| युगसम्बाद साप्ताहिक | ||||
|
आर्थिक क्षेत्र तहसनहस Tuesday, 05.15.2012, 02:04pm (GMT5.5) विगत आधा दशकयता मुलुकको अर्थतन्त्र उकालो लाग्नुको साटो दिन प्रतिदिन ओरालो लागेको छ । राजनीतिकरणको चर्को मारमा परेको नेपालको आर्थिक क्षेत्र तहसनहस हुने क्रममा छ । मुलुकले वैदेशिक रोजगारीबाट भित्रिएको रकमबाट आयात धानिरहेको छ । निर्यातमूलक उद्योगधन्दाहरु धमाधम बन्द हुने क्रममा छन् । यसका अतिरिक्त बेलाबेलामा हुने बन्द, हड्तालले औद्योगिक–व्यावसायिक क्षेत्र अस्तव्यस्त नै हुने गरेको छ भने राजश्व संकलनमा समेत प्रतिकूल प्रभाव परिरहेको छ । आर्थिक क्षेत्रलाई राजनीतिक प्रभावमुक्त पार्ने बन्दोबस्त कसैले गर्न सकेका छैनन् । मुलुकको आर्थिक विकासका लागि अनेक नारा घन्किन्छन् र सोही अनुसारको योजना बन्छन्, तर कार्यान्वयन भने पटक्कै हुँदैन । क्षणिक राजनीतिक स्वार्थका लागि उद्योगधन्दा, कलकारखानामा हुने राजनीतिक प्रभावको विस्तारले मुलुकको रोजगारी सिर्जनामा कुनै उपलब्धि छैन । नेपाली युवाहरु रोजगारीको खोजीमा विदेशिन वाध्य छन् । कृषिलाई व्यावासयिक बनाउने सोचसम्म विकसित हुन सकेको छैन । मुलुकको अर्थतन्त्रको बलियो आधार मानिएको कृषि उत्पादनकाृ वृद्धि मौसममा निर्भर रहन्छ । यस वर्ष मौसम अनुकूल हुँदा कृषि उत्पादनको वृद्धि ऐतिहासिक रुपमा बढेको घोषणा गरिएको छ । आकाशको भरमा कृषि उत्पादन बढेकोमा गर्व गर्ने नीति निर्माता तथा योजनाविद्हरु कृषि उत्पादन वृद्धिका लागि सरकारी तवरबाट के कस्तो प्रयास भयो भन्ने उल्लेख गर्नै सक्दैनन् । मुलुकको अर्थतन्त्रमा सुधारका संकेत देखिएको बताइन्छ तर यसबीचमा विगत दुई हप्तादेखि मुलुकभर चलेको बन्दको लहरले अर्थतन्त्र चौपट हुने मात्र होइन जनताको दैनिकी नै सकसपूर्ण बनिरहेको छ । ‘बन्द सदाका लागि बन्द’ गरिनुपर्ने माग सर्वत्र उठ्दै आए पनि विभिन्न माग गर्दै बन्द गर्ने क्रम रोकिएको छैन । कम्तिमा राजनीतिक दलहरुले बन्द संस्कृतिको अन्त्य गर्न सके पनि केही राहत हुन्थ्यो तर अनेक समुदाय र संघसंस्थाको बन्दलाई राजनीतिक दलहरुको समर्थन रहने गरेको छ । मुलुकमा बन्दको संस्कृति बढेसंगै उद्योग व्यवसाय चौपट बनेको छ । कुनै एक क्षेत्र मात्र बन्द हुँदा त दैनिक करोडौं रुपैयाँ नोक्सान हुन्छ भने नेपाल नै बन्द हुँदा यसको लेखाजोखा नै छैन । राजश्व असुलीदेखि लिएर विभिन्न आर्थिक गतिविधिमा पर्ने नकारात्मक प्रभावले लामो समयसम्म पछ्याइरहन्छ । गत दुई हप्ताभन्दा लामो समयदेखि जारी सुदूरपश्चिम बन्दले सो क्षेत्रमा दुई अर्बभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ । सोही बीचमा गत बिहिबार र शुक्रबार ब्राह्मण–क्षत्री, ठकुरी, दशनामी, दलित, पीछडाबर्ग लगायतको संयुक्त मोर्चाले आह्वान गरेको नेपाल बन्दले राजधानी सहित मुलुकभरका उद्योग, व्यवसाय, कलकारखाना र यातायातका क्षेत्र प्रभावित बने । यसबाट मुलुकले अर्बौंको नोक्सानी व्यहोर्नुप¥यो । मुलुकको आर्थिक विकास गर्ने हो भने अब बन्द संस्कृति बन्द हुनुपर्ने माग उद्योगी–व्यवसायीले उठाएको लामो समय भैसक्यो । उनीहरु बन्द मात्रै समस्या समाधानको उपाए नभएको भन्दै यसका लागि मुलुकलाई नै बन्धक नबनाई वैकल्पिक उपाय अबलम्ब गरिनुपर्नेमा जोड दिदै आएका छन् । राजनीतिक माग पूरा गर्ने पहिलो अस्त्र नै नेपाल बन्द बन्दै आएको छ । तर बन्द धेरै हुँदा सरकार न त बन्द रोक्न नै पहल गर्नतिर लागेको देखिन्छ न त माग नै पूरा गर्नसक्छ । निरन्तरको बन्दले मुलुकमा बाह्य लगानीको सम्भावना समेत कमजोर हुँदै गएको छ । यसले मुलुकको छविमा समेत नराम्रो सन्देश जाने र यसको दूरगामी असर मुलुकको अर्थतन्त्रमा पार्ने प्रभावबारे त न लेखाजोखा हुन सकेको छ न त राज्यले नै त्यसतर्फ ध्यान दिन सकेको छ । एक दिनको बन्दले प्रत्यक्ष मौद्रिक घाटामात्र अरबौंं रुपैयाँको पर्नजाने उद्योगी व्यवसायीका संगठनहरुले जनाउँदै आएका छन् । सरकारले बन्दका बेला आर्थिक गतिविधिलाई निर्वाध संचालन हुन दिने नीति बनाउन सकेको छैन भने राजनीतिक दलहरुले पनि सत्तामा रहँदा बन्दको विरोध गर्ने र सत्ता बाहिर गएपछि बन्दकै संस्कृति अँगाल्ने गर्दा मुलुकको अर्थतन्त्र उकासिनुको साटो खुम्चिदै गएको छ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||