युगसम्बाद साप्ताहिक

भारतले नेपालको नोट किन साटेन ?
Tuesday, 09.11.2018, 12:29pm (GMT5.5)

काठमाडौं । नेपाल र भारतबीच इतिहासमै सबैभन्दा सुमधुर सम्बन्ध रहेको दुबै देशका प्रधानमन्त्रीले नै दावा गरिरहेका बेला नेपालका बैंकहरुमा र सर्वसाधारणसंग रहेका प्रतिबन्धित भारु ५०० र १००० का नोट साट्न चासो नदेखाउनु आफैंमा विडम्बनाको विषय बनेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झण्डै दुई वर्षअघि कालो धन रोक्न भन्दै घोषणा गरेको नोटबन्दीपछि नेपालमा रहेका पाँच सय र १००० दरका भारतीय नोटहरु अहिलेसम्म साटिएको छैन । भारतले भुटानको नोट साटिदिएको छ भने नेपालमा रहेको नोटको वेवास्ता गर्दैआएको छ ।
गत साता आफ्नो वार्षिक प्रतिवेदन पेश गर्दै भारतीय केन्द्रीय ब्याङ्कले नोटबन्दीपश्चात् लगभग सबै प्रतिबन्धित नोट भारतीय बैंकिंग प्रणालीमा फर्किएको उल्लेख गरेको थियो ।
त्यसमा नेपालमा रहेका बाँकी त्यस्ता नोटबारे अब के हुने भन्ने उल्लेख छैन । अर्थात् भारतले नेपालमा थन्किएका पुराना प्रतिबन्धित भारु नलिने आशय देखिएको छ ।
दुई देशका केन्द्रीय बैंकबीच यस विषयमा पटकपटक छलफल भएर साट्ने चर्चा चले पनि अहिलेसम्म त्यस्तो हुन सकेको छैन । नेपालका बैकहरुमा करोडौं बराबरका प्रतिबन्धित भारु रहेका छन् । ती नोट साट्न अब बैंकस्तरबाट नभै सरकारी तहबाटै कुरा अघि बढ्नुपर्ने नेपाल राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन् । भारतीय रिजर्व बैंक र नेपाल राष्ट्र बैंकबीच भएका अहिलेसम्मका वार्तामा कुनै निष्कर्ष ननिस्केकाले अब दुई देशका सरकारबीच नै उक्त विषयमा छलफल हुनुपर्ने राष्ट्र बैंकका अधिकारीले बताएका हुन् ।
नेपालमा रहेका प्रतिबन्धित भारु साट्न नेपाल र भारतका सरकारबीच उच्चस्तरमै ठोस पहल हुनुपर्ने नेपाल राष्ट्र बैंकका ती अधिकारी सुझाव छ । नेपालमा प्रतिबन्धित पाँच सय र एक हजार रुपैयाँका करिब ८ करोड रुपैयाँ रहेको अनुमान राष्ट्र बैंकको छ । तर सर्वसाधारणसँग पनि धेरै परिमाणमा त्यस्ता भारतीय रुपैयाँ रहेकाले उनीहरूलाई ठूलै मर्का परेको छ ।
भारतले भारु नसाटिदिंदा बैंकहरुलाई त करिब आठ करोड घाटा भयो नै सर्वसाधारणले भारतमा रोजगारी गरेर कमाएर ल्याएका पैसा पनि साटिएनन् । धेरै सर्वसाधारणको भारु घरमा थन्केका छन् । यसको विपरीत नोटबन्दीको मारमा नेपाल जस्तै परेको भुटानको भारु भने भारतले साटिदिएको छ । तर नेपालको भने नसाटिदिएकोमा बैंक अधिकारीहरु आक्रोशित छन् ।
त्यसो त साढे तीन महिना जति पहिला जनकपुर र मुक्तिनाथ दर्शन गर्न आएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रहेका भारतीय पाँचसय र एक हजारका नोट साट्ने व्यवस्था गरिदिन आग्रह गरेका थिए । तर ती कुराकानी हालसम्म फलदायी भएका छैनन् ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com