| युगसम्बाद साप्ताहिक | ||||
|
युवावर्ग स्वरोजगारतर्फ आकर्षित Monday, 08.06.2012, 05:20pm (GMT5.5) तत्कालीन अर्थमन्त्री डा बाबुराम भट्टराईले नेपाली युवाहरूलाई स्वरोजगारतर्फ अघि बढाउने घोषणासंगै युवा स्वरोजगार कार्यक्रम ल्याउनुभयो । यसले युवावर्गमा निकै उत्साह पनि थप्यो । तर कार्यक्रमको कार्यान्वयन भने आम बेरोजगार युवाहरूतर्फ लक्षित नभएर राजनीतिक दलका कार्यकर्तामा सीमित हुन पुग्यो । भागवण्डा मिलाउँदै प्रमुख दलका कार्यकर्ताले मुलुकको करोडौं रुपैयाँ चलाउन पाए । नेपालमा औद्योगिक प्रतिष्ठानहरू स्थापित भएर रोजगारी सिर्जना हुने कुनै सम्भावना छैन । कृषिलाई स्वरोजगारमुखी बनाउनेतिर पनि सरकारी पहल देखिंदैन । नेपाली युवाहरूको एकमात्र विकल्प भनेको वैदेशिक रोजगारी मात्र हो । यस्तोमा ग्रामीण क्षेत्रका केही युवाहरू स्वरोजगारतर्फ आकर्षित हुन थालेका छन् । व्यावसायिक तरकारी खेती, पशुपालन, फलफूल लगायत जडिबुटी खेतीले नेपाली युवाहरूलाई विस्तारै आकर्षित गर्न थालेको छ । राजधानी उपत्यकाकै काँठका युवाहरू सामूहिक रुपमा तरकारी खेती, गाई पालनमा जुटेका छन् । पढेलेखेकाले कृषि पेशा गर्नु हुँदैन, सरकारी जागीर नै खानुपर्छ भन्ने मान्यता विस्तारै भंग हुँदैछ । आयआर्जनको उपयुक्त विकल्पका रुपमा अहिले तरकारी र पशुपालन बन्न पुगेको छ । बेरोजगारीले आक्रान्त बनेका युवाहरूमा वैकल्पिक पेशाको रुपमा पशु र कृषिलाई लिएका भए पनि सम्बन्धित निकायले उनीहरूको उत्साहमा ऊर्जा थप्न सकेको छैन । युवा स्वरोजगार कार्यक्रममार्फत कार्यकर्ता र राजनीतिक दलका कार्यकर्ताले खोलेका वित्तीय संस्थाहरूमार्फत रकमको बाँडफाँड गरिए पनि त्यसको उपलब्धि खासै हुन सकेको छैन । अहिलेसम्म कार्यक्रम लागू भएका कतिपय जिल्लाबाट यसको प्रतिफल सार्वजनिक हुन सकेको छैन भने केही जिल्लाका युवाहरू स्वरोजगारतर्फ आकर्षित हुँदैगएका पनि छन् । यसबीचमा युवा स्वरोजगार कार्यक्रममार्फत कार्यकर्तापोस्ने काम भएको भन्दै कार्यक्रमको चर्को आलोचना समेत भयो । एनेकपा माओवादी, नेपाली कांग्रेस, एमाले जस्ता प्रमुख दलका नेता–कार्यकर्ताको संलग्नतामा खुलेका सहकारीहरूलाई करोडौं करोड रुपैयाँ युवा स्वरोजगार कार्यक्रमको रकम वितरण गरिएको केही पहिले सार्वजनिक भएको थियो । काम गर्नेलाई प्रोत्साहित गर्ने नीति छैन । उत्पादन भएका वस्तुको बजारको समस्या पनि उस्तै छ । बजार पूरै कालोबजारीहरूको कब्जामा छ । किसानले उत्पादन गरेको वस्तुको लाभ किसानले भन्दा विचैलियाले बढी लिने गरेका छन् । किसानको परिश्रमको मूल्य छैन । तैपनि बेरोजगारहरू कृषि र पशुपालनतर्फ आकर्षित भैरहेका छन् । नेपाली युवाहरूमा रोजगारीका विषयमा कायम रहेको सोच विस्तारै परिवर्तन हुँदै गएको छ । यसलाई सरकारी निकायले थप प्रोत्साहित गर्ने गरी नीति निर्माण गर्ने र त्यसको सवल कार्यान्वयन गर्ने हो भने देशको उत्पादकत्व ह्वात्तै बढ्ने मात्र होइन धेरै कुरामा आत्मनिर्भर पनि हुन सकिन्छ । ग्रामीण क्षेत्रका युवाहरू स्वरोजगारतर्फ आकर्षित हुँदै उनीहरू कृषि तथा पशुपालनमा अग्रसर हुन थालेका छन् । यस्तो कार्यमा बढी मात्रामा विदेशबाट फर्किएका युवाहरू संलग्न देखिन्छन् । रोजगारीको अभावमा दैनिक हजारौं युवा विदेशिइरहेका बेला पर्वतका युवाको भने पशुपालनतर्फको आकर्षण बढ्दै गएको छ । १८ लाख रुपैयाँ पाएर जिल्ला पशु सेवा कार्यालयले सञ्चालन गरेको ग्रामीण युवा स्वरोजगार कार्यक्रममा ग्रामीण क्षेत्रका युवायुवतीको आकर्षित हुन थालेका छन् । पर्वतमा हालसम्म २ सय २९ जना युवायुवती व्यावसायिक पशुपालनमा लागेको र यसबाहेक ६७ जनाले व्यावसायिक कुखुरापालन गर्दै आएका छन् । तीमध्ये २० देखि १ सय ५० वटा वाख्रासम्म पाल्ने कृषकको संख्या ५१ छ । यतिबेला विदेशबाट फर्किएका २२ युवायुवतीले यो व्यवसाय सुरु गरेका छन् । यो एउटा प्रारम्भ मात्र हो । स्वरोजगारतर्फ अग्रसर हुने वातावरण बनाउने र उत्पादित वस्तुको बजारसम्म पहुँच पु¥याउने दायित्व सरकारको हो । कृषि प्रधान देश नेपालका ८० प्रतिशतभन्दा बढी जनताको दैनिकी कृषिबाटै चलिरहेको छ । नेपालको कृषि निर्वाहमुखी मात्र छ । विस्तारै यो निर्यातमुखी बन्ने क्रममा रहेको छ । तर सरकारी उदासिनताले जाँगर पालेर कर्म गर्न खट्नेहरूलाई निरुत्साहित पारिरहेको छ । मुलुकको प्रमुख खाद्य बाली धान रोपाई गर्ने बेलामा मल नपाएर किसानहरू हैरान भए । अहिले पनि आधाभन्दा बढी खेत बाँझै छन् । एकातिर पर्याप्त वर्षा नहुने र वर्षा भएर खेत भिजे पनि रोपाई गर्न आवश्यक मल नहुने भएपछि खाद्यान्नमा आत्मनिर्भर बन्ने सपना कसरी पूरा हुन्छ ? |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||