युगसम्बाद साप्ताहिक

व्यापारघाटा दुई महिनामा दुई खर्ब
Tuesday, 10.02.2018, 12:43pm (GMT5.5)

काठमाडौं । मुलुकले राजनीतिक स्थिरता पाएको, दुई तिहाई बहुमतको सरकार रहेको भए पनि मुलुकको आर्थिक अवस्थामा भने कुनै सुधार छैन । पछिल्लो दुई महिनामा मात्रै व्यापार घाटा दुई खर्बले नाघेको छ । आर्थिक विकास र समृद्धिको नारा जति नै घन्के पनि र योजना जति नै बने पनि ती सबै कागजी पुलिन्दा मात्रै सावित भएका छन् । कृषिउपजमा समेत आत्मनिर्भर हुन नसकेको मुलुकको आयात वैदेशिक रोजगारीले धानेको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको दोस्रो महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४५ दशमलव ७४ प्रतिशतले व्यापारघाटा वृद्धि भएको छ । भदौ महिनासम्म वैदेशिक व्यापारघाटा २ खर्ब १७ अर्ब ६४ करोड ७५ लाख ९२ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको भदौ महिनासम्म व्यापारघाटा १ खर्ब ४९ अर्ब ३४ करोड २९ लाख ६ हजार रुपैयाँ थियो ।
भदौ महिनामा विभिन्न देशहरुबाट २ खर्ब ३२ अर्ब ३४ करोड ६६ लाख १२ हजार रुपैयाँको वस्तु तथा सामान आयात भएको छ । अघिल्लो वर्षको तुलनामा ४२ दशमलव ५९ प्रतिशतले आयातमा वृद्धि भएको हो । आर्थिक वर्ष २०७४।०७५ मा १ खर्ब ६२ अर्ब ९४ करोड ९१ लाख ४४ हजार रुपैयाँको सामग्रीहरु विभिन्न देशहरुबाट नेपाल भित्रिएको थियो ।
त्यसो त यस अवधिमा निर्यात पनि बढेको छ । तर, त्यो व्यापार घाटा कम गर्न पर्याप्त छैन । अघिल्लो वर्ष नेपालबाट विभिन्न देशहरुमा १३ अर्ब ६० करोड ६२ लाख ३८ हजार रुपैयाँको सामान निर्यात भएकोमा यस वर्ष ८ दशमलव ०३ प्रतिशतले बढेर १४ अर्ब ६९ करोड ९० लाख २० हजार रुपैयाँको सामग्रीहरु निर्यात भएको छ ।
आर्थिक वर्षको सुरुवातदेखि नै व्यापारघाटा चुलिने संकेत देखिएको थियो । अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा ५७.१८ प्रतिशतले व्यापार घाटा बढेको थियो । साउनमै मुलुकले १ खर्ब १३ अर्ब ६८ करोड ८६ लाख ४६ हजार रुपैयाँ व्यापारघाटा बेहोरेको थियो ।
गत आर्थिक वर्षको साउन महिनामा ७६ अर्ब ७३ करोड ६० लाख ७३ हजार रुपैयाँको व्यापार घाटा भएको थियो । त्यसो त साउनमा पनि अघिल्लो वर्षको तुलनामा निर्यात थोरै भए पनि बढेको थियो । तर, आयात भने ठूलो मात्रामा बढ्दा व्यापारघाटा पनि वृद्धि भएको हो । गत वर्षको साउन महिनामा ६ अर्ब ७० करोड ७७ लाख ९५ हजार रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थिए ।
दुई तिहाईको सरकार र विज्ञ अर्थमन्त्री भएको समयमा अर्थतन्त्रमा व्यापक सुधार हुने सरकारको दावी रहे पनि एक महिनामा सवा खर्ब नजिक व्यापारघाटा हुनु अर्थतन्त्रका लागि राम्रो संकेत होइन ।
आर्थिक वर्षको पहिलो महिना साउनमा विभिन्न मूलुकबाट १ खर्ब २० अर्ब ६१ करोड २० लाख ५३ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो भने सोही अवधिमा ६ अर्ब ९२ करोड १५ लाख रुपैयाँको मात्रै निर्यात भएको थियो ।
विगतमा झै भारतसँगकै व्यापारघाटा उच्च छ । भारतबाट झण्डै एक खर्बको आयात हुँदा निर्वात भने ४ अर्बको हाराहारीमा पनि छैन । साउन महिनाको तथ्यांक हेर्दा व्यापार घाटाका आधारमा चीन दोस्रो स्थानमै देखिएको छ ।
नेपालको व्यापारघाटा भारतसंग उच्च छ । भारतले नेपालबाट निर्यात हुने कृषिजन्यदेखि औद्योगिक उत्पादनमा समेत अनेक अवरोध खडा गर्ने गरेको छ । नेपाललाई एकलौटी बजार बनाउँदै आएको भारतले नेपालको वस्तु निर्यातमा उत्पन्न भैरहेको समस्या समाधान गर्नेतिर कुनै चासो देखाएको छैन । ‘मुखमा रामराम बगलीमा छुरा’ गर्ने भारतले नेपालसंगको सम्बन्ध जतिसुकै प्रगाढ रहेको भने पनि नेपाललाई जहिल्यै अचेट्ने काम मात्रै गर्दैआएको छ ।
पछिल्लो समय चीनसंग व्यापार तथा पारवहन सन्धिको ‘प्रोटोकल’ मस्यौदाले अन्तिम रुप लिएपछि भारतमा यसको हंगामा मच्चिएको छ । भारतका संचारमाध्यम तथा विश्लेषकहरु नेपालले भारतलाई पत्याउन छाडेको र चीनतिर लागेको भन्दै यसले भारतलाई खतरा हुने र सच्चिनुपर्ने बताइरहेका छन् । नेपालको वस्तु निर्यातलाई निर्वाध प्रवेश मात्रै दिने हो भने भारत नेपालको हितैषी नै रहेको प्रष्ट हुने भए पनि त्यस्तो स्थिति छैन ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com