युगसम्बाद साप्ताहिक

सुन तस्करीको सनसनी
Wednesday, 05.30.2018, 04:44pm (GMT5.5)

काठमाडौं । साँढे ३३ किलो सुन र सनम शाक्य हत्या काण्डका मुख्य आरोपी भनिएका चुडामणि उप्रेती गोरेले दिएको बयानले सनसनी मच्चिएको छ । उनले आफू सुन तस्करमिा संलग्न भएको स्वीकार्दै आफूले सेटिङ मात्र मिलाउने गरेको र यसमा उच्च प्रहरी अधिकारी र ठूला नेताका समेत संलग्नता भएको सनसनीपूर्ण खुलासा गरेका छन् । आइतबार बयान सकिएका गोरे कारागार चलान भएका छन् । तर, उनले दिएको सनसनीपूर्ण बयानले सुन तस्करीमा उच्च तहका नेताहरूको संलग्नताको उहिल्यैदेखिको आरोप पुष्टि हुने देखिएको छ ।
सुन तस्करीका नाइकेहरूको खोजी अब सरकारको चुनौति हो । किनभने जिल्ला अदालत मोरङमा दिएको ३७ पृष्ठ लामो बयानमा गोरेले सुुन तस्करीमा आफ्नो संलग्न भएको तर, आफू नाइके नभएको दाबी गरेका हुन् । गोरेका अनुसार तस्करीको लगानीकर्ता भारतीय भएकाले सुन पनि भारतमा जान्थ्यो । धरानका सुन व्यापारी सुनिलकुमार अग्रवाल, कृष्ण अग्रवाललगायतले पनि सुनमा लगानी गरेको र नेपालमा तस्करीको धन्दा चलाउने छिरिङ वालेङ घले हुन् ।
बयानमा आफूले भरियाहरूको सेटिङ मिलाउने गरेको भन्दै गोरेले बयानमा भनेका छन्– “म छिरिङकै लाइनमा बसेर सुन ओसार पसारको कारोबार गर्ने सामान्य मानिस मात्र हुँ । छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाएको र सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला मासिसको मिलेमतोमा हुनेगर्छ । कोको संलग्न छन्” यकिन भन्न सक्दिन ।
यो प्रकरणमा एसएसपी श्याम खत्रीको प्रत्यक्ष संलग्नता रहने गरेको छ । अनि खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयान छ । खत्रीले एक किलो सुन पास गरेवापत ५० हजार रूपैयाँ लिने गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाउन खत्रीको मूख्य भूमिका रहेको छ । खत्रीले आफ्ना ड्राइभर र अंगरक्षकलाई प्रयोग गरेर सरकारी गाडीमा नै सुन बाहिर ल्याउँथे । गोरेले मात्र होइन, सुन तस्करीको अभियोगमा पक्राउ परेका अरूले पनि खत्रीलाई पोलेका छन् ।
गोरेले अदालतलाई दिएको बयानमा भनिएको छ श्याम खत्रीले सुन बाहिर निकालेवापत प्रतिकिलो ५० हजार निज आफैंले बुझ्थे । यो लाइनबाट ४०० किलोदेखि ५०० किलोसम्म सुन आएको छ । फ्लाइ दुबईबाट एक पटकमा १५ देखि २० किलोसम्म सुन आउने गरेको भन्दै उनले भनेका छन्, “दुबईबाट भरियामार्फत झोलामा सुन आउँछ । भरियालाई प्रहरीले पास उपलब्ध गराउथे । सो पछि कुनै चेकजाँच हुँदैनथ्यो । सुन बोक्ने मानिस सहजै प्रहरी हाकिमको कोठामा जान्थ्यो । झोला त्यही छाडिदिन्थे ।’”
प्रहरी हाकिमकहाँ छाडिएको सुन प्रहरीले अनुकुल समय मिलाएर बाहिर निकाल्ने गर्थे । बयानमा भनिएको छ “दुबईबाट आउने सुन भारतीय ब्यापारीको हुन्थ्यो । सुन सिधै तत्कालीन एसएसपी श्याम खत्रीको कोठामा जान्थ्यो । निजले अनुकल समयमा सुन बाहिर निकाली हाम्रा भरियालाई दिन्थे ।”
गोरेको बयानलाई आधार मान्ने हो भने खत्रीले ५०० किलो सुन पास गराउँदा साढे २ करोड बुझेका छन् । छानविन समितिको अनुसन्धानका क्रममा बरामद भएको खातामा पनि खत्रीलाई एक करोड बढी रकम दिएको पाइएको थियो । खत्री अहिले फरार छन् । छानविन समितिले बयानका लागि बोलाए पनि अनुपस्थित भई फरार भए । उनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठनमा रेड नोटिस जारी गर्ने तयारी छ । खत्री तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए तर, पछि उनलाई अदालतले सफाइ दिएको थियो ।
यति मात्र हैन सुन तस्करी र उर्लाबारीका सनम शाक्यको हत्यामा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ प्रहरीसँग शव लुकाउने ‘डिल’ भएपछि भारत छिरेका थिए । बयानमा गोरेले सनमको हत्यापछि शव व्यवस्थापन गर्न प्रहरीसँग २ करोडको डिल भएको तर, प्रहरीमाथि भर नलागेपछि भागेर कलकता पुगेको बताएका हुन् ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com