| युगसम्बाद साप्ताहिक | ||||
|
गरीबी घट्यो, ऋण पनि बढ्यो Monday, 07.23.2012, 04:41pm (GMT5.5) नेपालको अर्थतन्त्र वैदेशिक रोजगारीले धानिएको छ र सरकारको आर्थिक विकासको लक्ष्यमा लाज ढाक्ने काम पनि यसैले गरेको छ भन्ने दृष्टान्त कसैबाट लुकेको छैन । सरकारले केही दिन पहिले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा नेपालीहरूको आर्थिक स्तर बढेको र शहरमाभन्दा ग्रामीण क्षेत्रमा गरीबी घटेको देखाइयो । आर्थिक गतिविधि ग्रामीण क्षेत्रमा नभएकै कारण शहरमा आउनेको संख्या दिन प्रतिदिन बढिरहेका बेला ग्रामीण क्षेत्रमा गरीबी घटेको तथ्यांक आउनु अपत्यारिलो विषय बनेको छ । अघिल्ला वर्षहरूमा शहरी क्षेत्रमा गरीबी घट्दै जाने र ग्रामीण क्षेत्रमा बढ्दै जाने देखिन्थ्यो भने यस वर्ष समग्र गरीबीको जनसंख्यामा कमी आएको, त्यसमा पनि शहरमा गरीबी बढेको र गाउँमा घटेको देखाइएको छ । यसो किन भयो भन्दा आर्थिक गतिविधि तीब्र हुनुपर्ने शहरी क्षेत्रमा लगानी हुन सकेन, जनसंख्या भने बढ्दै गयो । यसको विपरीत ग्रामीण क्षेत्रका श्रमजीवी युवाहरू विदेश गए र आफ्नो परिवारलाई दुई छाक मीठो खुवाउने हैसियतका भए । मुलुकमा लगानी मैत्री वातावरणको अभाव प्रचूर छ जसको परिणाम बेरोजगारको संख्या बढिरहेको छ । वैदेशिक रोजगारी बाहेक अर्को विकल्प छैन । यस हिसाबले शहरी क्षेत्रमा रोजगारीको अभाव, महंगी र आर्थिक उत्पादकत्व गतिशील नहुनु र गाउँमा रेमिट्यान्सका कारण जनजीवन सहज हुँदै जानु नै यस्तो तथ्यांकको प्रमुख कारण हो । स्थायी आर्थिक विकासको कुनै पूर्वाधार ग्रामीण क्षेत्रमा छैन । कृषियोग्य जमिन बाँझै छन् । श्रम गर्ने युवाहरूको प्रचूर अभाव छ । गाउँका गाउँ युवाविहीन भएर जन्ती र मलामीको समेत अभाव हुन पुगेको छ तर गरीबी घटेको छ । सर्वेक्षण अनुसार, शहरी क्षेत्रमा कुल जनसंख्याको १९ प्रतिशत बसोवास गर्छन् । यसमध्ये गरिबीको रेखामुनिको जनसंख्या ९।५५ प्रतिशतबाट बढेर १५।४५ प्रतिशत पुगेको छ । काठमाडौं उपत्यकामा कुल जनसंख्याको ११।४७ प्रतिशत गरीबीको रेखामुनि छन् । यसको विपरीत ग्रामीण क्षेत्रमा रेमिट्यान्सको पहुँच भएका कारण गरीबी ३४।६२ प्रतिशतबाट घटेर २७।४३ प्रतिशतमा आएको छ । गाउँमा कुल जनसंख्यामध्ये ८१ प्रतिशतको बसोवास छ र गरीबीको रेखामुनि रहेको जनसंख्या ३०।८५ प्रतिशतबाट २५।