युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 01.16.2018, 03:12pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
अकबरे खोर्सानीको भाउ घटेपछि किसान चिन्तित
Tuesday, 12.26.2017, 11:24am (GMT+5.5)

ग्याट्रिक लगायतका रोगको औषधि समेत मानिएको अकबरे खोर्सानीले राम्रो मूल्य नपाउँदा बहुप्रसिद्ध तेह्रथुमका किसान चिन्तित बनेका छन् । वर्षेनि उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापनमा कसैले चासो नदिँदा अकबरे खोर्सानीले बजार नपाएको गुणासो किसानको छ । बजार भाउ घटेपछि अकबरे खोर्सानीको व्यावसायिक खेती गरिरहेका किसान अहिले निराश बनेका छन् । 
गत वर्ष यो मौसममा अकबरे खोर्सानीको कारोबार रु ३५० देखि ५५० सम्म भएको थियो । तर यो वर्ष हाल रु १०० देखि १५० मा मात्रै कारोबार भइरहेको छ । उत्पादन बढी भएपछि बजार मूल्य घटेको हुनसक्ने सुदापका किसान डिकबहादुर खड्काले बताउनुभयो । 
“पहिले कमाइ राम्रो थियो, घरैमा आएर व्यापारीले खरिद गर्थे”– उहाँले भन्नुभयो, “अहिले सबैले खेती गरेका छन्, उत्पादन पनि बढी छ, त्यसैले मूल्य पनि कम छ ।” खेती विस्तारका लागि सबैले सहयोग गर्ने, तर बजारीकरणका लागि कसैले वास्ता नगरेपछि वर्षेनी सबै कृषिउपजको बजारमा समस्या सिर्जना हुँदै गएको उहाँ बताउनुहुन्छ । 
हरेक वर्ष अकबरे खोर्सानीको बजार जेठ मसान्तदेखि शुरु हुन्छ । यो वर्ष पनि सुरुआतमा हरियो खोर्सानीको कारोबार रु ४०० सम्ममा समेत भयो । तर यही मौसममा ह्वात्तै घटेर अकबरेको मूल्य रु १०० मा झरेको हो । 
मूल्य घटेपछि किसानलाई मर्का परेको सुदापस्थित नवसिर्जना महिला समूहकी अध्यक्ष शिवमाया खड्काले बताउनुभयो । “समूहमार्फत हामीले सामूहिक खेती पनि गरेका छौँ, घरैपिच्छे अकबरे खोर्सानीको खेती ठूलो छ”– अध्यक्ष खड्काले भन्नुभयो, “तर मूल्य नपाएकाले खेती नै संकटमा परेको छ ।” मूल्य घटेकाले यही खेती लगाइरहने या अर्को खेती लगाउने भन्नेबारे किसान अन्योलमा परेको उहाँले बताउनुभयो । 
अकबरे खोर्सानी एकपटक रोपेपछि पहिलो वर्ष सामान्य उत्पादन हुन्छ । दोस्रो वर्ष राम्रो उत्पादन हुन्छ र तेस्रोदेखि पाँचौँ वर्षसम्म पनि उत्पादन हुन्छ । अकबरेको एउटा बोटमा असारदेखि निरन्तररुपमा माघसम्म फल लागिरहन्छ । 
परम्परागतरुपमा घरैपिच्छे पारिवारिक प्रयोजनका लागि हुने अकबरेको खेती अहिले व्यावसायिक बन्ने क्रममा छ । जिल्लाका धेरै किसानले यसको व्यावसायिक खेती गर्न थालेका छन् । जिल्लामा अकबरे खोर्सानी खेतीको विकास र विस्तारका लागि जिल्ला कृषि विकास कार्यालय र गैरसरकारी संस्थाले किसानलाई तालीम र बीउबिजनमा सहयोग गरेका छन् ।
थोरै मेहनत र लागतबाटै मनग्ये आम्दानी गर्न सकिने भएपछि किसानले खाद्यान्न बाली छाडेरै अकबरे खुर्सानीको खेती थालेका थिए । अन्नबालीभन्दा कम मेहनत र लागतले पनि अकबरे खेतीबाट आम्दानी हुन थालेपछि व्यावसायिक खेती थालेको किसान बताउँछन् । 
धान, मकैलगायत अन्नबालीको खेतीभन्दा यो धेरै सजिलो रहेछ, फेदाप गाउँपालिका–२, ओयाक्जुङकी चन्द्रप्रसाद ढकालले भन्नुभयो । 
ढकालले घरमुनिको एउटा पाटोमा लगाएको अकबरे खेतीबाट यो वर्ष रु ५० हजार बढी आम्दानी गर्नुभएको छ । “अन्नबालीबाट भन्दा अकबरे खेतीबाट तेब्बर बढी आम्दानी हुने रहेछ ।” जमिन पनि धेरै चाहिँदैन, काम गर्ने जनशक्ति पनि कम लाग्छ, पाँच मुरी मकै फल्ने ठाउँमा ५० हजारको अकबरे फल्छ– उहाँ भन्नुहुन्छ । 
जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकाका सबै गाउँमा अकबरे खोर्सानीको खेती भइरहेको छ । तर व्यावसायिकरुपमा भने छथर गाउँपलिकाको सुदाप, ओख्रे, फाक्चामारा, पञ्चकन्या र हमरजुङ, फेदाप गाउँपालिकाको ओयाक्जुङ र जलजले, मेन्छ्यायेम गाउँपालिकाको मोराहाङ र श्रीजुङ, म्याङलुङ नगरपालिकाको पिप्ले, आम्बुङ र जिरीखिम्ती तथा आठराइ गाउँपालिकाको छातेढुंगा र इवामा अकबरे खोर्सानीको व्यावसायिक खेती भइरहेको छ । 
जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्ष जिल्लामा रु १२ करोडको अकबरे खुर्सानी उत्पादन भएको थियो । किसानले २५ हेक्टर जमिनमा लगाएको खेतीबाट ३१२ मेट्रिक टन उत्पादन गरेका थिए । 

