काठमाडौं । नेपालको आर्थिक–विकासमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलकाा दुई फरक ढाँचा (मोडल) प्रस्ताव गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो ।
सार्वजनिक निजी साझेदारी वा इन्जिनियरिङ, खरिद, निर्माण र वित्त व्यवस्थापन (इपिसिएफ) दुवै ढाँचामा निर्माण गर्न सकिने गरी प्रस्ताव तयार पारिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएको सचिव महेश्वर न्यौपानेले जानकारी दिनुभयो ।
अर्थ मन्त्रालयको स्वीकृतिपछि विमानस्थल निर्माणको प्रस्ताव राष्ट्रिय योजना आयोगमा छलफलको क्रममा छ । आयोगको सहमतिपछि मन्त्रिपरिषद्ले निर्माणका विषयमा आवश्यक निर्णय गर्ने सचिव न्यौपानेको भनाइ छ ।
मन्त्रालयले विज्ञ तथा सरोकार भएकासँग पनि विमानस्थल निर्माणमा साझा धारणा बनाउने बताएको छ । लामो समयदेखि चर्चा रहे पनि काम शुरु हुन नसकेपछि आयोजना अगाडि बढाउने लक्ष्यका साथ सरकारले विमानस्थलको चार किल्ला छुट्याएर तारबार गरिसकेको छ ।
नेपाली सेनाले विमानस्थलको चार किल्लाभित्र रहेको रुख बिरुवा हटाउन लागेको छ । वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनसमेत तयार भइसकेको छ । रुख कटानको स्वीकृतिका क्रममा रहेकाले सेनाले छिट्टै आवश्यक काम शुरु गर्ने तयारी गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा उक्त विमानस्थल निर्माण गर्न लागिएको भए पनि पोखरा र गौतमबुद्ध विमानस्थलको काम अगाडि बढिसकेको छ । तर निर्माण ढाँचाको विषयमा लामो समय लाग्दा आयोजना सधैँ ओझेलमा पर्दै आएको छ ।
सचिव न्यौपानेले सबै प्रक्रिया पु¥याएर विमानस्थल निर्माणको काम शुरु गर्ने तयारीमा सरकार रहेको बताउनुभयो । “अब चर्चामा होइन, काम नै शुरु हुन्छ । हामी त्यसको प्रक्रियामा लागेका छौँ”, सचिव न्यौपानेले भन्नुभयो ।
कोरियन परामर्शदाता कम्पनी ल्याण्डमार्क बल्र्डवाइडले सन् २०१० मा आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको थियो ।
विमानस्थलमा पहिलो चरणमा एउटा धावन मार्ग र टर्मिनल निर्माण गर्ने तयारी छ । करिब रु एक खर्ब २१ अर्ब लागत अनुमान गरिएको विमानस्थल सरकार आफैँले निर्माण गर्ने प्रस्ताव पारित भएको पनि लामै समय भयो तर निर्माण ढाँचामा सहमति नजुट्दा काम भने देखिने गरी हुन सकेको छैन ।
कोरियन कम्पनीले तयार पारेको प्रतिवेदनअनुसार विमानस्थल निर्माणका लागि ११ हजार ८७ बिगाहा जमिन अधिग्रहण गर्नुपर्ने हुन्छ । आयोजना प्रभावित बारा गढीमाई नगरपालिका–१६ मा रहेको टाँगिया बस्तीका एक हजार ४०० घरघुरीलाई स्थानान्तरण गर्नुपर्ने हुन्छ ।
रुख हटाउन रु ८० करोड
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले नेपाली सेनालाई वन फँडानी, सेरोफेरो सडक निर्माणका लागि रु ८० करोड निकासा गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।
उहाँले प्राधिकरणले सो आयोजनालाई प्रमुख प्राथमिकतामा राखेर काम गरेको बताए पनि आयोजना प्रमुख तोक्ने वा प्रबन्धक राख्ने भन्ने विषयमा सहमति हुन नसकेको स्वीकार गर्नुभयो ।
हाल निर्माणाधीन गौतमबुद्ध विमानस्थलको आयोजना प्रमुख नहुँदा काममा समस्या भएको छ । राष्ट्रिय योजना आयोगको केही दिन पहिले सम्पन्न राष्ट्रिय समस्या समाधान समितिको बैठकमा समेत सो विषयले प्रवेश पाएको थियो । तत्कालीन आयोजना प्रमुख ओम शर्माको कार्यावधि सकिएपछि अर्को प्रमुख तोकिएको छैन ।
सो विमानस्थल निर्माणको विषयमा कस्तो व्यक्तिलाई पठाउने भन्नेमा प्राधिकरणले हालसम्म निर्णय गर्न सकेको छैन । निर्णय नहुँदा सो विमानस्थलको अलावा निजगढ र पोखरा विमानस्थलको कामसमेत प्रभावित हुन सक्ने देखिएको छ ।
प्रवक्ता श्रेष्ठले जनशक्ति र उपकरणको उचित व्यवस्थापन गरिएका कारण गौतमबुद्ध विमानस्थलको काम युद्धस्तरमा अगाडि बढेको बताउनुभयो । लामो समय आयोजना र ठेकेदारका बीचमा रहेको विवादका कारण आयोजनामा समस्यामा परेको थियो । पछिल्लो समय चिनियाँ ठेकेदारले द्रुत रूपमा काम अगाडि बढाएको छ । आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।