युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 11.23.2019, 02:33am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
यार्सा जोगाउने चिन्ता
Tuesday, 06.18.2019, 02:48pm (GMT+5.5)

हिमाली जिल्लाका बासिन्दाको आयस्रोतको २५ प्रतिशत हिस्सा बहुमूल्य हिमाली जडीबुटी यार्सागुम्बा हो । यार्सा एक प्रकारको हेपियालिडिइ परिवारको लेपिडोप्टेरा वर्गमा पर्ने लार्भा सङ्क्रमित भएर उम्रने परजीवी ढुसी हो । विगत दुई दशकयता यसको व्यावसायिक संकलन सुरु भएपछि यसको आकर्षण बढेको हो । यार्सा संकलनका लागि गाउँगाउँ नै रित्तो बनाएर लेकतिर लाग्दछन् । बहुमूल्य जडिबुटी यार्सा संकलनको जुन गति छ यसले भने चिन्ता उत्पन्न गरेको छ । अहिले यार्साको उत्पादन घटन थालेको छ । एकातिर जलवायु परिवर्तनले देखाएको समस्या छ भने अर्कोतिर बेढंगी किसिमले हुने संकलनले गर्दा हरेक वर्ष उत्पादन घटिरहेको छ ।
यार्सा संकलनको आकर्षण यति बढेको छ कि पछिल्ला केही वर्षयता संकलकहरुको मृत्यु समेत हुन थालेको छ । यस वर्ष डोल्पा र दार्चुलामा लेक लागेर एक दर्जन व्यक्तिको मृत्यु भइसकेको छ । हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको यार्सागुम्बा संकलन गर्न स्थानीय जनता ज्यानै जोखिममा राखेर त्यसतर्फ जाने गरेका छन् । 
यार्सा सङ्कलकहरु जेठ पहिलो सातादेखि झण्डै एक महिना गाँसबासका सामानसहित हिमाली क्षेत्रका पाटन आसपास त्रिपाल गाडेर बस्छन् । वन तथा वातावरण मन्त्रालयको ‘यार्सागुम्बा दिगो सङ्कलन प्रविधि सहयोगी पुस्तिका’ले सरोकारवाला स्थानीय सङ्घसंस्थासँग समन्वय गरी प्रत्येक यार्सागुम्बा सङ्कलन क्षेत्रमा औषधिसहित कम्तीमा एक स्वास्थ्यकर्मी जाने व्यवस्था मिलाउन सुझाव दिए पनि त्यो कार्यान्वयन भने हुन सकेको छैन । 
उत्पादन घट्दो
यार्सा सङ्कलनको समयमा अनियन्त्रितरुपमा बहन क्षमताभन्दा धेरै ठूलो जनसमुदाय सङ्कलनमा जाने हुँदा वातावरणीय प्रदूषण बढेर यार्साको उत्पादन पछिल्लो समय घटेको छ । हिउँ पर्ने र पग्लिने अवधिमा अनियमितता, अनियमित र अपरिपक्व यार्साको सङकलन, जलवायु परिवर्तनका असरलगायत कारणले यार्साको उत्पादन घट्दै गएको विज्ञको भनाइ छ ।  
नेपालमा सबैभन्दा बढी उत्पादन हुने भनिएको डोल्पामा गत वर्षसम्म एक जनाले सरदर २०० वटासम्म यार्सा सङ्कलन गर्ने गरेको भए पनि यस वर्ष एकजनाले २५÷३० वटा मात्रै यार्सा भेटाएको अनुभव सुनाएको डिभिजन वन कार्यालय डोल्पाका प्रमुख नरबहादुर क्षेत्रीले बताउनुभयो । 
उहाँले भन्नुभयो – “विगत दश वर्षमा यस वर्ष धेरै हिउँ परेका कारण धेरै यार्सा पाइन्छ भन्ने आशमा डोल्पाका स्थानीय बासिन्दासँगै रुकुम (पूर्व), जाजरकोट, जुम्लालगायत जिल्लाबाट हजारौं मानिस यार्सा टिप्न आएका थिए तर, अपेक्षाविपरीत कम पाइएपछि फर्किन थालेका छन् ।”
