युगसम्बाद साप्ताहिक

दक्षिण कोरिया र जापानमा थप अवसरको खोजी
Thursday, 04.12.2018, 11:28am (GMT5.5)

काठमाडौं । नेपालको अर्थतन्त्र धानिरहेको वैदेशिक रोजगारीका आकर्षक र राम्रो पारिश्रमिक पाउने मुलुकहरुको पहिचान उतिबेलै भए पनि अहिलेसम्म त्यता अपेक्षाकृत कामदार पठाउन सकिएको छैन । अहिले नेपालबाट बढीभन्दा बढी कामदार मलेसिया र खाडी मुलुक जाने गरेकका छन् भने दक्षिण कोरियामा इपिएस कोटामार्फत केही हजार जान्छन् । अर्कोतिर जापानमा दशक अघिदेखि प्रशिक्षार्थी कामदार पठाउने सम्झौता भए पनि यसको कार्यान्वयन हुन प्रभावकारी छैन । 
अहिले सरकारका श्रम मन्त्री गोकर्ण विष्ट नेपाली युवाहरुलाई जापान र दक्षिण कोरियामा थप सुविधा सहित कामदार कोेटा बढाउने प्रयासमा हुनुहुन्छ । केही दिनअघि उहाँले नेपालका लागि जापानी राजदूत माशासी ओगावासंग भेटवार्ता गर्दै प्रशिक्षार्थी कामदार पठाउने व्यवस्थापन गर्न आग्रह गर्नुभयो । त्यस्तै आइतबार मात्रै दक्षिणा कोरियासंग नेपाली नर्सहरु पनि लैजाने बन्दोबस्त गर्न प्रस्ताव गर्नुभयो । दक्षिण कोरियामा रहेका कामदारलाई करार अवधिमा कम्तिमा एकपटक आफ्नो परिवारलाई कोरिया लैजान पाउने व्यवस्था गर्ने र नेपाली नर्सहरुलाई अवसर दिन उहाँले प्रस्ताव गर्नुभएको हो । कोरिया पुगेका कामदारले निश्चित अवधिका लागि परिवारका सदस्यलाई त्यहाँ लैजान पाएमा त्यसले मनोवैज्ञानिक रुपमा पनि निकै उत्साह थप्ने विश्वास गरिएको छ ।
त्यस्तै अहिले कोरियामा विदेशबाट नर्सिङ गरेर कामका लागि पुग्नेको संख्या बढेको सन्दर्भमा नेपाली नर्सहरुका लागि पनि कोरियामा उचित अवसर मिलाइदिन आग्रह गर्नुभयो । आइतबार कोरियन राजदूत पार्क योंग सिकलाई सो प्रस्ताव गर्नुभएको हो । मन्त्री विष्टले कोरिया पुगेका केही कामदारमा डिप्रेशनको समस्या देखिएको छ । मानसिक रुपमा उब्जिएका समाधान गर्न पनि यसले भूमिका खेल्छ भन्दै सो प्रस्ताव गर्नुभएको हो । त्यस्तै उहाँले नेपाली कामदारको बिमालाई २४ घण्टामा विस्तार गर्न पनि कोरियन राजदूतसँग आग्रह गर्नुभएको छ । अहिले कोरियाले ‘वर्किङ आवर’ र कार्यस्थलमा मृत्यु भएका कामदारको बिमा रकम दिने गरेको छ । 
आफूहरु दक्ष कामदार समेत कोरिया पठाउन इच्छुक रहेको भन्दै मन्त्री बिष्टले सीपमुलक तालिमहरुको लागि सहयोग गर्न र अहिले दिइरहेको कामदार कोटा पनि बढाइदिन आग्रह गर्नुभएको छ । त्यस्तै मन्त्री बिष्टले कोरियाबाट कामदारले पठाउने रेमिट्यान्स औपचारिक च्यानलबाट ल्याउने गरी उचित व्यवस्था गर्न पनि आग्रह गर्नुभएको छ । अहिले त्यहाँ कार्यरत ९० प्रतिशत नेपालीले हुण्डीमार्फत रेमिट्यान्स पठाइरहेका छन् । 
भेटमा सहभागी ईपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालका अनुसार जवाफमा राजदूत सिकले कोरियामा विदेशबाट जाने कामदारमा नेपाली र काम्बोडियालीको संख्या धेरै रहेको भन्दै सकारात्मक पहल लिने आश्वासन दिएको बताउनुभएको छ ।
करार हुने ४ वर्ष १० महिनाको बीचमा कम्तिमा एकपटक कामदारको परिवार त्यहाँ जान पाए भने त्यसले निकै ठूलो अर्थ राख्ने अनि कामदार र उनीहरुका परिवारलाई पनि कोरियाली रोजगारीप्रति थप गौरव अनुभुति हुने खनाल बताउनुहुन्छ ।
नेपाली युवाहरुका लागि दक्षिण कोरियाा युरोप वा अमेरिका जस्तै आकर्षक गन्तव्य हो । विश्व अर्थतन्त्रको शक्ति राष्ट्रमध्येको एक दक्षिणा कोरिया र तेस्रो ठूलो अर्थतन्त्र जापानमा नेपालीहरुको संख्या बढेसंगै उनीहरु अनेक समस्यामा पर्ने गरेका कारण त्यसको निराकरणका लागि सरकारले पहल देखाउनु सकारात्मक मानिएको छ । यसका अतिरिक्त अहिलेका वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकहरुमा रहेका नेपालीले भोगिरहेका र भोग्नुपर्ने समस्याहरुको समाधानका लागि सरकारले द्रुत पहल गर्नुपर्ने आवश्यकता छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com