युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 07.24.2019, 06:37am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
सबै नेपालीलाई बैंक खाता अभियान- वित्तीय पहुँचको आधार
Tuesday, 04.16.2019, 01:24pm (GMT+5.5)

आज विक्रम संवत् २०७६ को पहिलो दिन । आम नेपाली नयाँ वर्षको स्वागतमा रमाइरहेका छन् । चैत–वैशाख, वसन्त ऋतु अर्थात् बोटबिरुवामा समेत नयाँ कोपिला लाग्ने मौसम । यही अवसरमा सरकारले पनि नयाँ अभियान शुरु गरेको छ । सरकारले नयाँ वर्ष पहिलो दिन नै देशैभर ‘खोलौँ बैंक खाता’ अभियान शुरु गरेको हो । ‘समृद्धिसँग जोडौँ नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ अभियान शुरु गरिएको हो । वैशाख १ गते राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा आलीले अभियानको शुभारम्भ गर्नुभयो ।
अभियानलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौँ बैंक खाता¬’ राष्ट्रिय अभियानको शुभारम्भ गर्दै आगामी बजेटमा वृद्धभत्ता वृद्धि हुने घोषणा गर्नुभएको छ । 
प्रधानमन्त्री ओलीले नयाँ वर्ष प्रवेशको दिनलाई पात्रोको पानो मात्र नभएर इतिहास र परिवर्तनको पात्रो पल्टिएको दिनका रूपमा मनाइएको बताउनुभयो । ज्येष्ठ नागरिक बीमाका साथ ‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता’ नाराका साथ यो अभियान थालिएको हो । 
यसअघि सरकारले श्रम क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको थियो भने सामाजिक सुरक्षाका लागि आजको अभियान नयाँ फड्को हुने ठानिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य बीमा बोर्ड, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एशोसिएशनले सो अभियान शुरु गरेको हो । कार्यक्रममा ज्येष्ठ नागरिकका लागि रु एक लाखसम्मको स्वास्थ्य बीमा घोषणा गरिको हो । सो बीमको नेपाल सरकारले प्रिमियम तिर्नेछ ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “यो नयाँ युगको शुरुवात भएको छ । अब नेपालमा बैंक खाता नहुने र खातामा रकम नहुने नागरिक हुने छैन । यसले सामाजिक सुरक्षामा एक प्रकारका क्रान्ति ल्याएको छ । 
नेपाल हरेक दिन एक कदम अगाडि जानेछ । हामी गाँस, बास, कपाल, ज्ञान र मानसम्मान र सुरक्षाको सुनिश्चितता दिनेछौँ । अब थैलीका दिन गए, चेकका दिन आए । थैलीमा राख्नुपर्ने कार्ड र चेकबुक राख्दा हुन्छ ।”
आमा बुबालाई खाना खुवाउँदा कति नाफा हुन्छ भनेर हिसाबले गर्न नहुने भन्दै उहाँले पहिला पहिला रोगी र बुढाबुढीलाई बीमा नगर्ने नीति हुनु गलत भएको भन्दै बिरामी र अशक्त हुन्छ भनेरै स्वास्थ्य बीमा गरिनुपर्छ भन्नेमा सरकारले स्पष्ट सोचका साथ अगाडि बढेको जनाउनुभयो । 
अबको सम्पूर्ण काम आधुनिक नेपाल निर्माणतर्फको यात्रामा केन्द्रित हुने भन्दै कृषि, ऊर्जा, शिक्षा, स्वास्थ्यका क्षेत्रमा अत्यन्त गतिका साथ काम भइरहेको जनाउँदै उहाँले भन्नुभयो,“यो सरकार यतिमा वा उतिमा ढालिन्छ भन्नेहरूले बुढाबुढीका नजिकमा गएर त्यसो नभन्न र भनिएमा लौरो खानुपर्ला ।” सरकारको वृद्धभत्ताले मानिसलाई श्वाश जगाएकाले यसले मनोवैज्ञानिकरूपमा बा, आमाको आयु बढाएको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा वृद्धभत्ता बढ्ने घोषणा गर्नुभयो । 
सरकारले चालू आर्थिक वर्षको बजेटमा नै सबै नेपाली नागरिकको बैंक खाता खोल्ने अभियान नै चलाउने कार्यक्रम समावेश गरेको छ । सोही कार्यक्रमलाई सफल बनाउने लक्ष्यका साथ आजदेखि सबै नेपालीको बैंक खाता खोल्ने अभियान शुरु भएको हो । वित्तीय रूपमा नेपाली नागरिकलाई सबल, सक्षम एवम् जागरुक बनाउने र सबै आर्थिक कारोवार बैंक खातामार्फत गर्ने गरी अभियान शुरु गरिएको हो । 
सो अभियानअन्तर्गत बैंक खाता खोल्दा कुनै पनि शुल्क तिर्नुपर्ने छैन । बरु बैंकले नै त्यस्ता खातावालालाई रु एक सय उपलब्ध गराउनेछ । शहरी क्षेत्रमा विशेषगरी रोजगारी तथा अध्ययन, व्यापार–व्यवसायमा संलग्नले अनिवार्य रूपमा बैंक खाता खोलेका छन् । एकै व्यक्तिको पनि दुईभन्दा बढी बैंक खाता छन् । तथ्याङ्क विभागका अनुसार हाल नेपालीको जनसङ्ख्या करीब दुई करोड ९० लाख छ । 
नेपाल राष्ट्र बैंकका अनुसार, हाल बैंक तथा वित्तीय संस्थामा दुई करोड ६८ लाख खाता खुलेका छन् । यस आधारमा हेर्दा कूल जनसङ्ख्याको थोरैको मात्र बैंक खाता नभएको जस्तो देखिन्छ । तर यर्थाथ भने फरक छ । एकै व्यक्तिका धेरै बैंक खाता छन् ।  ग्रामीण तथा वित्तीय पहुँच नपुगेका क्षेत्रमा बैंक खाता खोल्नुपर्छ भन्ने चेतनासमेत पुगेको छैन । 
बैंक खाता खोल्न रहेको झन्झटिलो प्रक्रियालाई केन्द्रीय बैंकले सहजीकरण गरेको छ । राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीका अनुसार बैंक खाता खोल्नका लागि सहजीकरण गर्ने गरी बैंक तथा वित्तीय संस्थालाई थप सहजीकरण गर्दै नयाँ कार्यक्रम शुरु गरिएको छ । 
निजी क्षेत्रका वाणिज्य बैंकहरूले पनि बैंक खाता खोल्ने सरकारको अभियानमा साथ दिने गरी आवश्यक प्राक्रिया अगाडि बढाएका छन् । एनआइसिएशिया बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, एनसिसी बैंकले विभिन्न नाम दिएर खाता खोल्ने अभियान यसअघि नै शुरु गरिसकेका थिए । 
नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाका अनुसार वित्तीय रूपमा सबै नेपाली नागरिकलाई जागरुक बनाउँदै बैंकिङ प्रणालीमा ल्याउन बैंक खाता अभियान महत्वपूर्ण कार्यक्रम हो । सो कार्यक्रममा २८ वटै वाणिज्य बैंक सहभागी छन् । खाता खोल्नका लागि सरल र सहज प्रक्रिया मिलाइएको ढुङ्गानाको भनाइ छ । 
एनआइसिएशियाले त सोही अभियान सँगै ‘एक नेपाली एक डिम्याट खाता’ कार्यक्रमअगाडि बढाएको छ । सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सबै नेपालीलाई जलविद्युत् आयोजनाको शेयर उपलब्ध गराउने निर्णय गरेकाले हितग्राही खाता जरुरी रहेको छ । 
नयाँ खाताका लागि नागरिकताको प्रमाणपत्र, राहदानी, फोटोसहितको मतदाता परिचयपत्र,  राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये आफूसँग जुन उपलब्ध छ, त्यही लिएर बैंकका शाखामा जानुपर्नेछ । यस्तै स्थानीय तहले प्रमाणित गरी उपलब्ध गराएको फोटोसहितको सिफारिस वा पहिचानपत्रबाट पनि सजिलै बैंक खाता खोल्न सकिनेछ । 
अर्थमन्त्री डा युवराज खतिवडाका अनुसार कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ७१७ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । चालू आवको अन्त्यसम्म सकेसम्म सबै स्थानीय तहमा बैंकका शाखा पु¥याउने सरकारको तयारी छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७५ को माघसम्म कूल ७११ स्थानीय तहमा बैंकका शाखा पुगेका थिए ।


