युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 11.20.2019, 08:02pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
उज्यालो भविष्यको कामना
Tuesday, 11.19.2013, 03:01pm (GMT+5.5)

आज संविधानसभा–२ को निर्वाचन हुँदैछ । एक करोड साँढे एक्काइस लाख मतदाताले आजको मतदानमा भागलिने अधिकार पाएका छन् । प्रत्यक्ष र समानुपातिकमा गरी १७ हजारभन्दा बढी उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । चुनावमा प्रतिस्पर्धा गर्ने दलहरूको संख्या २ सय २२ छ । इतिहासमा एकचोटी हुने भनिएको संविधानसभाको निर्वाचन  हाम्रो देशमा दुईपटक हुँदैछ । एक वर्षभित्र संविधान निर्माण गरिसक्ने र बाँकी चार वर्ष व्यवस्थापिकाको काम गर्ने अवधारणाका साथ हुनलागेको यो निर्वाचनले विगतका सवै कमीकमजोरीलाई पाखा लगाएर उच्चतम सहमतिको राष्ट्रिय राजनीतिक वातावरण सिर्जना गरी यथासमयमा नै नयाँ संविधान निर्माण गर्नसक्ने वाञ्छित परिस्थितिको सिर्जना गरोस् भन्ने आम नेपाली जनताको कामना छ । मुलुकले यही निर्वाचनका माध्यमबाट निकट भविष्यमै ताजा जनादेश प्राप्त उत्तरदायी नयाँ सरकार गठनको पनि अपेक्षा राखेका छन् । वास्तवमा आजको दिन नेपाललाई लामो संक्रमणकालबाट मुक्ति दिने र नेपाल र नेपाली जनताको भविष्य उज्यालो पार्ने ऐतिहासिक दिन बन्नसकोस् भन्ने आम नेपाली जनताको कामना छ ।

निर्वाचन जनमत बुझ्ने महत्वपूर्ण अवसर हो । नेपाली जनताको अभिमत र अनेकौं चरणका उत्सर्गपूर्ण संलग्नताले नेपालका राजनीतिक शक्तिहरूलाई यो मुलुक बनाउने विभिन्न अवसर प्रदान गर्दैआए तापनि त्यसको सही सदुपयोग हुन नसक्दा मुलुकले विकास र समृद्धिको उज्यालो भविष्य नै देख्न पाएन । मुलुक आज पनि विश्वका गरीबतम देशको श्रेणीमा दरिएको छ । प्रकृति प्रदत्त स्रोत, साधन र श्रमशील जनशक्तिको प्रचूरता रहँदारहँदै पनि त्यसको समुचित उपयोग गर्ने राष्ट्रिय दृष्टिकोण र प्रतिवद्ध कार्यक्रमको अभावमा देश दशकौं पछाडि परेकोपरेकै छ । राष्ट्रिय चिन्तनधारको निर्माण र राष्ट्रिय विकासको नेतृत्व गर्ने राजनीतिक नेतृत्वको अभावले गर्दा मुलुकले अनेक सम्भावना रहँदारहँदै पनि कुनै फड्को मार्न सकेन । २०६४ साल चैत २८ गते इतिहासमैं पहिलोचोटी भएको संविधानसभाको निर्वाचनले नेपालको उज्यालो भविष्यको ढोका खोल्ने गरी नयाँ संविधानको निर्माण गर्ने छ र राष्ट्रिय विकास र समृद्धिको राष्ट्रिय मार्गचित्र निर्माण गर्ने छ भनी गरिएको अपेक्षा पनि समयको क्रममा धोखाधडीकै उपक्रममा तुहियो । घटना सन्दर्भले नेपाली जनतालाई पुनः एकचोटी संविधानसभाकै निर्वाचनको अवसर प्रदान गरेको छ । संविधानसभा–१ को जनादेश प्राप्त दुई वर्ष र थपिएको दुई वर्ष गरी चार वर्षको अन्तरालमा मुलुकभित्र जे जस्ता राजनीतिक घटना र गतिविधिहरू मञ्चित भए तिनले राष्ट्रको भविष्य र जनताको अभिमत कुनैको पनि ख्याल नगर्दा मुलुक भविष्यहीन दिशातिर जवर्जस्त घचेटियो । संविधानसभा–२ को निर्वाचनको दिन आज मुलुकलाई अन्यौल र अनिश्चितताको अन्धकारतिर घचेट्ने त्यस्तो असंगत परिस्थिति अब कहिल्यै नदोहोरियोस् भनी सवै नेपाली जनताले पुकारिरहनु परेको छ ।

हामी नेपाली जनतालाई इतिहासले धेरै पाठ पढाएको छ तापनि इतिहासबाट पाठ सिक्ने काम नभएकाले मुलुकले अग्रगामी छलाङ् मार्न सकेको छैन । हाम्रा राजनीतिक गतिविधिभित्र हाम्रा राष्ट्रिय आकाङ्क्षा भन्दा अरुकै रणनीतिक स्वार्थहरू मुखरित हुने अनपेक्षित परम्परा विकसित भएकाले राष्ट्रिय मार्गचित्रको अभावमा मुलुकले अग्रगामी छलाङ् मार्न नसकेको कटु यथार्थ नै हो । संविधानसभा–१को विफलतापछि संविधानसभा–२को निर्वाचनलाई राजनीतिक निकासको अपरिहार्य बाटो भनी स्वीकार गर्दा आमसहभागीताको सवाललाई समुचित ध्यान नदिँदा उत्पन्न भएका विकारहरू निर्वाचनको पूर्वसन्ध्यामा छरपष्ट देखिएका छन् । भविष्यप्रति सन्देहको स्थिति सिर्जना गर्ने अनेक असंगत प्रवृत्तिको जालोबाट मुक्त भएर मुलुकलाई उज्यालो भविष्यप्रति विश्वस्त गराउनुपर्ने महाचुनौति अहिले खडा भैरहेको छ । यी सवै चुनौतिको सामना गर्न सक्षम जनप्रतिनिधित्वको अपेक्षा आज सम्पन्न हुने निर्वाचनले पूरा गर्नसकोस् । यही नै आज सवै नेपालीको पुकार छ ।   


Rating (Votes: )   
Share     Print


Other Articles:
संविधानसभा–२ : निर्वाचनको सार्थकता (10.30.2013)
बडा दशैं : सवै नेपालीमा शुभकामना (10.08.2013)
आवेग होइन विवेकको खाँचो (10.02.2013)
आर्थिक मुद्दामा ध्यान जावस् (09.18.2013)
राष्ट्रियता र निर्वाचन (09.10.2013)
जवाफदेहिताविहीन मौनता (09.04.2013)
आमसहभागिताको अहं सवाल (08.28.2013)
परनिर्भरताको बढ्दो गति (08.14.2013)
चुनावको सन्दर्भ र राष्ट्रियताको सवाल (08.06.2013)
राष्ट्रिय प्रतिष्ठाको चिन्ता (07.30.2013)
वी.पी., पुष्पलाल र नेपालको राजनीति (07.24.2013)
छ्या छ्या नेताहरू (07.17.2013)
सही बाटोको खोजी (07.09.2013)
सुधारमुखी बजेटको अपेक्षा (07.05.2013)
महाकालीको कहर (06.26.2013)
निर्वाचनको वातावरण बनाऊ (06.18.2013)
मुलुकको माया कसले गर्ने ? (06.12.2013)
निर्वाचनको सुनिश्चितता गर (06.05.2013)
संकट बढाउने खेल (05.28.2013)
जनताको खबरदारी आवश्यक (05.21.2013)



 
::| Latest News

 
[Page Top]