युगसम्बाद साप्ताहिक

आयल निगमले तिर्नुपर्ने दायित्व २७ अर्ब
Monday, 08.27.2012, 04:54pm (GMT5.5)

नेपालमा पेट्रोलियम पदार्थ आयात गर्ने एकमात्र निकाय नेपाल आयल निगम सम्भवतः अब उठ्न सक्दैन किनभने आयल निगमको ऋण मात्र २७ अर्ब रुपैयाँ नाघेको छ । पछिल्लो पटक नेपाल आयल निगमले सरकार र विभिन्न संस्थालाई तिर्नुपर्ने दायित्व २७ अर्ब ५१ करोड रुपैयाँ पुगेको सार्वजनिक गरेको छ । 

गत शुक्रबार सम्पन्न निगमको साधारण सभामा सो तथ्यांक सार्वजनिक गरिएको हो । साधारण सभाले पछिल्ला दुई वर्षको वित्तीय विवरणलाई पनि पारित गरेको छ । सभाले निगमको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्न छिट्टै विशेष साधारण सभा बोलाउने निर्णय पनि गरेको छ । 

आयल निगमको सुधारका लागि जति पनि अध्ययन भयो, जति प्रतिवेदन सार्वजनिक भयो त्यसको कार्यान्वयनतिर पटक्कै चासो देखाएको छैन । नेपाल आयल निगम नगद तिरेर तेल ल्याउने र नगदमै विक्री गर्ने संस्था हो । आयल निगमले जहिले पनि नाफा राखेर तेल विक्री गर्ने गरेको देखिए पनि निगम सधैं घाटामा गएको देखिन्छ । अर्कोतिर आयल निगम हेर्ने मन्त्रीदेखि यहाँका उच्च पदाधिकारीहरूले भने लाभमाथि लाभ लिइरहेका हुन्छन । त्यहाँका कर्मचारीहरूको आर्थिक हैसियत पनि रामै्र छ तर आम उपभोक्ताको अवस्था भने नाजुक हुने गरेको छ । तेलको लागि लाम बस्नुपर्ने नियति कहिल्यै नटुंगिने विडम्बना बनेको छ ।

नेपाल आयल निगमले जहिले पनि महंगोमा किनेर सस्तोमा तेल बेच्नुपरेको रटान लगाउँदै घाटा भएको बताउँदै आएको छ । मूल्यवृद्धिको प्रमुख कारण अन्तर्राष्ट्रिय बजारमा तेलको भाउमा भएको वृद्धिलाई बताइन्छ तर तेलको भाउ घट्दा भने मूल्य घट्दैन र आयल निगम राजनीतिक तहको आर्थिक लाभको पहिलो केन्द बनिरहेको छ । आयल निगममा पुग्नेहरूले नेताहरूलाई निश्चित रकम तोकेर जान्छन् भन्ने संचार माध्यममा सार्वजनिक भएको विषय हो ।

ऊर्जाका क्षेत्रमा नगद कारोबार गर्ने नेपाल आयल निगम र नेपाल विद्युत प्राधिकरणको अवस्था लगभग उस्तै छ । प्राधिकरण पनि आयल निगमकै हाराहारीमा घाटामा रहेको बताउँछ । आखिर यत्रो घाटा कसरी ? अहिले आम चासोको विषय बनिरहेको छ । आयल निगम र विद्युत प्राधिकरणलाई यथावस्थामा छाडिदिने हो भने केही वर्षपछि यी दुबै निकायले तोकिएको कुनै पनि काम गर्न नसक्ने स्थिति उत्पन्न हुनेछ ।

आयल निगमको सुधारका लागि कुनै पहल छैन । घाटाको कारण केवल अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भएको वृद्धिलाई मात्र बताइन्छ । सरकारसंग कर फिर्ता माग्ने गरी नियम संचालक समितिले अडान राख्न सकेको छैन । आयल निगमले डिजेल, पेट्रोल लगायतमा प्रति लिट ३० रुपैयाँको हाराहारीमा भन्सार तथा भ्याट तिर्ने गरेको छ । त्यो रकम नियमलाई अनुदानमा दिने हो भने निगमको घाटा पूर्ति हुन्छ भन्ने स्पष्ट छ तापनि सरकारले त्यतातिर ध्यान दिएको छैन । नाफामा भए सबैको आँखा लाग्ने हुँदा घाटा देखाउन पाए नै निगमका हर्ताकर्ताहरूलाई फाइदा हुने स्पष्टै छ । 

त्यसैले सुधारका कुनै प्रयास गर्ने प्रतिबद्धता पनि छैन र घाटाको नयाँ कारण पनि छैन । सबैले अन्तर्राष्ट्रिय बजार मूलयलाई कारण बताइरहेका छन् । साधारणसभामा सञ्चालक समितिका अध्यक्ष एवं वाणिज्य तथा आपूर्ति सचिव लालमणि जोशीले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि हुँदा त्यस अनुसार मूल्य समायोजन गर्न नसकेकाले निगमले निरन्तर घाटा बेहोरिरहेको बताउनुभयो । 

यदि अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन नहुनु मात्रै घाटाको कारण हो भने आर्थिक वर्ष २०५७।०५८ सम्म निगम कसरी नाफामा रहन सफल भयो ? किन त्यसपछि निगम घाटामा जान थाल्यो ? यसको विश्लेषण आवश्यक भए पनि कसैको पनि ध्यान गएको छैन ।
साधारण सभामा जोशीले तीन वर्ष अघि ३ अर्ब ३१ करोड ४१ लाख नाफा गरेको आयल निगमले पछिल्ला वर्षहरूमा घाटामा रहेको बताउनुभयो । त्यस क्रममाा उहाँले निगमको सुधारका प्रक्रियालाई निरन्तरता दिनुका साथै भविष्यका लागि आवश्यक र उपयोगी कार्यनीति बनाई त्यसलाई कार्यान्वयन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभए पनि त्यसलाई कसैले पत्यार गरेको स्थिति छैन । 
साधारणसभामा निगमका निमित्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले इण्डियन आयल कर्पोरेशनसंग पेट्रोलियम पदार्थ आपूर्ति सम्बन्धी ५ वर्षे सम्झौता, मितव्ययिता र व्यवस्थापन सुधारतर्फ उपलब्धि हाँसिल भएको उल्लेख गर्नुभयो ।

सार्वजनिक तथ्यांक अनुसार निगमलाई आव २०६६।६७ मा ८४ करोड र २०६७।०६८ मा ५ अर्ब १० करोड घाटा भएको थियो । आव २०६७।६८ को अन्त्यमा संचित नोक्सानी १२ अर्ब ९९ करोड ६० लाख कायम छ । उता सूचनाको हक सम्बन्धी ऐनको आधारमा केही महिना अघि सार्वजनिक भएको आधा दशकको निगमको खरीद विक्रीको हिसाबमा निगमलाई घाटा एकपटक मात्र भएको र त्यो पनि न्यून छ । निगमले प्रति वर्ष ३ अर्ब रुपैयाँको हाराहारीमा नाफा गरेको उसको खरीद विक्री हिसाबले देखाउँछ । यस हिसाबले निगम अहिले दशौं अर्ब रुपैयाँ नाफामा हुनुपर्ने देखिए पनि २७ अर्बको घाटामा गएको देखिनु आफैंमा उदेकलाग्दो विषय छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com