युगसम्बाद साप्ताहिक

बजेट घाटा एक सय ३८ अर्ब
Tuesday, 06.12.2018, 03:17pm (GMT5.5)

काठमाडौं । यस वर्षको बजेट घाटा १३८ अर्ब २३ करोड पुगेको छ । यो तथ्यांकसंगै आर्थिक वर्षको १० महिनामा बजेट घाटामा व्यापक वृद्धि भएको छ भने विप्रेषण आप्रवाहमा कमी आएको छ । 
नेपाल राष्ट्र बैंकले चालु आवको १० महिनाको तथ्यांकमा आधारित भएर आइतबार जारी गरेको मुलुकको आर्थिक परिदृश्यमा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट घाटा रु १३८ अर्ब २३ करोड पुगेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु ५१ करोड थियो । अघिल्लो वर्षको १० महिनामा चालु खाता रु सात अर्ब ५७ करोडले घाटामा रहेकामा समीक्षा अवधिमा सो घाटामा उल्लेख्य विस्तार भई रु १९१ अर्ब दुई करोड पुगेको छ । 
समीक्षा अवधिमा आयात उल्लेख्य रहेकाले चालु खातामा उच्च घाटा भएको हो ।  अघिल्लो वर्षको १० महिनामा रु ५३ अर्ब ८१ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु १८ अर्ब ९३ करोडले घाटामा रहेको छ ।  राष्ट्र बैंकका अनुसार आव १० महिनासम्ममा कूल वस्तु निर्यात ९.२ प्रतिशतले वृद्धि भई रु ६६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९.८ प्रतिशतले वृद्धि भएको थियो । सो अवधिमा  भारततर्फ ७.१ प्रतिशत, चीनतर्फ ८७.४ प्रतिशत र अन्य मुलुकतर्फ ७.७ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा अलंैँची, जुटको बोरा, पोलिष्टर यार्न, धागो, अदुवालगायत वस्तुको निर्यात बढेको तथा जिआइ पाइप, जुस, जुटको डोरी, उनी गलैँचा, पस्मिनालगायत वस्तुको निर्यात घटेको छ । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com