युगसम्बाद साप्ताहिक

आर्थिक वृद्धिभन्दा मूल्यवृद्धि दोब्बर
Tuesday, 07.17.2012, 10:27pm (GMT5.5)

काठमाडौं । सरकारले गत शनिबार आर्थिक वर्ष २०६८।०६९ को आर्थिक सर्वेक्षण सार्वजनिक ग¥यो । आगामी आर्थिक वर्षको बजेटको पूर्वानूमानका रुपमा प्रस्तुत हुने सर्वेक्षणमा धेरै सकारात्मक कुराहरू देखाइएको छ । महंगी एक वर्षयता शतप्रतिशतले बढेको छ । आर्थिक सर्वेक्षणमै चालू आर्थिक वर्षमा अर्थतन्त्रको विस्तार ४ दशमलव ६ र बजार भाउ ८ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । 

सबभन्दा महत्वपूर्ण पक्ष त के रह्यो भने सर्वेक्षण अवधिमा नेपालीको औसत आम्दानी ५८ हजार २ सय ७४ रुपैयाँ अर्थात ७ सय ४२ डलर पुगेको छ । कुल राष्ट्रिय आयका आधारमा प्रतिव्यक्ति आय ५८ हजार २ सय ७४ रुपैयाँ पुगेको उल्लेख छ । पछिल्लो एक दशकमा नेपालीको प्रतिव्यक्ति आय तीन गुणाले बढेको छ । १० वर्षअघि प्रतिव्यक्ति आय जम्मा ११ हजार १ सय ४४ रुपैयाँ मात्रै थियो । प्रतिव्यक्ति आय बढ्नुमा मौसम राम्रो भएकाले बढेको कृषि उत्पादन, पर्यटकहरूको आगमनमा भएको वृद्धि लगायतले मद्दत गरेको बताइएको छ ।

मुलुकको आर्थिक अवस्था सन्तोषजनक रहेको देखाइएको सर्वेक्षणमा यसै अवधिमा प्रतिव्यक्ति ऋण पनि अघिल्लो वर्षको तुलनामा थपिएको छ । प्रतिवेदनका अनुसार प्रतिव्यक्ति ऋण १८ हजार ८ सय ६७ रहेको छ । यो गत वर्षको भन्दा ३ हजार २ सय ९१ ले बढी हो ।

आम्दानीसंगै ऋण बढेको सर्वेक्षणले गरीबीको रेखामुनी रहेका नेपालीको संख्यामा पनि कमी आएको देखाएको छ । जीवनस्तर मापन सर्वेक्षण तेस्रोले कुल जनसंख्याको २५।२ प्रतिशत नेपाली निरपेक्ष गरीबीको रेखामुनी रहेको देखाएको छ । यस्तै आयमा असमानता दर्शाउने गिनी सूचकांक पनि घटेर ०।३३ पुगेको छ ।

सस्तो लोकप्रियता र प्रचारवाजीमा रमाउने सरकारले आर्थिक विकासका जतिसुकै नारा घन्काएर कागजी तथ्यांक प्रस्तुत गरे पनि वास्तविकता त्यस्तो पटक्कै छैन । यस्तो परिस्थितिमा आम्दानी बढेर गरीबी घटेको देखिए पनि दैनिक गुजारा चलाउन धौधौ पर्ने अवस्था विद्यमान नै छ । 

चालू आर्थिक वर्षको ८ देखि १० महिनाको आर्थिक अवस्था समेटिएको सर्वेक्षणले पछिल्लो ३ वर्षयताकै राम्रो आर्थिक परिसूचक सार्वजनिक गरेको छ । २०६५।६६ यता पहिलोपटक आर्थिक वृद्धिदर साढे ४ प्रतिशत नाघेको हो । त्यसो त विगत लामै समययता मूल्यवृद्धिले पनि अहिलेको रेखा पार गरेको थिएन ।

सर्वेक्षणमा कृषि र सेवा क्षेत्रको वृद्धिले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको उल्लेख छ । यस वर्ष कृषि क्षेत्रको विस्तार ४ प्रतिशत नाघेको छ । हालसम्मकै सबैभन्दा बढी खाद्यान्न उत्पादन भएकाले कृषि योगदान पनि अर्थतन्त्रमा २ प्रतिशत बिन्दुले बढेको छ । गत वर्ष अर्थतन्त्रमा ३३ प्रतिशत हिस्सा राख्ने कृषि क्षेत्रको हिस्सा ३५ प्रतिशत नाघेको छ ।

खाद्यान्न बाली यस वर्ष ९४ लाख टन उत्पादन भएको छ जसमा ५० लाख टन धान उत्पादन भयो । यो गत वर्षको भन्दा १३ प्रतिशत बढी हो । गहँ, जौ, कादो फापर लगायत बालीको उत्पादन पनि यस वर्ष बढेको छ ।

