युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 05.30.2020, 04:22pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
बोलीमा चिन्ता व्यवहारमा संरक्षण !
Monday, 05.12.2014, 04:20pm (GMT+5.5)

‘भ्रष्टाचारले देश सखाफ पार्याे’ यो भनाइ अरु सामान्य नागरिक वा प्रतिपक्षी कुनै राजनीतिक दलका नेताले सत्ताधारीहरूमाथि लगाएको आरोप मात्र नभै  भ्रष्टाचारमुक्त शासन सञ्चालन गर्ने जवाफदेही पदमा आशिन हुनुभएका  प्रधानमन्त्री सुशील कोइराला स्वयंको हो । सत्तारुढ नेपाली कांग्रेस निकट कर्मचारीहरूको संगठन, नेपाल निजामती कर्मचारी युनियनको  हालै  चितौनको भरतपुरमा भएको छैठौं केन्द्रिय महाधिवेशनमा बोल्दै प्रधानमन्त्री कोइरालाले राजनीतिक संरक्षण प्राप्त कर्मचारीहरूका बीचमा यो कुरा राख्नुभएको हो । उहाँले बोल्नुभएको कटु सत्यबारे विमति राख्नुपर्ने कुनै कारण छैन तर देश नै सखाफ पार्ने गरी भ्रष्टाचार किन मौलाएको छ र शून्य सहनशीलताको उद्घोष गर्दै भ्रष्टाचारीहरूलाई उल्टै संरक्षण दिने काम कहाँबाट कसरी भैरहेछ भन्ने कुरा नखोतलिकन सतही कुरा गर्नुको कुनै अर्थ छैन । नेपाल सर्वाधिक भ्रष्टाचार हुने मुलुक मध्ये एक हो भन्ने विवरण त हरेक वर्ष ट्रान्सपरेन्सी इण्टरनेशनलले नै दिँदैआएको छ । नेपालमा भ्रष्टाचार संस्थागत हुँदैगएको छ । भ्रष्टाचारले राजनीतिक संरक्षण पाएकाले नै मुलुक सखाफ भएको हो । सेवाग्राहीहरूलाई निष्पक्ष र स्वतन्त्र ढंगले यथासमयमा नै सेवा उपलब्ध गराउनु पर्ने जिम्मेवारीमा रहेका निजामती कर्मचारीहरूलाई राजनीतिक दल विशेषका संगठनहरू बनाउन प्रेरित गर्ने र निजामती क्षेत्रलाई अस्तव्यस्त, अकर्मण्य र पक्षगत धारणामुखी बनाउने गलत अभ्यास सत्तास्वार्थले अन्धा बनेका राजनीतिक समूहहरूबाटै भएको हो भन्ने कुरामा कुनै सन्देह छैन । भ्रष्टाचारबाट सखाफ भएको मुलुकलाई पुनर्जागृत गराउनका लागि राष्ट्रसेवक कर्मचारी वर्गलाई राजनीतिक हथकण्डा बनाउने प्रवृत्ति नै निर्मूल हुनुपर्छ । कर्मचारी प्रशासन हाक्ने उच्च पदमा समेत राजनीतिक भागबण्डा गर्ने र कर्मचारीहरूलाई दलगत संगठनतर्फ प्रेरित गर्ने कुसंस्कार हटाउन हिम्मत कसेर अगाडि नबढेसम्म गोहीको आँसु झार्नुको कुनै अर्थ छैन ।

प्रधानमन्त्रीसंग जवाफदेहिताबोध र इच्छाशक्ति छ भने उहाँलाई भ्रष्टाचार विरुद् कदम चाल्न कसैले रोक्न सक्दैन । सिंगो राज्यशक्ति उहाँको हातमा छ । तर, भन्ने एउटा कुरा गर्ने अर्काे कुरा हो भने त्यो राष्ट्रबञ्चना मात्र हो । बचनमा सदासयता देखाउने तर व्यवहार ठीक उल्टो गर्ने परिपाटीले देशलाई झनै सखाफ पार्नेछ । निस्वार्थ राजनीतिक व्यक्तित्वका रुपमा उहाँको नाम चर्चामा रहेको भए पनि त्यसको प्रतिबिम्बन सत्ता सञ्चालनमा हुनसकेको कतै अनुभूत छैन । ताजा उदाहरणका लागि सर्वाेच्च अदालतका आठ न्यायाधीशको सिफारिस प्रकरण नै काफी छ । भ्रष्टाचारविरुद्धको न्याय निरुपणलाई नै उपहास गर्ने गरी भएको यो सिफारिसमा राजनीतिक संकीर्णताको चरमता समेत घोलित भएको बुझ्न पनि कुनै कठिनाइ छैन । राजनीतिक शक्तिको आडमा भ्रष्टाचार गर्ने र भ्रष्टाचारीलाई संरक्षण गर्नेहरू दण्डित हुनुको सट्टा प्रोत्साहित हुने क्रमलाई अहिलेको सरकारले पनि निरन्तरता दिएको सर्वत्र अनुभूत छ । आर्थिक भ्रष्टाचारका अनेक काण्ड उजागर छन् र पनि कार्यवाहीको कुनै गुञ्जायिस छैन । कर छलेर मोटाएका व्यावसायीहरू हुन् वा  ढुवानीकै क्रममा तल चोरी गरेर धन्दा चलाउनेहरू हुन्  उनीहरूलाई कार्वाही नगर्न राजनीतिक शक्तिकै अग्रसरता रहेको उजागर भैरहन्छ । राजनीतिक संरक्षण प्राप्त भ्रष्टाचारले नै देशलाई सखाफ पारेको छ ।   

