युगसम्बाद साप्ताहिक

दशैं आयो– महंगीले छोयो आकाश
Wednesday, 10.02.2019, 05:16pm (GMT5.5)

काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैं घरघरमा भित्रिसकेको छ । आम जनता चाडबाड मनाउने सामग्रीको जोहोका लागि बजारमा ठेलमठेल गरिरहेका छन् भने आआफ्नो जन्मथलो पुग्नेहरुको सख्ंया पनि उत्तिकै छ । अनि यस्तै अवसरका फाइदाा उठाउँदै लुटन्न पल्केकाहरु अस्वाभाविक मूल्यवृद्धि गरेर आम जनता चुसिरहेका छन । सरकारले त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कद चाल्न सकेको छैन । वाणिय विभागले चाडबाडमा मूल्य बढाउने, अभाव सिर्जना गर्ने र गुणस्तरहीन बस्तु विक्री गर्ने केही सय व्यापारीमाथि कारबाही सुरु गरेको भने पनि बजारमा महंगी बढ्दो छ ।
दसैंको मुखमा चामल, हरियो तरकारी, खाने तेल, मासु, लत्ताकपडा र जुत्ताको मूल्य एक्कासी बढेको छ । मूल्य बढ्नुपर्ने कुनै कारण नभए पनि खाद्यान्न लगायतका वस्तुको मूल्य आकाशिएको छ । तीन हजार तीन सय पर्ने ३० किलोको जिरा मसिनो बोरामा सय रुपैयाँ बढेको छ । एक हजार पाँच सय ७५ देखि एक हजार ६ सयमा बिक्री हुने २५ किलोको अर्को थरीको जिरा मसिनोको प्रतिबोरा ५० देखि सय रुपैयाँसम्म बढेको छ ।
बजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको स्विकारेको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले डलर महँगिएका कारण मूल्य वृद्धि भएको बताउनुभएको छ भने खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले दैनिक उपभोग्य वस्तुमध्ये चामलको मूल्य बढेको स्वीकार्नुभएको छ ।
दसैं नजिकिएसंगै भदौसम्म प्रतिकिलो ७८ रुपैयाँमा बिक्री हुने चिनीको मूल्य प्रतिकिलो ८० पुगेको छ । एक सय ३० रुपैयाँ लिटरमा आउने भटमासको तेलमा १० रुपैयाँ बढेर एक सय ४० र एक सय ४० मा आउने सनफ्लावर तेलको भाउ एक सय ५० रुपैयाँ पुगेको छ ।
गत भदौ १५ को तुलनामा असोज ११ गते शनिबारसम्म हरियो तरकारी तथा सागतर्फ पनि अत्यधिक मूल्य वृद्धि भएको छ । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार सबैभन्दा बढी सागको मूल्यवृद्धि भएको छ । सागमा दुई सय पाँच प्रतिशतसम्म मूल्य वृद्धि भएको छ । ७५ रुपैयाँ किलोमा बिक्री भएको रायो र पालुंगो सागलाई अहिले दुई सय पाँच रुपैयाँ तोकिएको छ । यस्तै कुल खपतको करिब ९८ प्रतिशत भारतबाट आयात हुने प्याजको मूल्यमा ५४.४१ प्रतिशतले मूल्यवृद्धि भएको छ ।
त्यस्तै प्रतिकिलो ६८ मा कारोबार भएको प्याजको मूल्य एक सय पाँच रुपैयाँ पुगेको छ । ६५ रुपैयाँ जाने भान्टा र बोडीको मूल्य ९२ प्रतिशतले बढेर एक सय २५, ५५ रुपैयाँ प्रतिकिलो पर्ने करेला एक सय २७ प्रतिशतले महँगिएको छ । यसको मूल्य प्रतिकिलो एक सय २५ रुपैयाँ तोकिएको छ । यस्तै लौका, लसुन, भेडे खुर्सानी, भिन्डी, आलुको पनि मूल्य बढेको छ । तरकारीको मूल्यवृद्धिका विषयमा अनुगमन गर्दा केही सातादेखि निरन्तर रूपमा परेको पानीका कारण स्वदेशी तरकारी गलेर भएको र भारतमा समेत पानीका कारण तरकारी उत्पादन कम भएकाले मागअनुसार आपूर्ति नहुँदा वृद्धि भएको गौचनको बुझाइ छ ।
दशैंमा सबैभन्दा बढी खपत हुने खसीको मासु र मूल्य बढेको छ । भदौमा प्रतिकिलो ६ सय रुपैयाँ हाराहारीमा रहेको जिउँदो खसीको मूल्यमा एक सय ५० रुपैयाँ बढेको छ । दसैंमा थप ५० देखि एक सय रुपैयाँ बढ्न सक्ने मासु व्यवसायीको भनाइ छ । खुद्रा व्यापारीले भने वृद्धि भएको मूल्यमा झन्डै ४० देखि ५० रुपैयाँ अतिरिक्त जोडेर उपभोक्ताबाट असुल गरिरहेका छन् ।
त्यस्तै सबैभन्दा बढी किनमेल हुने वस्तुमा लत्ताकपडा र जुत्ता पर्छन् । भीडभाडको फाइदा उठाउँदै व्यवसायीले लत्ताकपडा र जुत्तामा सय प्रतिशतसम्म बढी मूल्य थपेर उपभोक्ताबाट असुल गर्दै आएका छन् । विभागको अनुगमन टोलीले मूल्यसूची नराखी उपभोक्ताबाट अत्यधिक मूल्य असुल गर्ने व्यपारीलाई जरिबाना तिराएको छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com