| युगसम्बाद साप्ताहिक | ||||
|
वैदेशिक व्यापारमा चरम असन्तुलन Tuesday, 10.30.2012, 09:39am (GMT5.5) काठमाडौं । एकातिर राजनीतिक संकट, अर्कोतिर आर्थिक संकट कतिबेला प्रकट हुने हो भन्ने चिन्ता जागृत हुन थालेको छ । पछिल्लो समय नेपालको वैदेशिक व्यापारको स्थिति अन्यन्त नाजुक रहेको देखिएको छ । नेपालको वैदेशिक व्यापारको एउटा प्रमुख नाकाको रुपमा रहेको पूर्वाञ्चलको स्थिति मात्र हेर्दा पनि मुलुकले कतिबेला कस्तो आर्थिक समस्या झेल्नुपर्ने हो भन्ने प्रश्न उत्तिकै गम्भीर छ । रेमिट्यान्सबाट धानिएको आयातले कहिलेसम्म मुलुक चल्ला भन्ने प्रश्न पनि उठिरहेको छ । रेमिट्यान्सलाई उत्पादनमूलक कार्यमा लगाउनुपर्ने सुझावजति नै व्यक्त भए पनि सरकार आयात धानिएकोमै मख्ख छ । उब्जाउयुक्त खेतबारी बाझै राखेर युवाहरू वैदेशिक रोजगारीमा गएर मुलुकको अर्थतन्त्र धानिएकोमा मख्ख पर्ने बाहेक नीति निर्माता, योजनाविद् तथा कार्यान्वयनकताहरूको कुनै कामै छैन । यसैको संकेतका रुपमा पूर्वाञ्चल क्षेत्रको वैदेशिक व्यापारको आँकडा आएको छ । निकासी व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष २०६८।६९ मा पूर्वाञ्चल क्षेत्रबाट कूल वैदेशिक व्यापार एक खर्ब १० अर्ब रुपियाँ रहेको छ । यस क्षेत्रको कूल व्यापारमा निकासीतर्फ २९.६० प्रतिशत र आयाततर्फ ७०.४० प्रतिशत रहेको छ । यस अवधिमा पूर्वाञ्चलबाट निकासी भएका प्रमुख वस्तुमा फलाम तथा स्टिल र तिनका उत्पादनहरू, पोलिस्टर धागो, अलैँची, जुट ब्याग तथा जुटका सामान, मसुरो दाल, तामा तथा तामाका सामान, चिया, छाला, सुपारी, नुडल्स, साबुन, अदुवा, अम्रिसो कुचो, खालिपिना, गहुँको चोकर र हस्तकलाका सामान छन् । यस अवधिमा फलाम तथा स्टिल र तिनका उत्पादन रु आठ अर्ब ७९ करोड, पोलिस्टर तथा अन्य धागो रु तीन अर्ब ७९ करोड, अलैँची रु तीन अर्ब ४६ करोड, तयारी पोसाक रु दुई अर्ब ३९ करोड, जुट ब्याग तथा जुटका अन्य सामान रु तीन अर्ब ४४ करोडको निकासी भएको छ । त्यस्तै, मसुरो रु दुई अर्ब २८ करोड, चिया रु एक अर्ब ३८ करोड, तामा तथा तामाका निर्मित सामान रु एक अर्ब २७ करोड, छाला रु ५७ करोड ८० लाख, सुपारी रु ४१ करोड पाँच लाख, नुडल्स रु ३९ करोड, अदुवा रु १० करोड तीन लाख, साबुन रु १७ करोड ८० लाख र खलिपिना रु १६ करोड ८० लाखको निकासी भएको केन्द्रले जनाएको छ । वनस्पति घिउ तेल, अम्रिसो कुचो, गहुँका चोकर, हस्तकला वस्तुहरू, जुटका डोरी तथा बोरा, तामा तथा अन्य धातुका सामानलगायत रु तीन अर्ब मूल्य बराबरको निकासी भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । गत आब २०६८।६९ को अवधिमा पूर्वाञ्चल क्षेत्रमा आयात भएका प्रमुख वस्तुमा पेट्रोलियम पदार्थ, फलाम र स्टिलका उत्पादन, मेसिनरी र त्यसका पार्टस, इलेक्ट्रिकल र इलोक्ट्रोनिक्स सामान, तामाका उत्पादन, रासायनिक मल, यातायातका सामग्री, कागज तथा कागजबाट निर्मित विभिन्न सामान, कच्चा जुट, विभिन्न केमिकल्स, दैनिक प्रयोगमा आउने सनफ्लावर तेल, मकै तथा यसबाट निर्मित सामग्री, भटमासको तेल, चामल, तयारी पोशाक लगायत छन् । केन्द्रका अनुसार पेट्रोलियम पदार्थ रु १४ अर्ब ९० करोड, फलाम, स्टिल र तिनका उत्पादन रु १३ अर्ब ९१ करोड, प्लास्टिक तथा प्लास्टिकबाट निर्मित सामान रु छ अर्ब ६४ करोड, धागो रु तीन अर्ब ९७ करोड, कोइला रु तीन अर्ब, मेसिनरी तथा मेसिनरी पार्टस रु दुई अर्ब ९७ करोड, कच्चा सोयाबिन तेल रु दुई अर्ब ५३ करोड र कच्चा जुट रु दुई अर्ब २८ करोडको आयात भएको छ । त्यस्तै, तामा रु एक अर्ब ९९ करोड, यातायातका साधन र तिनका पार्टपूर्जा रु एक अर्ब ६७ करोड, इलेक्ट्रिक र यसका सामान रु ९२ करोड, कागज तथा कागजबाट निर्मित सामग्री रु ८६ करोड ६ लाख, कच्चा पामतेल रु ८५ करेड ६ लाख, मकै रु ८३ करोड, चामल रु ६९ करोड, तयारी पोशाक रु ६० करोड मूल्य बराबरको आयात भएको केन्द्रले जनाएको छ । नेपालको कूल निर्यातबाट प्राप्त रकमले पेट्रोलियम पदार्थ किन्न पनि पुग्दैन । पूर्वाञ्चलबाट मात्र ७० प्रतिशत आयात र ३० प्रतिशतको हाराहारीमा निर्यात हुँदा मुलुकमा आर्थिक विकासको नारा घन्काउनेहरूको वास्तविकता छर्लङ्ग हुन्छ । आर्थिक विकास अबको एजेण्डा भन्दै जतिसुकै कार्यक्रम बनाए पनि त्यसलाई कार्यकर्ता पोस्ने र राजनीतिक शक्ति आर्जन गर्ने मेसो मात्र बनाइएका कारण आर्थिक समृद्धिको कुनै सम्भावना देखिएको छैन । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||