युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 04:01pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
दुःख भएर के गर्नु लेकाली क्षेत्रमा छ लोभलाग्दो कमार्ई
Tuesday, 09.17.2019, 12:00pm (GMT+5.5)

फिक्कल– हरेक दिन बिहान सबेरै उठ्नु, नित्यकर्म सकेर गाई दुहुनु र खोले ख्वाएर ती गाईलाई जङ्गल पठाउनु ताराबहादुर चौहानको दैनिकी हो । उनका गोठमा दश माउ गाई छन् ती निकै पर पुगिसकेपछि बाछाबाछी पनि छोड्नुहुन्छ उहाँ । बाछा ढिलो छोड्नु दिउँसो जङ्गलमा माउसँग बाछाबाछीको भेट नहोस् भनेर हो । यदि माउसँग भेट भयो भने बाछाबाछीले दूध खाइदिन्छन् ।
चौहान गाई पालेर गोठमै बस्नुहुन्छ । लेकाली क्षेत्रमा सधैंजसो पानी परिरहन्छ । नभए कुहिरो लागिरहन्छ । जब गाई र तिनका बाछा जङ्गलतर्फ लाग्छन् उहाँ हातमा थोत्रे चप्पल लिएर गाईबाछाले गोब्र्याएको मल सोहोर्नुहुन्छ । गाई बाँध्ने थलालाई सफा बनाएर बेलुका र बिहान दोहेको दूध आफ्नै डेरीमा पेल्नुहुन्छ । एकातर्फ दूधको चिल्लो पदार्थ क्रिम झर्छ त अर्कातर्फ छुर्पी बन्ने क्रिम बिनाको पातलो दूध निस्कन्छ । उहाँ क्रिम जतनसाथ एक भाँडामा राख्नुहुन्छ । अर्कातिरबाट झरेको पातलो दूधलाई ठूलो भाँडोमा जम्मा गरेर आफैँले जमीन खनेर बनाएको चुल्होमा बसाल्नुहुन्छ र त्यसलाई तताएर फटाएपछि बनेको सेर्गेमलाई छुर्पी बनाउनुहुन्छ । उहाँका हरेक काममा उत्तिकै साथ दिनुहुन्छ श्रीमती सुजता खड्का (चौहान) ।
त्यस्तै, सूर्योदय नगरपालिका–१ लामिधुराका जगतबहादुर राईको दैनिकी पनि उस्तै छ । उहाँ पनि बिहान गाईलाई खोले दिएर जङ्गल पठाउनुहुन्छ । बेलुका गाई अगाएर आउँछन् । खोले दिएर बाँधेर बिहानजस्तै दोहेपछि उहाँको पनि एक दिनको गाईवस्तु स्याहार्ने काम सकिन्छ । उहाँ पनि आफैं डेरी सञ्चालन गर्नुहुन्छ । 
इलाम देउमाई नगरपालिका वडा नं १ कुइभिर नजीकका तेन्जी शेर्पाको पनि गोठ छ । कमार्ई राम्रै भएर लेक छाड्न नचाहने उहाँ घरघरमा पुग्ने सडक नबनेर पिर मान्नुहुन्छ । उहाँहरू गोठमै रमाउनु हुन्छ । नजीक अस्पताल नहुनु, सडकको अवस्था राम्रो नहुनु र छोराछोरी पढाउने विद्यालय नजीक नहुनु जस्ता समस्याहरू लेकमा छन् । शेर्पाले भने डेरी राख्नुभएको छैन । सबै काम एउटैले गर्न नहुने विचार राख्ने उहाँ दूध बेच्नमै रमाइलो मान्नुहुन्छ । 
डेरी राख्ने उहाँहरूले आफ्नो गोठका गाईको मात्र दूध डेरीमा पेल्नुहुन्न । पातलो गाउँ भए पनि अन्य गोठबाट आएको दूध पनि पेल्नुहुन्छ । चौहानको डेरीमा दैनिक १०० लिटर जति दूध जम्मा हुन्छ । श्रीमती ४ वर्षे नानी च्यापेर करीव पाँच किलोमिटर टाढा रहेको माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारस्थित विद्यालय पु¥याउन जानुहुन्छ । घना जङ्गल पार गरेर दैनिक नानी पु¥याउन जाने मात्र हैन बेलुका छुट्टी भएपछि लिन पनि उहाँ नै जानुहुन्छ । नानीलाई विद्यालय पु¥याउन र लिन जान मै उहाँको दैनिक चार घण्टा समय बित्छ । 