धेरैजना डोल्पामा से–फुक्सुण्डो राष्ट्रिय निकुञ्ज र सामुदायिक वनअन्तर्गतका हिमाली क्षेत्रका पाटनमा यार्सागुम्बा सङ्लकन गर्न जाने गरेका छन् । निकुञ्जले आफ्नो संरक्षण क्षेत्रमा यार्सागुम्बा सङ्कलनको अनुमतिका लागि जिल्ला बाहिरका प्रतिव्यक्तिलाई रु तीन हजार, जिल्लाभित्रका व्यक्तिलाई रु दुई हजार र स्थानीय उपभोक्ता समिति आबद्ध व्यक्तिलाई रु ५०० शुल्क लिने गरेको छ । 
त्यस्तै, डिभिजन वन कार्यालयले आफ्नो क्षेत्रमा सङ्कलनका लागि यार्सागुम्बा प्रतिकेजी रु ३० हजारका दरले राजश्व लिने गरेको छ  । विसं २०६४ देखि २०६८ सम्म डोल्पामा जिल्ला वन अधिकृतका रुपमा काम गर्नुभएका यार्सा विज्ञ राजु क्षेत्री भन्नुहुन्छ – “यार्सागुम्बा सङ्कलन गर्ने अनियन्त्रित विधि र अनावश्यक भीडले गर्दा अन्य प्रजातिका वनस्पतिको विनाश र त्यस क्षेत्रमा प्रदूषण बढेर यार्सा उत्पादनमा नकारात्मक असर पर्छ ।” कुल वार्षिक उत्पादन परिमाणको ८० प्रतिशत नबढ्ने गरी मात्र सङ्कलन अनुमति दिनुपर्ने उहाँको सुझाव छ । पाटनलाई पाँच खण्डमा विभाजन गरी त्यसमध्ये एक खण्ड सङ्कलन नगरी संरक्षित क्षेत्रका रुपमा राख्न सके दिगो उत्पादनमा सघाउ पुग्ने क्षेत्री बताउनुहुन्छ ।    
यस वर्ष दार्चुलामा पनि बाक्लो हिउँ प¥यो । सङ्कलकहरु हिउँ पग्लिने पर्खाइमा छन् । गत वर्षहरुको तुलनामा यार्साको उत्पादन घटेको स्थानीय बासिन्दाले बताएको सहायक वार्डेन घिमिरेले जानकारी दिनुभयो । यार्साको गुणस्तरका आधारमा प्रतिकेजी रु १० लाखदेखि १६ लाखसम्म स्थानीयस्तरमा व्यापारीले खरिद गर्ने गरेका छन् । 

अवैध कारोबार बढ्दो
मुलुकभर हाल वार्षिक करीब दुई हजार केजीको हाराहारीमा यार्सा वैध बाटोबाट विदेश निकासी हुने गरेको छ । यस बाहेक उत्पादनको ५० प्रतिशत जति हिमाली जिल्लाका सीमाबाट तिब्बतमा चोरी निकासी हुने गरेको अनुमान छ । अन्तर्राष्ट्रिय बजारमा हाल यार्सा प्रतिकेजी रु २० लाखदेखि २५ लाखसम्ममा बिक्री हुने गरेको बताइन्छ । 
कारोबार र राजश्वका दृष्टिले अन्य जडीबुटीको तुलनामा यार्सा निकै महत्वपूर्ण भएकाले राज्यका तर्फबाट तत्काल स्पष्ट नीति आउन आवश्यक छ । वन मन्त्रालयका प्रवक्ता डा सिन्धुप्रसाद ढुंगाना यार्सा सङ्कलन तथा ओसारपसार व्यवस्थित गर्न मन्त्रालयले वन ऐन, नियमावली र निर्देशिकामार्फत व्यवस्था गरेको बताउनुहुन्छ । 
विगत दुई शताब्दीदेखि चिनियाँ उपचार पद्धतिमा व्यापक रुपमा प्रयोग हँुदै आए पनि दुई दशकअघिमात्र नेपालीले यसलाई चिनेका हुन् । विश्वभर यार्साका ५०० भन्दा बढी प्रजाति अभिलेखीकरण गरिएका छन् । नेपालमा अहिलेसम्म यसका ११ प्रजातिको पहिचान भएको वन तथा भू–संरक्षण विभागले जनाएको छ । 