१६ मा झरेको छ । मुलुकको गरीबी जुन कारणले जसरी घटे पनि त्यो दीगो पक्कै पनि छैन । वैदेशिक रोजगारीबाट भित्रिएको रकम उत्पादनमूलक कार्यमा लगाउन सकिएको छैन । वार्षिक तीन खर्बभन्दा बढी भित्रिने रेमिट्यान्सको अत्यधिक खर्च उपभोग्य वस्तुको खरीद मै हुने गरेको छ । कुनै पनि बेला वैदेशिक रोजगारीमा सानो प्रभाव प¥यो भने मुलुक भयानक आर्थिक संकटमा पर्नसक्छ । मुलुकमा सन्तोषजनक रुपमा आर्थिक गतिविधिहरू संचालित छैनन् । निर्यातजन्य उद्योगहरूको स्थापना हुनु त कता कता भएका उद्योगहरू समेत बन्द भएका छन् । मुलुकभित्र रोजगारी नभएपछि वैदेशिक रोजगारी नै एकमात्र विकल्प बनिरहेको छ र त्यसैबाट ग्रामीण क्षेत्रका जनताको जीवनस्तरमा सुधार आएको छ । उनीहरूका लागि यो सुधार स्थायी नभएर अस्थायी मात्र हो । गरीबी घटेको यस्तो तथ्यांकसंगै प्रतिनेपाली ऋणभार पनि बढेको छ । बाह्य र आन्तरिक कर्जाका कारण हरेक नेपालीको थाप्लोमा १८ हजार रुपैयाँभन्दा बढी ऋणको भार परेको छ । गत असारसम्म सरकारले करिब ५ खर्ब ९ अर्ब रुपैयाँ ऋण लिएको छ जसमध्ये ३ खर्ब ८ अर्ब रुपैयाँ विदेशी ऋण छ । यस अनुसार वैदेशिक ऋणको भारमात्रै प्रतिव्यक्ति करिब ११ हजार ४ सय रुपैयाँ हुन्छ । यो ऋण तथा सहायता कहाँ उपयोग भयो भन्ने कुनै तथ्यांक छैन । गरीब नेपाली जनताको उन्नतिको नाममा आएको र लिइएको ऋण नेपालीको जीवनस्तर उकास्न पटक्कै प्रयोग हुन सकेको छैन । तोकिएको योजनामा आउने बजेट खर्च गर्न नसकेर फिर्ता जाने अवस्था सिर्जना भएको छ । विदेशीले निर्धारण गरेको कार्यक्रममै उनीहरूले दिएको पैसा खर्च गर्नुपर्ने भएपछि त्यसबाट नेपालीले पाउने लाभ कमै देखिएको छ । शर्तको घेराबन्दीमा परेर लिइएको ऋण तथा आर्थिक सहायता उपलब्धिविहीन छ । केही दिन पहिले मात्र वैदेशिक सहायतामध्ये झण्डै तीन खर्ब रुपैयाँ फिर्ता जाने अवस्थामा पुगेको समाचार विवरण सार्वजनिक भएको थियो । दाताले दिएको रकम त सदुपयोग हुन नसक्ने अवस्थामा रेमिट्यान्सको सदुपयोग गर्ने नीति कसरी बन्ला भन्ने प्रश्न टड्कारो छ । तैपनि गरीबी घटेको छ, वैदेशिक ऋण बढिरहेको छ तर आर्थिक वृद्धिदरमा भने नाम मात्रको प्रगति छ । यसको एउटै कारण भनेको स्पष्ट आर्थिक नीतिको अभाव हो । मुलुक लाहुरे अर्थतन्त्रले धानिएको छ तापनि जिम्मेवार निकायहरू आँखामा पट्टी बाँधेर उन्नतिको बखान गर्नमै मस्त देखिएका छन् । भएको स्रोत साधनको सदुपयोग गर्नेतिर पटक्कै ध्यान छैन । दिगो आर्थिक विकासका लागि कृषिको आधुनिकीकरण र नेपालमै रोजगारीको सिर्जना गर्नुपर्ने भए पनि नेपाली युवाहरूका लागि वैदेशिक रोजगारी नै एकमात्र आधार बनिरहेको र यसैबाट गरीबी घटेको तथ्यांक प्रस्तुत भएसंगै वैदेशिक ऋणभार थपिंदै जानुको कारण जो कोहीले पत्ता लगाउन सक्छ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||