मुलुकलाई सही बाटोमा हिँडाउने भनेको राष्ट्र र राष्ट्रियताप्रति समर्पित सैद्धान्तिक विचार र निष्ठाको बाटोमा अग्रसर हुन प्रतिबद्ध प्रयास गर्ने राजनीतिले नै हो । तर दुर्भाग्यको कुरा मुलुकलाई बहुपक्षीय भ्रष्टाचारको शिकार बनाएर सखाफ पार्ने काम भने पथ विचलित राजनीतिक क्षेत्रबाटै भएको छ । दलगत स्वार्थ, गुटगत स्वार्थ र व्यक्तिगत स्वार्थका निम्ति राष्ट्रिय स्वार्थलाई नै तिलाञ्जली दिने र वैदेशिक स्वार्थका निम्ति उपयोग हुन तयार हुने जुन अपसंस्कृति नेपालको राजनीतिमा भित्रियो त्यसको दुष्परिणाम आज जताततै देखिएको छ । राजनीतिक भ्रष्टाचार मौलाइरहेकाले आर्थिक भ्रष्टाचारले गति लिएको छ । अढाइ दशकको प्रजातान्त्रिक अभ्यासले मुलुकलाई राजनीतिक स्थायित्व, विधिको शासनको प्रत्याभूति र आर्थिक विकासको बाटोमा अग्रसर गराउनु पर्नेमा उल्टै उल्टो परिणामको विचित्र स्थिति सिर्जित हुनपुगेको छ । राजनीतिक सङ्क्रमणकाल लम्बिँदो छ, अव पनि संविधान बन्छ भन्ने पूर्ण विश्वास जागृत छैन र आर्थिक विकासको सम्भावना देखिनैछोडेको छ । प्राकृतिक सम्पादाका अनेक स्रोत र आर्थिक विकासका अनेक सम्भावना भएको मुलुक भएर पनि दरिद्रतम मुलुकमा नेपाल गनिनुको प्रमुख कारण राजनीतिक बेथिति र त्यसको  आडमा मौलाएको भ्रष्टाचार नै हो । भ्रष्टाचारले देश सखाफ पारेको चिन्ता प्रकट गरेर मात्र हुँदैन भ्रष्टाचारविरुद्ध साहसिक कदम चाल्ने दृढ इच्छाशक्ति पनि प्रधानमन्त्रीले राख्नसक्नुपर्छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
स्वतन्त्र न्यायालयमा ग्रहण (05.05.2014)
गणतन्त्रको आठ वर्ष (04.28.2014)
नयाँ वर्षको आगमन र खडा भएका चुनौतिहरू (04.21.2014)
देश बिलम्बको शिकार नबनोस् (04.08.2014)
विधि विपरीतको बाटो (03.31.2014)
सरकारको मति र गति (03.24.2014)
मूल्यवृद्धिको चपेटामा जनता (03.19.2014)
स्थानीय निर्वाचनको अपरिहार्यता (03.10.2014)
नयाँ सरकारको बाटो (03.03.2014)
विमतिका दुई साता (02.24.2014)
कांग्रेस–एमालेको रामरमिता (02.17.2014)
सत्ताको लुछाचुँडीमा समयको अपव्यय (02.10.2014)
राजनीतिक व्यवस्थापनको समस्या (02.03.2014)
माफियातन्त्रविरुद्ध राष्ट्रिय जागरणको खाँचो (01.27.2014)
डा. के.सी.को अनसन (01.21.2014)
सवैलाई चेतना भया (01.13.2014)
राजनीतिक विकृतिका अनेक रुप (01.06.2014)
संविधानसभाको सर्बाेच्चतामाथि अङ्कुश (12.30.2013)
चाँडै हटोस् निराशाको बादल (12.24.2013)
राजनीतिक व्यवस्थापनको चुनौति (12.17.2013)



 
::| Latest News

 
[Page Top]