडै निःशुल्क उपलब्ध गराउँदै आएका ७० प्रकारका औषधिलगायत अन्य औषधि समेत उत्पादन गर्ने उहाँले बताउनुभयो । दोस्रो चरणमा अत्यावश्यक र बजारमा खपत बढी भएका १५ भन्दाबढी प्रकारका औषधि उत्पादन गर्ने औषधि लिमिटेडको लक्ष्य छ । तेस्रो चरणमा क्याप्सुल, पेनसिलिन गु्रपका औषधि, झोल तथा मलम उत्पादन गर्ने र सर्पले डसेपछि लगाउने खोप एन्ट्राभेनसका लागि शाखा सञ्चालनमा ल्याई स्लाइन र हेमोडाइलसिस फ्युल्ड जस्ता अति आवश्यक औषधिको उत्पादनका लागि काम अगाडि बढाएको छ । उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले उपभोक्ताले सस्तो र सुलभ मूल्यमा गुणस्तरीय औषधि पाउनुपर्छ भन्ने मान्यताका साथ सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडलाई पुनःसञ्चालनमा ल्याएको बताउनुभयो । उद्योग सचिव शङ्करप्रसाद कोइरालाले उद्योग मन्त्रालयले नेपालमा बन्द रहेका सबै सरकारी, निजी उद्योगलाई सञ्चालनमा ल्याई आर्थिक विकासका साथै आगामी १० वर्षमा रोजगारीका लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यका साथ काम गरिरहेको बताउनुभयो । नेपाल औषधि लिमिटेडका महाप्रबन्धक डा रोभसकुसुम सुवेदीले आगामी तीन महिनाभित्र सिटामोललगायत औषधि उत्पादन गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले विश्वस्तरीय जिएमपी मापदण्डअनुसार गुणस्तरीय औषधि उत्पादन गर्न लिमिटेडले नयाँ प्रविधिअनुरुप २७ भन्दाबढी प्रकारका आधुनिक प्रविधिले युक्त गुणस्तर जाँच गर्ने उपकरण जडान गरिसकेको बताउनुभयो । उत्पादन गरिएका औषधि अहिलेका प्रचलित बजार मूल्यभन्दा सस्तोमा जनताले प्राप्त गर्ने उहाँको भनाइ छ । नेपालमा आधुनिक औषधि उत्पादन सरकारी स्तरबाटै उत्पादन गर्ने उद्देश्यका साथ कम्पनी ऐन २०२१ अन्तर्गत नेपाल औषधि लिमिटेडको स्थापना २०२९ सालमा भएको थियो । बन्द हुनुपूर्व लिमिटेडले १२० प्रकारका औषधि उत्पादन गर्दै आएको थियो । मतदाता शिक्षाका लागि मोबाइल भ्यान निर्वाचन आयोगले मोबाइल भ्यानका माध्यमबाट मतदाता शिक्षा दिने कार्य आइतबारदेखि सुरु गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोग परिसरमा आयोजित समारोहमा उक्त कार्यको शुभारम्भ गर्नुभएको हो । समारोहलाई सम्बोधन गर्दै उहाँले भौगोलिक विकटता, सञ्चार र यातायातको असुविधाका बाबजुद निर्वाचन कार्यक्रम निकै उत्साहजनक रुपमा अघि बढिरहेको बताउनुभयो । डा यादवले भन्नुभयो, “बदर मत घटाउन र सदर मतको सङ्ख्या बढाउन मतदाता शिक्षा ज्यादै आवश्यक छ, आयोगले आइतबारदेखि विशेष किसिमको मतदाता शिक्षाको अभियान सुरु गरेका छौँ, यो अभियान सहज र सघनरुपमा मतदाताको घरदैलो र टोलटोलमा पु¥याइनेछ ।” निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन निर्वाचन आयोगबाट विभिन्न तहमा अनुगमनकर्ता परिचालन गरिएको जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले मतदानका लागि मतदातालाई प्रेरित गर्ने कार्यमा जुट्न सबैलाई आह्वान गर्नुभयो । आयोगका सहसचिव नवराज ढकालले मतदाता शिक्षाका लागि आयोगबाट २१ हजारको सङ्ख्यामा सामाजिक परिचालक र शिक्षक खटाइको जानकारी दिनुभयो । आयोग परिसरबाट मतदाता शिक्षाको सन्देश प्रचारप्रसार गर्दै तीनवटा मोबाइल भ्यान पाटन, भक्तपुर र बालाजुतर्फ छुटेका थिए । सन्देशमा मत सङ्केत गर्ने तरिका, स्वस्तिक छापको प्रयोग, मतपत्र पट्याउने तरिकालगायतका बारेमा जानकारी दिने र मतदातालाई मतदानका लागि प्रेरित विषयवस्तु समेटिएका छन् । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||