काठमाडौं । नेपालमा रोजगारीको अभावमा दैनिक एक हजार पाँच सय युवा विदेशिन्छन् । उनीहरुले श्रम गरेर पठाएको रकमबाट मुलुकको आयात धानिएको छ । नेपाली युवायुवतीहरुको विदेश यात्रा रहर नभएर बाध्यता हो । यतिबेला युवाको तुलनामा युवतीहरुको संख्या बढ्न थालेको छ । विगत केही वर्षयता नेपालबाट वैदेशिक रोजगारीमा जाने पुरूषको संख्यामा तीव्र रूपमा कमी आएको छ भने महिलाको संख्यामा वृद्धि भएको एउटा अध्ययनले देखाएको छ ।
विदेशिनेमा पुरूषको संख्या ठूलो रहेकाले उनीहरू जाने क्रममा कमी आउँदा विदेश जाने कुल कामदारको संख्या घटेको देखिन्छ । पछिल्ला ९ वर्षमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमध्ये सरदर ९६ प्रतिशत पुरूष र ४ प्रतिशत महिला छन् । तर केही वर्षयता यो संख्या बढ्दो छ । आर्थिक वर्ष २०७२।७३ को तुलनामा ०७३।७४ मा महिला कामदारको देशबाट बाहिरिने क्रम झण्डै ९ प्रतिशतले वृद्धि भएको विभिन्न अन्तर्राष्ट्रिय निकाय र श्रम मन्त्रालयले संयुक्त रूपमा गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तो वृद्धिको कारणबारे श्रम मन्त्रालयकी उपसचिव रमा भट्टराईले “एउटा कारण महिला आत्मनिर्भर हुनुपर्छ भन्ने चेतना बढेकोले पनि हुन सक्छ भने अर्को सरकारले विदेशमा घरेलु महिला कामदार संस्थागत रूपमा पठाउने भनेपछि गैरकानूनी रूपमा जाने महिला कामदारको संख्या घटेर संस्थागत रूपमा जान थालेकोले वृद्धि भएको हुनसक्ने बताउनुहुन्छ ।
पुरूषको तुलनामा महिलाले धेरै समय काम गर्नुपर्ने, उनीहरू शारिरिक तथा आर्थिक शोषणमा पर्ने गरेको लगायतका कारण देखाउँदै सरकारले आर्थिक वर्ष ०७१।०७२ मा महिलाहरूलाई वैदेशिक रोजगारीमा पठाउन कडाइ गरेको थियो । तर कामदार जाने गन्तव्य मुलुक लगायतका पक्षमा पछि केही खुकुलो पारिएको बताइन्छ । श्रमसम्बन्धी एकजना जानकार गणेश गुरूङका अनुसार खाडी मुलुकमा महिला घरेलु कामदारको अत्यधिक माग भएकाले विदेशिने नेपाली महिला कामदारको संख्या बढेको बताउनुहुन्छ ।
उहाँले “गन्तव्य देशहरूमा बूढाबूढी र बालबालिका हेर्ने मानिसको कमी छ । त्यसमा महिला कामदारको निकै माग छ । जति कडाइ भयो महिलाको जाने क्रम त्यति नै घट्छ र जति खुकुलो हुन्छ त्यति नै संख्या बढ्दै जाने बताउनुहुन्छ । नेपाली महिला कामदारहरूको मुख्य गन्तव्य संयुक्त अरब एमिरेट्स, कुवेत र मलेसिया रहेको छ । र ती देशमा पहाडी भेगका महिलाहरू बढी विदेशिने गरेको पछिल्लो अध्ययनमा जनाइएको छ ।