युगसम्बाद साप्ताहिक

हुण्डीको हुण्डरी र स्वीस बैंकको रकम
Tuesday, 07.10.2018, 02:44pm (GMT5.5)

नेपाल भित्रिने वार्षिक ७ खर्बभन्दा बढी रुपैयाँको ८३ प्रतिशत हिस्सा विदेश नै जान्छ । त्यो भित्रिएको रकम कति बस्तु आयातबाट त कति हुण्डीमार्फत जाने गरेको आशंका छ । नेपालले वैदेशिका रोजगारीबाट भित्रिएको त्यति धेरै रकम उत्पादनमूलक क्षेत्रमा खर्च गर्नैै सकेको छैन । दैनिक उपभोग्य र िवलासी बस्तु खरीदमा त्यो रकम सकिन्छ । यसरी भित्रिएको रकम हुण्डीमार्फत स्वीस बैंकसम्म पुग्नुका साथै अवैध लगानीकर्तासम्म पनि पुग्ने गरेको छ ।
अनि अवैध रकम हुण्डीमार्फत नै नेपाल आउने गरेको छ । आइतबार मात्र वीरगञ्जमा एकजना एक करोड रुपैयाँसहित पक्राउ परे । पछिल्लो समय स्वीटजरल्याण्डको केन्द्रीय बैंकले नेपालीहरुको ३५ अर्ब रुपैयाँ स्वीस बैंकमा निक्षेप रहेको तथ्य सार्वजनिक गरेपछि त्यत्रो रकम कसरी बाहिरिदियो भन्ने कुतुहलता अरु व्यापक छ । 
नेपालीले सरकारको अनुमति नलिइकन विदेशी बैंकमा रकम जम्मा गर्न, घरजग्गा खरीद र शेयर लगानी गर्न पाउँदैनन् । तर स्वीस बैंकमा जम्मा भएको रकमको कुनै रेकर्ड नभएको राष्ट्र बैंकले खुलासा गरिसकेको छ । बैंकले त्यो रकम अवैध भएको हुनसक्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ । किनभने नेपालीको पैसा सजिलै स्वीस बैंकमा पुग्दैन । नेपालीहरू काम गर्ने खाडी तथा दक्षिण कोरियाजस्ता देशबाट हुन्डीमार्फत् पैसा स्वीटजरल्यान्ड पठाइएको हुनसक्ने विज्ञ तथा अधिकारीहरूको शंका छ । त्यो पैसाको भरपाइ गैरकानुनी ढंगबाट पैसा कमाउनेहरूले विदेशमा रहेका नेपाली कामदारका परिवारलाई विदेशमा गरिदिन्छन् ।
अवैध रकम विदेशमा रहेको खुलासा यो मात्रै पहिलो हैन । दुई वर्षअघि चर्चित पानामा पेपर्स लिक्सपछि काठमाडौंमा एकाएक हुण्डी कारोबारीहरु पक्राउ पर्न थालेका थिए । अहिले पनि यदाकदा पक्राउ परिरहन्छन् । पानामा पेपर्स लिक्समा चर्चित उद्योगी–व्यवसायीहरुले करछलीको रकम लगानी गरेको खुलासा भएको थियो ।
हुण्डीले विदेशी बैंकमा रकम जम्मा गर्ने मात्र आतंकवादी गतिविधि तथा लागूऔषध ओसारपसारमा समेत प्रयोग हुँदैआएको छ । नेपालमा पछिल्लो समय चर्चामा रहेको सुन तस्करी पनि हुण्डीमार्फत नै हुने गरेको खुलिसकेको छ । 

