युगसम्बाद साप्ताहिक

मुलुक चरम आर्थिक संकटको दिशातिर
Tuesday, 07.30.2019, 12:39pm (GMT5.5)

काठमाडौं । अस्थिर सरकारका कारण मुलुकले आर्थिक विकास गर्न नसकेको डंका जतिपिटे पनि कामगर्ने कुशलता नभएकै कारण यस्तो स्थिति उत्पन्न भएको रहेछ भन्ने प्रमाण दुई तिहाई बहुमतको सरकारको अहिलेसम्मको कार्यकालले देखाएको छ । यस अवधिमा व्यापारघाटा उच्चमात्रामा बढेको छ । गत आर्थिक वर्षको समाप्तिसम्म १२ खर्ब ९९ अर्ब ८० करोड रुपैयाँ बराबरको आयात हुँदा निर्यात भने जम्मा ८७ अर्ब ८३ करोड रुपैयाँको भएको छ । 
निर्यातको तुलनामा उच्च आयात भएका कारण कुल ब्यापार घाटा १२ खर्ब ११ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । ब्यापार घाटा उच्च दरले बढेका कारण चालु खाता घाटा २ खर्ब ४८ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो बर्ष चालु खाता घाटा २ खर्ब १० अर्ब २४ करोड रुपैयाँ थियो । त्यस्तै शोधनान्तर घाटा ९० अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष घाटा ४ अर्ब ३४ करोड रुपैयाँ मात्र थियो।
मुलुकमा विदेशी मुद्रा सञ्चिति घट्दै गएको छ । अघिल्लो असारमा ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा यसपालीको जेठसम्म घटेर १० खर्ब ३० अर्ब ८८ करोडमा झरेको छ । अमेरिकी डलरमा हिसाब गर्दा १० अर्ब ८ करोडको सञ्चिति ९ अर्ब २५ करोडमा झरेको छ । 
विदेशी मुद्रा सञ्चति घट्दा मुख्य रूपमा आयातमा असर पर्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महिनाको तथ्यांकअनुसार कुल विदेशी विनिमय सञ्चिति १० खर्व ५८ अर्ब २० करोड रुपैयाँ कायम भएको छ । जबकि गत असर महिनामा ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ थियो ।
असार महिनाको तुलनामा पुस महिनासम्म आइपुग्दा विदेशी सञ्चिति झन्डै १ खर्बले घटेको छ । शोधनान्तर घाटामा गएका कारण मुलुकको चालू खाता पनि घाटामा गएकाले विदेशी सञ्चिति घटेको हो । यसरी मुलकको विदेशी सञ्चिति लगातार घटेपछि समग्र मुलुकको आयातलाई नै असर गर्ने छ ।
आर्थिक स्थायित्व कायम गर्न असफल सरकारले विकास र समृद्धिका जति नारा घन्काए पनि त्यो पानीको फोकासरह बिलाउने गरेको छ । स्थिर र शक्तिशाली सरकारले सत्ता संचालन गरिरहेको मुलुकमा ३ वर्षकै उच्च मूल्यवृद्धि भएको छ । तथ्यांकअनुसार गत आर्थिक वर्षको ११ महिना (जेठ मसान्तसम्म) मूल्यवृद्धि ६ दशमलव २ प्रतिशत पुगेको छ । यो ०७३ को असोज महिनापछिकै सबैभन्दा उच्च मूल्यवृद्धि हो । सो महिना अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ दशमलव ७ प्रतिशत मूल्यवृद्धि भएको थियो । त्यसयताका महिनाहरूमा मूल्यवृद्धि ५ प्रतिशतभन्दा तल रहँदै आएकोमा वैशाखमा ५ दशमलव ३ र जेठमा ६ दशमलव २ प्रतिशत मूल्य बढेको हो । आर्थिक वर्ष ०७४।७५ को ११ महिनामा ४ दशमलव १ प्रतिशत मात्रै मूल्यवृद्धि भएको थियो । सरकारले गत आर्थिक वर्षमा ६ दशमलव ५ प्रतिशतमा मूल्यवृद्धि सीमित गर्ने लक्ष्य राखेको थियो । 
तरकारी, खाद्यान्न र माछामासुको मूल्य उच्च रूपमा बढेपछि समग्र मूल्यवृद्धिमा चाप परेको नेपाल राष्ट्र बैंकले जनाएको छ । खाद्यान्नको मूल्य अघिल्लो वर्षको तुलनामा ५ दशमलव ६ प्रतिशत, माछामासुको ७ दशमलव ६ प्रतिशत र तरकारीको १४ दशमलव ६ प्रतिशतले बढेको छ । गैरखाद्य तथा सेवा क्षेत्रको मूल्यवृद्धि भने ५ दशमलव ७ प्रतिशत रहेको छ । क्षेत्रगत रूपमा सबैभन्दा उच्च मूल्यवृद्धि काठमाडौं उपत्यकामा ७  दशमलव १ प्रतिशतले भएको छ । ०७६ को जेठ महिनामा भारतको मूल्य वृद्धिदर ३ दशमलव १८ प्रतिशत मात्र रहेकोमा नेपालमा भने ६ दशमलव २ प्रतिशत पुगेको छ । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com