लेकको बसाइ त्यति सहज भने छैन । चरनमा गएका गाईबाछासँग आएको जुका सुत्ने ओछ्यानमा पनि हुन्छन् । सामान्य लाग्छ त्यस लेकाली परिवारलाई जुका । गाईगोठसँगै गाँसिएको छाप्रोमा उहाँहरूको परिवार बस्नुहुन्छ । दश माउ गाई पाल्नुभएका चौहानले पाँच माउ मात्र दुहुनुहुन्छ । उहाँ बेलुका र बिहानको गरेर पाँच माउ गाईको करीव २० लिटर दूध पेल्नुहुन्छ । 
“त्यति दूधबाट तीन किलो भन्दा बढी घिउ र साढे दुई किलोभन्दा बढी नै छुर्पी बन्छ,” चौहानले भन्नुभयो । घिउ घरबाटै ५५० रुपैयाँ प्रतिकिलो र छुर्पी ८५० रुपैयाँ प्रतिकिलो बेच्नुहुन्छ उहाँ । उहाँ घिउ र छुर्पी कहिले घरबाटै बेच्नु हुन्छ त कहिले नयाँबजारसम्म पु¥याउन जानुहुन्छ । अरुको दूध पेलेर पनि सामान्य नाफा हुने उहाँको भनाइ छ । चौहान परिवारको दिनमा नहुँदा पनि तीन हजार र सिजनमा छ हजारसम्म कमाई हुने गरेको छ । खानपिन र छोराछोरी पढाएर पनि राम्रो बचत हुने उहाँहरू बताउनुहुन्छ । 
जगत बहादुर राईको पनि चौहानकै हाराहारीमा कमाई हुन्छ तर, उहाँ त्यस क्षेत्रमा उत्पादित घिउ र छुर्पी खरिद गरेर दार्जिलिङ र अन्य बजारमा पनि बेच्न लैजानुहुन्छ । उहाँले त झन दार्जिलिङमा घर नै जोडिसक्नु भएको छ । उहाँका दुईवटा मान्छे बोक्ने गाडी पनि छन् । कमाईको मुख्य स्रोत गाईगोठ नै हो ।  
लेकमा बस्ने भए पनि ती परिवार प्रायः एक्लै बस्नु पर्दैन । थुम्केका चौहानको गोठमा कहिले इलाम बजार त कहिले नयाँबजारबाट गोठमा बस्न मान्छे जान्छन् । त्यस क्षेत्रमा बाटो खन्ने मेसिनका चालक र सहचालक पनि बास बस्छन् । कहिले आफ्नै पाहुना त कहिले पैसा तिरेरै खान र बस्न आएका पर्यटकहरू । लामिधुराका राईको गोठसँगै पर्यटकका लागि होटल र लज नै सञ्चालन गरिएको छ । लामिधुरा देशको पूर्वी क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य जाने मुख्य सडक हो । त्यही भएर पनि यहाँ पर्यटकको चाप हुने गरेको छ । 
गोठमा बस्दाको अनुभव लिन धेरै पर्यटकहरू गोठमा जाने गर्दछन् । सुतेको पैसा लाग्दैन, खाएको पैसा तिरे पुग्छ । “त्यसबाट सामान्य मात्र कमाई हुन्छ,” चौहानले थप्नुभयो – “मुख्य कमाईको स्रोत भनेको गोठ हो, घिउ र छुर्पी नै हो ।” कमाई राम्रै हुन्छ लेकमा बस्ने किसानहरूको । लेकाली क्षेत्रमा बाटो नभएर गाईको दाना र खोले भने महङ्गो हुने गरेको छ । उहाँहरू लेकमा मकै र आलु पनि रोप्नुहुन्छ । आलु बँदेलले उधिन्ने र मकैमा छिर्के रोग लाग्ने भएपछि यसबाट आम्दानी लिन नसकिएको उहाँहरूको भनाइ छ । यी बालीको विकल्प सोच्दै हुनुहुन्छ उहाँहरू । स्थानीय सरकार र सम्बन्धित निकायले बँदेल नियन्त्रणमा ध्यान दिनुपर्ने उहाँहरूको भनाइ छ । 