के हो हुण्डी ?
अवैध रकम सुरक्षित रुपमा उता–यता गर्ने कारोबार नै हुण्डी हो । यो काम रेमिट्यान्स कम्पनीको भन्दा छिटो र सस्तो पनि पर्न आउँछ । अनि कर तिर्नपर्दैन । आपसी विश्वासका आधारमा यो कारोबार हुन्छ । निश्चित कमिशनका आधारमा यस्तो काम गर्नेहरुले ठूला र शक्तिशाली व्यक्तिदेखि नाम कहलिएको उद्योगी–व्यवसायीहरुको समेत रकम ओसारपसार गर्दछन् । स्वीस बैंकमा जम्मा भएको रकम होस् पानामा पेपर्सको खुलासा यी सबै हुण्डीकै माध्यमबाट भएका हुन्छन् ।
यति मात्र हैन, आतंकवाद, लागूऔषध कारोबार, सुन तस्करी तथा हतियार तस्करहरुले पनि हुण्डीकै माध्यमबाट रकम ओसारपसार गर्दछन् । हुण्डीबाट भित्रिने रकम अवैध हुने र राष्ट्रिय आयमा त्यसको गणना नहुने हुँदा त्यो रकम कहाँ परिचालन भयो पत्तो हुँदैन । त्यस्तो रकम आपराधिक वा आतंकवादी गतिविधिमा पनि प्रयोग हुनसक्ने भएकाले यसलाई कडाई गरिएको हो । सम्पत्ति शुद्धीकरणको विश्वव्यापी सञ्जाल त्यसैका लागि गठन भएको हो ।
हुण्डी कारोबार असंगठित र अनौपचारिक रूपमा हुने गरेकाले यसमा संलग्नहरूले प्रायः व्यक्तिगत सम्बन्ध, सम्पर्क र विश्वासका आधारमा कारोबार गर्ने गर्छन् । कारोबार गर्नेसँग रकम बुझाएको, भुक्तानी गरेको लिखित प्रमाण हुँदैन । कतिपय अवस्थामा रकम बिचैमा हराएका समाचार बाहिर आए पनि अनुसन्धान गर्ने आधार हुँदैन । यो आफैंमा अबैध कारोबार भएकाले हुण्डीवालाले बेइमानी गरी भुक्तानी नदिए कानूनी उपचारको बाटोसमेत समात्न सकिंदैन । यति हुँदाहुँदै पनि मानिसहरूले अझैसम्म हुण्डी प्रयोग गरिरहेकै छन्– विश्वासको आधाधारमा अनि करछलीका लागि ।
अर्कोतिर अवैध रकम यसै पनि जोखिममै पर्ने हुँदा सुरक्षित पुगे आनन्दै नपुगे पनि चिन्ता नहुने देखिन्छ । त्यसो त सामान्य व्यक्तिले समेत अन्जानमा हुण्डीमार्फत पैसा पठाउँदा विचल्लीमा परेका समाचारहरु बेलाबेलामा नआउने हैन । वैदेशिक रोजगारीमा गएकाहरु यस्तो समस्यामा पर्ने गरेका छन् ।
हुन त, पहिले वैदेशिक रोजगारीमा जानेहरुले पनि हुण्डीबाटै रकम पठाउने गरेका थिए । बैंकिङ् पद्धतिबाट रकम पठाउने व्यवस्था गर्नुअघि ९० प्रतिशतसम्म रकम हुण्डीबाट आउँथ्यो अहिले त्यसको विपरीत छ । तर पनि विदेशबाट आउने र विदेशिने ३० प्रतिशत रकम अझै पनि हुण्डीकै कारोबार हुने आँकलन बैंकिङ्ग क्षेत्रका अधिकारीहरुको छ । त्यो रकम रेमिट्यान्सको भन्दा बढी पनि हुनसक्छ ।

कस्तो बेला बढ्छ हुण्डीको कारोबार ?
मुलुकको राजनीतिक अस्थिरता, आर्थिक अनुशासनको कमी, महंगी, अभाव जस्ता पक्षहरु हुण्डी कारोबारीका लागि अनुकूल र उपयुक्त समय हो । अझ शान्ति सुरक्षाको फितलो व्यवस्थाप हुँदा अवैध र अनधिकृत व्यापार बढ्ने र त्यस्तो बेला हुण्डीको कारोबार बढी हुने गर्दछ । 
यस्तो रकम सत्ता परिवर्तन, राजनीतिक आन्दोलन, विखण्डनकारी गतिविधि तथा समाजमा अशान्ति मच्चाउन पनि प्रयोग हुनसक्छ । हुण्डीबाट आएको सबै रकम सही प्रयोजनकै लागि आएको मान्न सकिंदैन । अनि यसले मुलुकको विदेशी मुद्राको सञ्चिति घटाउँछ । अनधिकृत व्यापार व्यवसायसँगै राजश्व समेत घटाउँछ । त्यसैले हुण्डी मुलुकको अर्थतन्त्रलाई कमजोर बनाउने अबैध कारोबार हो ।
हुण्डीबाट भित्रिने रकमले आर्थिक–सामाजिक–राजनीतिक तीनवटै पक्षलाई क्षति पु¥याउन सक्दैन भन्ने आधार हुन्न । अझ चुनावका बेला यस्तो रकम बढी भित्रिन्छ । हुण्डी रोक्न जति प्रयास गरिएको छ त्यो अपर्याप्त छ । हुण्डीबाट रकम भित्रिने मात्र हैन बाहिरिने क्रम रोक्न नसक्दासम्म आर्थिक समृद्धिमा अबरोध आइरहन्छ । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com