युगसम्बाद साप्ताहिक

बल्ल एक वस्तुमा आत्मनिर्भर
Tuesday, 12.26.2017, 11:31am (GMT5.5)

काठमाडौं । कृषिप्रधान मुलुक नेपाल खाद्यान्न, फलफूल, तरककारी तथाा मासुजन्य पदार्थमा आत्मनिर्भर हुनुपर्ने हो । तर, स्पष्ट योजना र प्रोत्साहन नहुँदा ती सबै वस्तु आयातमा निर्भर रहेका बेला अण्डामा भने मुलुक आत्मनिर्भर भएको घोषणा गरिएको छ ।
अण्डा र मासुजन्य वस्तुमा आत्मनिर्भर हुने घोषणा तीनवर्ष अघि गरिएको थियो । सरकारले पशु र पन्छीजन्य पदार्थबाट प्राप्त हुने मासु, अण्डा र दूधमा आत्मनिर्भर हुने योजना सार्वजनिक गरेको थियो ।   सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासमा उक्त घोषणा सफल भएपछि पशुपालन क्षेत्रमा युवाको सक्रिय सहभागिता रहने अण्डा उत्पादक संघले जनाएको छ ।  
गत वर्ष कूल उत्पादन र देशको जनसङ्ख्याको हिसाब गर्दा नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ३३ वटा अण्डा उपलब्ध थियो । हाल सो उत्पादनमा झण्डै ४६ प्रतिशतभन्दा बढी उत्पादन गरी नेपाल अण्डा उत्पादनमा आत्मनिर्भर भएको हो । आजभन्दा दुई वर्षपहिले पशुपन्छी विकास मन्त्रालयले ४० बुँदे प्रतिबद्धतापत्रमा ‘किसानको साथी’ अभियानबाट देशको ७५ जिल्लाका किसानलाई लक्षित वर्गमा समावेश गराएपछि सो परिणाम प्राप्त भएको पशुपन्छी विकास मन्त्रालयको दाबी छ ।  
गत तीन वर्षदेखि हाँस र कुखुराको अण्डामा लगातर उत्पादन वृद्धि भएको तथ्यांकमा उल्लेख छ । आव ०७०÷७१ मा हाँसको अण्डा एक करोड ३४ लाख तीन हजार ०७१÷७२ मा एक करोड ३५ लाख ५४ हजार र ०७२÷७३ मा एक करोड ३९ लाख ६ हजार अण्डा उत्पादन भएको थियो । 
त्यसैगरी कुखुराको अण्डा ०७०÷७१ मा ८५ करोड ९५ लाख १५ हजार, ०७१÷७२ मा ८६ करोड ५९ लाख ४७ हजार र ०७२÷७३ मा एक अर्ब २९ करोड ४१ लाख ६६ हजार अण्डा उत्पादन भई नेपाल अण्डामा आत्मनिर्भर भएको अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले जानकारी दिनुभयो । 
हाल कुखुरा र हाँसको गरी प्रतिवर्ष एक अर्ब ३० करोड ४५ लाख ६२ हजार अण्डा उत्पादन हुन्छ । गत तीन वर्षपहिले ९० करोड अण्डा उत्पादन हुन्थ्यो । हाल बजारमा अण्डाको अभाव छैन । यद्यपि भारतको खुल्ला सिमानासँग जोडिएका तराईका २२ जिल्लामा भने भारतीय अण्डाको आयात रोकिएको छैन । नेपालमा अण्डा दिने कुखुराको सङ्ख्या एक करोड २३ लाख ५३ हजार ५१५ र हाँसको सङ्ख्या एक लाख ८० हजार ९२७ रहेको छ । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com