चिराइतो बारीमै सुकेर गयो, किसान चिन्तित 
उता सोलुखुम्बुका किसानहरु चिराइतोको मूल्य ओरालो लागेपछि बिक्री नभएर बारीमै सुकिन थालेपछि किसान चिन्तित भएका छन् । राम्रै आम्दानी हुने भएपछि सोलुखुम्बुका किसान विगत एकदशकयता चिराइतोखेतीतर्फ आकर्षित बनेका थिए । 
महाकुलुङ गाउँपालिकाका किसान यसतर्फ आकर्षित मात्र बनेन, मकै, कोदोलगायतका खेती हुने बारीमा पनि व्यावसायिक रुपमै चिराइतो खती गरें ।  
त्यसबेला उनीहरुले चिराइतोबाट मनग्य आम्दानी लिने सपना देखे, करिब पाँच वर्ष पहिला उनीहरुले देखेको सपनाअनुसार राम्रै रकम पनि लिन सफल भए । महाकुलुङ क्षेत्रको गुदेल, बुङ, छेस्कामलगायतका क्षेत्रमा चिराइतो खेती गर्ने कृषकको लहर नै चल्यो । 
शुरु शुरुमा आकर्षक मूल्य प्राप्त गरी यो खेतीमा आकर्षित भएका कृषक वर्षेनि मूल्यमा कमी आएपछि अहिले उनीहरु चिन्तित बनेका छन् । 
उचित मूल्य नपाउँदा जडीबुटीका लागि महत्पूर्ण मानिने चिराइतो बारीमा नै सुक्नेक्रम बढेकोे कृषक छिरिङ शेर्पाले बताउनुभयो । महत्वपूर्ण जडीबुटीका रुपमा लिइने चिराइतोको विसं २०६६÷०६७ देखि किसानले स्वविवेकले खेती लगाउन शुरु गरेका थिए, कृषक शेर्पाले भन्नुभयो, “खेतीयोग्य जमिनमा चिराइतो लगायाँै तर अहिले मूल्य नपाउँदा पुरानै खेती पो ठीक थियो कि जस्तो लाग्छ ।”
जंगली जनावरबाट जोगाउनु नपर्ने र जंगलको आसपासमा खेती लगाउन सकिने चिराइतोबाट किसानले विसं २०७० बाट आम्दानी लिन शुरु गरेका हुन् । प्रतिमन रु २२ हजारका दरले बिक्री गरी एक परिवारले रु तीन लाखसम्म वार्षिक आम्दानी लिन सफल भएको कृषक हरिधनी कुलुङले बताउनुभयो ।
विसं २०७१ मा रु १५ हजार, ०७२ मा रु १२ हजार मूल्य हुँदै ०७३ मा मूल्यमा अझ बढी कमी आएर रु तीन हजार २०० मा झ¥यो । साविकको गुदेल गाविसमा मात्रै वर्षेनी साढे ३०० देखि ४०० मन चिराइतो उत्पादन हुँदै आएको छ । उत्पादन बढी र माग कम भएपछि मूल्यमा कमी आएको हुनसक्ने किसानको अनुमान छ । 
चैत तथा वैशाख महिनामा चिराइतो खेती लगाई तीन वर्षपछि आम्दानी लिन सकिन्छ । महाकुलुङ क्षेत्र अलैँचीका साथै चिराइतो खेतीका लागि पनि उपयुक्त मानिन्छ । साविकको गुदेल गाविसमा व्यावसायिकरुपमा चिराइतो खेती गर्ने कृषक करिब ५० जना छन् ।
चिराइतो खेतीलाई व्यवस्थित गरी कृषकको आम्दानी बढाउनका लागि ‘जि फाउन्डेसन’  नामक गैरसरकारी संस्थाको प्राविधिक सहयोग र नवज्योति युवा मञ्च सोताङको साझेदारीमा तालीम सञ्चालन गरी किसानलाई बीउ वितरण गरिएको युवा मञ्चका उपाध्यक्ष जेवी कुलुङ सम्झनुहुन्छ । हिमाली प्रोजेक्टले पनि गोडमेल र सिँचाइ सामग्री तथा बीउ वितरण गरेको थियो ।
परियोजनाको सहयोग, स्थानीय कृषकको मेहनतअनुसारको आम्दानी पनि नभएको भने होइन तर बजारले निरन्तरता नपाउँदा समस्या उत्पन्न भएको छ, कृषक विनोद कुलुङले विगतलाई सम्झँदै भन्नुभयो, “चिराइतो खोज्दै व्यापारी घरघरै आउथे, अहिले कोही पनि आउँदैनन् कता लगेर बिक्री गर्नु त्यो पनि थाहा छैन, दुई वर्षयता बारीमै सुकिरहेको छ ।” 
भनेजस्तो मूल्य नपाएपछि किसानले गत वर्षदेखि अहिलेसम्मकै चिराइतो थन्क्याएर राखेका छन् भने कतिपयले बारीबाट संकलनसमेत गरेका छैनन् । भण्डारणको उपयुक्त वातावरण मिलाउन प्राविधिक सीप तथा भण्डारण गर्ने ठाउँको अभावमा चिराइतो बिग्रने सम्भावना रहेको कृषक तारा कुलुङले बताउनुभयो । उहाँले भन्नुभयो, “चिराइतोबाट आम्दानी हुन छाडेपछि घर व्यवहार चलाउन मुस्किल प¥यो ।”
चिराइतो जस्तो जडीबुटीको बजारीकरणका लागि उचित व्यवस्थापन गर्न सरकारी निकायले पहल गरिदिन महाकुलुङ क्षेत्रका कृषकले माग गरेका छन् । 