Rating (Votes: )   
Share     Print


Other Articles:
पर्यटनमा देखिएको उत्साह र भोग्नुपरेको वियोग (04.16.2019)
विश्वव्यापी बजार भएको रत्न प्रशोधन कहिले ? (04.10.2019)
पाँच वर्षभित्र नेपाल अल्पविकसितको सूचीबाट हट्ने ! (04.10.2019)
नेपालीले बनाए मिनी पानीजहाज (04.04.2019)
उत्साहका साथ सकियो लगानी सम्मेलन (04.04.2019)
लगानी सम्मेलन उद्घाटनदेखि समापनसम्म (04.04.2019)
भाषा परीक्षाका लागि ९२ हजारको आवेदन (04.04.2019)
बढ्दो आर्थिक अपराध (03.28.2019)
माथिल्लो तामाकोशी हरेक घरको चासो (03.28.2019)
नयाँ वर्षदेखि जनकपुर–जयनगर रेल (03.18.2019)
१२ सय मेगावाट विद्युत थप हुँदै (03.18.2019)
मध्यमस्र्याङ्दीलाई माथ गर्दै मेलम्ची (01.01.2019)
कूटनीतिक क्षमता भए नेपाली विमान युरोप उड्थे (12.11.2018)
भ्रष्टाचार नगर्ने र गर्न नदिने पुनः प्रतिबद्धता (12.11.2018)
विमान थपिंदै बजार गुम्दै किन ? (11.20.2018)
वार्षिक २० अर्ब बाहिरिन्छ (10.10.2018)
भैरहवा विमानस्थल छ महिनाभित्रैसञ्चालन योग्य (10.10.2018)
व्यापारघाटा दुई महिनामा दुई खर्ब (10.02.2018)
महिनामा एक प्रतिशत पूँजीगत खर्च (10.02.2018)
अब काम नपाएर भौतारिएकालाई निर्माणको अभियानमा लगाइने (10.02.2018)



 
::| Latest News

 
[Page Top]