यसै गरी अर्थतन्त्रमा झन्डै ५५ प्रतिशत हिस्सा राख्ने सेवा क्षेत्रको विस्तार ३।६ प्रतिशतको हाराहारीमा भएको छ । यातायात, सञ्चार, रेस्टुरेन्ट, सरकारी तथा गैरसरकारी सेवाको विस्तार उल्लेख्य भएको छ ।

यसबीचमा उत्पादनमूलक क्षेत्रको विस्तार भने निराशाजनक छ । उत्पादनमूलक क्षेत्रको विस्तार १ प्रतिशतको हाराहारीमा हुनुपर्छ । पछिल्लो ५ वर्षमा उत्पादनमूलक क्षेत्र औसत शून्य दशमलव ३ प्रतिशतले विस्तार भएको तथ्यांक केही अघि सरकारले नै सार्वजनिक गरेको थियो ।

मूल्य वृद्धि भने सरकारको लक्ष्य भन्दा १ प्रतिशत बिन्दुले बढी हुने देखिएको छ । आर्थिक सर्वेक्षणे यस वर्ष ८ प्रतिशत मुद्रास्फीति दर रहने प्रक्षेपण गरेको छ । सरकारी लक्ष्य भने ७ प्रतिशत थियो । लक्ष्यभन्दा बढी भए पनि गत वर्षको भन्दा बजार भाउ कम दरले बढेको सरकारी तथ्यांकले देखाउँछ । गत वर्ष यो दर ९ दशमलव ६ प्रतिशत थियो । दुई वर्ष अघिदेखि मुद्रास्फीति नाप्न समावेश गरिने वस्तु तथा सेवाको डालोमा खाद्यान्नको हिस्सा कम गरिएकाले सर्वसाधारणले उपभोग गर्ने खाद्य सामग्रीको मूल्य निकै बढे पनि औसत कम देखिएको हो । खाद्यान्न र तरकारीको मूल्य भने यस अवधिमा निकै बढेको छ ।

यस वर्ष भुक्तानी सन्तुलन र चालू खाता भने ऐतिहासिक उचाइमा पुगेको छ । चालू खाता बचत ६० अर्ब नाघेको पछिल्लो तथ्यांक छ । रेमिट्यान्स आप्रवाह, पर्यटन आय लगायतमा भएको वृद्धिले चालू खातामा सकारात्मक असर परेको हो । सन्तोषजनक वैदेशिक लगानी नभित्रिए पनि यिनै कारणले भुक्तानी सन्तुलन पनि अर्थतन्त्रको झन्डै ८ प्रतिशत पुगेको छ । भुक्तानी सन्तुलन बचत करिब १ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ ।

आर्थिक सर्वेक्षण अनुसार चालु वर्षमा कुल गार्हस्थ उत्पादनमा लगानीको अंश बढेको जनाइएको छ । गत आर्थिक वर्षमा यस्तो अंश २२ दशमलब ३ प्रतिशत रहेकोमा यस वर्ष ३२ दशमलब ८ प्रतिशत पुग्ने अनुमान गरिएको छ । कुल गार्हस्थ उत्पादनमा व्यापार घाटाको अंश बढ्दै गएको छ । चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादनमा निर्यातको अंश ९ दशमलब ८ प्रतिशत पुगेको छ भने आयातको अंश ३२ दशमलब ६ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा कुल निर्यात १४ दशमलब १ प्रतिशतले बढेर ४८ अर्ब ५६ करोड पुगेको छ भने आयात १६ दशमलब ६ प्रतिशतले बढेर २ खर्ब ९५ अर्ब २४ करोड पुगेको छ । 

२०६८ फागुन मसान्तसम्म कुल व्यापार घाटामा १७ प्रतिशतले बढेर २ खर्ब ४६ अर्ब ६८ करोड पुगेको छ । धितोपत्र बजारको अवस्था सन्तोषजनक नरहे पनि शोधनान्तर स्थिति अनुकुल रहेको सर्वेक्षणले देखाएको छ । यस वर्ष पर्यटकको संख्या गत वर्षको तुलनामा २२ प्रतिशतले बढेको जनाइएको छ । 

विगत केही समययता सार्वजनिक संस्थानहरूको सुधार गर्ने नारा घन्किए पनि त्यसमा खासै सुधार भएको छैन । ३७ वटा सार्वजनिक संस्थानमध्ये १४ वटा संस्थानको अवस्था दयनीय बनेको छ । १४ संस्थान घाटामा संचालन भैरहेको संस्थानहरूको प्रगति समीक्षामा बताइएको छ । नेपाल इञ्जिनियरिङग कन्सल्टेन्सी सेवा केन्द्र र जलविद्युत लगानी तथा विकास कम्पनीले कारोबार नै गरेका छैनन् । सबैभन्दा बढी घाटामा संचालन भैरहेका संस्थानहरूमा नेपाल विद्युत प्राधिकरण र नेपाल आयल निगम छन् ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com