जिल्लाको थुम्के, सन्दकपुर, मेग्मालगायत स्थानका दर्जनांै किसानले गोठ पालेका छन् । अरु किसानहरूको दैनिकी पनि उस्तै हो । गोठसँगै लेकाली क्षेत्रमा जाने अनि अर्गानिक उत्पादन खाने रहर शहरवासीलाई हुन थालेको छ । त्यसैले धेरै पर्यटकहरू लेकाली क्षेत्रमा जान थालेका छन् । “एक दिन भए पनि शुद्ध अर्गानिक खान पाइन्छ,” नेपाल पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष रोहितचन्द्र भट्टराईले भन्नुभयो । भट्टराई इलाम सदरमुकाम बस्नुहुन्छ । उहाँ एक दिन भए पनि नयाँ अनुभव लिन गोठमा खान र बस्न गएको बताउनुहुन्छ । 
नयाँबजारका देवी अधिकारी वर्षमा दुई–तीन पटकसम्म गोठमा बस्न जाने गरेको बताउनुहुन्छ । “इलाम अनि, बाहिरबाट साथीहरू आउँछन्, उनीहरू लिएर जानै पर्छ,” अधिकारीले भन्नुभयो । उहाँका अनुसार बजार क्षेत्रमा बसोबास गर्ने धेरै मानिस लेक क्षेत्रमा बस्न र रमाइलो गर्न जाने गरेका छन् । आन्तरिक पर्यटक प्रवद्र्धन गर्न यस्ता गोठहरूको संरक्षण गर्नुपर्ने माइजोगमाईका स्थानीयवासी राजीव भट्टराई बताउनुहुन्छ । सडकको अवस्थामा सुधार आए पर्यटकलाई सहज हुन्छ । 
माइजोगमाईबाट थुम्के हुँदै सन्दरपुर जाने सडकको मर्मत भइरहेको गाउँपालिका अध्यक्ष जितबहादुर राईले बताउनुभयो । यहाँ डेढ करोडको लागतमा नालीसहित सडक मर्मत सुधारको काम हुँदैछ । 
देउमाई नगरपालिकाका प्रमुख सूर्य पोख्रेलले देउमाई नगरपालिकाभित्रका सम्भावना बोकेका पर्यटकीयस्थलहरूको प्रचार र प्रवद्र्धन गर्न आफूहरू लागिपरेको बताउनुभयो । लेकमा कमाई भए पनि बस्न असहज छ । लेकका किसानले स्थानीय तहको गठनपछि केही राहत महशुस गरेका छन् । सन्दकपुर, मेग्मा, कुहिभिर, थुम्केडाँडा, लामिधेरा लगायतका लेकाली क्षेत्रमा विकासका पूर्वाधार बनाइदेओस् भन्ने उहाँहरूको आग्रह छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
दार्चुलाको स्याउले पाएन बजार (09.17.2019)
वर्षमा सात सयको मृत्यु हुन्छ विदेशमा (09.10.2019)
भ्रमण वर्ष सफलताका मुख्य आधार युरोपेली पर्यटक (09.10.2019)
रेमिट्यान्सले चुकेको सामाजिक मूल्य (08.20.2019)
विद्युत प्राधिकरणको मुनाफा बढ्दै जाँदा चुनौती पनि थपिँदै (08.20.2019)
मुलुक चरम आर्थिक संकटको दिशातिर (07.30.2019)
माथिल्लो तामाकोशीमा सकसै सकस (07.30.2019)
अबको एक महिनापछि ओसाका उडान (07.30.2019)
नेवानिको व्यवस्थापन विदेशीलाई दिने तयारी नेपाली असक्षम कि राजनीतिक स्वार्थ ? (07.22.2019)
दशैं अगाडि नै नारायणीमा मिनी पानीजहाज (07.22.2019)
यार्सा जोगाउने चिन्ता (06.18.2019)
संघीय संरचनाको पहिलो बजेट– कुन प्रदेशको कति ? (06.18.2019)
सन्तोषजनक बजेट - कार्यान्वयन चुनौतिपूर्ण (06.05.2019)
दुई तिहाईको सरकार गफमै सीमित - विकास खर्च न्यून व्यापार घाटा उच्च (05.28.2019)
भूकम्पले खण्डहर बनेको तातोपानी नाका यसरी खुल्दैछ (05.28.2019)
आठ महिनामा २४ प्रतिशतले आयात वृद्धि (04.30.2019)
अब पैंतालीस हजारमै जापान उड्न पाइने ! (04.30.2019)
२५ खर्बको लगानी प्रस्ताव- द्रुत कार्यान्वयन आवश्यक (04.25.2019)
केही भएको पनि छैन नभएको पनि हैन (04.25.2019)
कामै नगरी भुक्तानी भ्रष्टाचार होइन र ? (04.16.2019)



 
::| Latest News

 
[Page Top]