Rating (Votes: )   
Share     Print


Other Articles:
संघीय संरचनालाई आठ खर्ब २० अर्व रुपैयाँ (12.19.2017)
आर्थिक समृद्धिका लागि मतदान (12.12.2017)
रेमिट्यान्सले उत्पादन घटायो परनिर्भरता बढायो (12.05.2017)
बूढीगण्डकी चुनावी नारा नबनोस् (11.28.2017)
यसरी सम्भव हुन सक्छ स्वदेशी लगानीमा बूढीगण्डकी आयोजना (11.28.2017)
व्यापार घाटा दश खर्ब नाघ्ने (11.24.2017)
बुढी गण्डकी अन्योलमा, पश्चिमसेतीको भने ढोका खुल्यो (11.24.2017)
केरुङबाट लुम्बिनीसम्म रेल कुदाउन सम्भव (11.15.2017)
अनुदान लिन नयाँ नियम (11.07.2017)
पाँच वर्षमा दुई हजार किमी रेलमार्ग ! (11.07.2017)
आयल निगममा गोपालको गोलमाल (10.11.2017)
जिएमआर आयोजना मात्र ओगट्दै (09.12.2017)
मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति (09.12.2017)
एक महिनाको व्यापार घाट ७९ अर्ब (09.06.2017)
सिमेन्टमा चिनियाँ कम्पनीले ३६ अर्ब लगानी गर्ने (09.06.2017)
९३ प्रतिशत रकम उपभोग्यमा खर्च (08.29.2017)
अध्ययनमा तीन हजार मेगावाट सुरु कहिले ? (08.29.2017)
विकास आयोजनामा हुने हेलचेक्र्याँइविरुद्ध अभियान (08.15.2017)
बाढीले विद्युतमा मात्र दुई अर्बभन्दा बढीको क्षति (08.15.2017)
तमोर आयोजनाको साइत आउने कहिले ? (08.08.2017)



 
::| Latest News

 
[Page Top]