नेपालमा यार्साको प्रयोग खासगरी दम, क्षयरोग, लहरेखोकी, मिर्गौला रोग, फोक्सोमा खराबी, नपुङ्सकता, रक्तचापसम्बन्धी समस्या निदानमा प्रयोग हुने गरिएको छ । शरीरको रोगसँग लड्ने क्षमताको विकास र अनियमित रक्तस्राव रोक्न पनि यसको प्रयोग भएको पाइन्छ ।
विसं २०५८ अघिसम्म यार्साको सङ्कलन, ओसारपसार तथा प्रयोगमा पूर्ण प्रतिबन्ध थियो । यसको उपयोगितालाई ध्यानमा राखेर २०५८ पुस १६ गते यसको यार्सा सङ्कलन, ओसारपसार र प्रयोगमा फुकुवा गरिएको हो । चीन, हङकङ, मलेशिया र जापान यसको मुख्य बजार हुन् । पछिल्लो समय यार्साको व्यवस्थित सङ्कलन र दिगो व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने परम्पराको थालनीसमेत भएको छ । 
यार्सागुम्बा वर्षमा छ महिना हिउँले ढाकिने तीन हजार ९०० मिटरदेखि पाँच हजार १०० मिटरसम्मका हिमाली घाँसे मैदानमा पाइन्छ । नेपालका डोल्पा, दार्चुला, जुम्ला, हुम्ला, मुगु, कालीकोट, बझाङ, बाजुरा, जाजरकोट, रुकुमलगायत २५ हिमाली जिल्लाका उच्च क्षेत्रमा यार्सागुम्बा उत्पादन हुने गरेको छ । डोल्पा, दार्चुला, रुकुम र बझाङ जिल्ला यार्सागुम्बा उत्पादन र गुणस्तरका हिसाबले सबैभन्दा महत्वपूर्ण मानिन्छन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
संघीय संरचनाको पहिलो बजेट– कुन प्रदेशको कति ? (06.18.2019)
सन्तोषजनक बजेट - कार्यान्वयन चुनौतिपूर्ण (06.05.2019)
दुई तिहाईको सरकार गफमै सीमित - विकास खर्च न्यून व्यापार घाटा उच्च (05.28.2019)
भूकम्पले खण्डहर बनेको तातोपानी नाका यसरी खुल्दैछ (05.28.2019)
आठ महिनामा २४ प्रतिशतले आयात वृद्धि (04.30.2019)
अब पैंतालीस हजारमै जापान उड्न पाइने ! (04.30.2019)
२५ खर्बको लगानी प्रस्ताव- द्रुत कार्यान्वयन आवश्यक (04.25.2019)
केही भएको पनि छैन नभएको पनि हैन (04.25.2019)
कामै नगरी भुक्तानी भ्रष्टाचार होइन र ? (04.16.2019)
सबै नेपालीलाई बैंक खाता अभियान- वित्तीय पहुँचको आधार (04.16.2019)
पर्यटनमा देखिएको उत्साह र भोग्नुपरेको वियोग (04.16.2019)
विश्वव्यापी बजार भएको रत्न प्रशोधन कहिले ? (04.10.2019)
पाँच वर्षभित्र नेपाल अल्पविकसितको सूचीबाट हट्ने ! (04.10.2019)
नेपालीले बनाए मिनी पानीजहाज (04.04.2019)
उत्साहका साथ सकियो लगानी सम्मेलन (04.04.2019)
लगानी सम्मेलन उद्घाटनदेखि समापनसम्म (04.04.2019)
भाषा परीक्षाका लागि ९२ हजारको आवेदन (04.04.2019)
बढ्दो आर्थिक अपराध (03.28.2019)
माथिल्लो तामाकोशी हरेक घरको चासो (03.28.2019)
नयाँ वर्षदेखि जनकपुर–जयनगर रेल (03.18.2019)



 
::| Latest News

 
[Page Top]